Aamsanchar

संसद्मा १४.४९ प्रतिशत मात्र युवा

Author Image
आइतवार, वैशाख ९, २०७५

काठमाडौँ, 

संसद्मा १४.४९ प्रतिशत सांसद मात्र युवा निर्वाचित भएका छन् । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी तीन तहमा १४.४९ प्रतिशत मात्र युवा निर्वाचित भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताउनुभयो ।

कूल ८८४ सांसदमध्ये १७० जना मात्रै युवा सांसद निर्वाचित भएका छन् । तीमध्ये संघको प्रतिनिधिसभामा ३६ र राष्ट्रियसभामा चार तथा प्रदेशसभामा १३० जना गरी कूल १७० जना युवा सांसद रहेका छन् । जसमा प्रतिनिधिसभामा १३.०९ प्रतिशत, राष्ट्रियसभामा ६.७७ प्रतिशत र प्रदेशसभामा २३.६३ प्रतिशत युवा सांसद बनेका छन् । उहाँका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १४ जना र समानुपातिकतर्फ २२ जना सांसद युवा रहेका छन् ।

यसैगरी प्रदेशतर्फ ६२ जना प्रत्यक्ष र समानुपातिकतर्फ ६८ जना युवा सांसद रहेका छन् । प्रतिनिधिसभामा २७५, राष्ट्रियसभामा ५९ र प्रदेशसभामा ५५० जना सांसद निर्वाचित भएका छन् । सबभन्दा बढी प्रदेश नं २ बाट ३५ जना युवा सांसद रहेका छन् भने कम प्रदेश नं ६ बाट ११ जना रहेका छन् ।

यस्तै स्थानीय तहमा निर्वाचितमध्ये ३९.६४ प्रतिशत जनप्रतिनिधि युवा रहेका छन् । जसमा १३ हजार ८९३ जना युवा जनप्रतिनिधि रहेका छन् । नगरप्रमुख ५२, उपप्रमुख १११, अध्यक्ष ११२ र उपाध्यक्ष २३७ र दुई हजार ३६ जना वडाध्यक्ष रहेका छन् ।

स्थानीय तहमा सबभन्दा बढी दलित महिला सदस्य युवा रहेका छन् । ५४.८५ प्रतिशत दलित महिला सदस्य युवा रहेको उपाध्यक्ष ढुंगेलले बताउनुभयो ।
यस्तै तीन हजार ६०२ जना अर्थात् ५१.५२ प्रतिशत उपाध्यक्ष युवा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर