Aamsanchar

हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

Author Image
बिहिवार, वैशाख ६, २०७५

खोटाङ, 

हलेसी तुवाचुङ नगरपालिकाले करीब ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ । हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा नं ५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको छ ।

ऐतिहासिक गढीको संरक्षण र संवद्र्धन गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्न गढीको प्रारम्भिक सर्वेक्षण, उत्खनन एवं पुनःनिर्माणका लागि विशेषज्ञसहित बजेट व्यवस्थाका लागि विभागसमक्ष प्रस्ताव गरिएको नगर प्रमुख इवन राईले बताउनुभयो । अग्लो डाँडामा रहेकाले हलेसी गुफा, तुवाचुङ–जायजुम, हिमालय शृङ्खला, तराईका समथर भू–भागसमेत दृश्यावलोकन गर्न सकिने रमणीय ठाउँ भएकाले हलेसी गढीमा पर्यटन संवद्र्धनको प्रचुर सम्भावना रहेको स्थानीयवासी बताउँछन् ।

हलेसी गढीले गोरखा दरबार, पाटन दरबार, कीर्तिपुर दरबारको जस्तै ऐतिहासिक महत्व बोकेको भए पनि प्रचार–प्रसारमा नआएकाले उत्खननका लागि नगरपालिकामा प्रस्ताव राखिएको बुद्धिजीवी भुपेन्द्रकुमार राईले बताउनुभयो । ऐतिहासिक गढीको अस्तित्व नै मेटिने गरी नजिकैबाट मनपर्दो तरिकाले सडक खन्न थालिएको केही समयपछि गढी उत्खननका लागि पहल थालिएको हो ।

मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडकअन्तर्गत दुर्छिमको छापडाँडाभन्दा केही माथि रहेको हलेसी गढीमा राजा र सेनापति बस्ने छुट्टाछुट्टै गढीको जग अहिले पनि यथावत् छ । सैनिक परेड खेल्ने मैदान, गढी वरिपरि हिँड्ने रिङ रोड, सुरुङ लगायतका संरचना अहिले पनि देख्न सकिन्छ । तर ती संरचनाको अस्तित्व क्रमशः मेटिँदै गएकाले नगर र स्थानीयवासीले गढीको संरक्षणमा चासो देखाएका हुन् ।

हालसम्म ओझेलमा रहेको गढीमा नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले आफ्नो सेनालाई तलब वितरण गरेको इतिहास छ । प्रचार–प्रसार गर्न सके नजिकै रहेको धार्मिकस्थल हलेसी आउने पर्यटक तथा दर्शनार्थीलाई ऐतिहासिक गढीमा भ्रमण गराउन सकिने सम्भावना रहेको नगरपालिकाले जनाएको छ ।

किराती राजा होलैसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा विसं १८३० भदौमा पृथ्वीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको मुन्धुम अध्येता भोगीराज चाम्लिङले बताउनुभयो । नगरपालिकाभित्र रहेका च्यास्मीगढी र खाम्तेल गढीमध्ये नगरपालिकाले हलेसी गढीको उत्खननको प्रस्ताव गत चैत १५ गते पुरातत्व विभागमा पु¥याएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर