Aamsanchar

दमक गोल्डकपको तयारी तीब्र

Author Image
आइतवार, वैशाख ९, २०७५

दमक।

झापाको दमकमा हुन लागेको दमक गोल्डकपको तयारी तीव्र पारिएको छ । यही बैशाख १९ गतेदेखि २८ गतेसम्म हुने गोल्डकप फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न आवश्यक सवै तयारी तीव्र पारिएको हो ।

गोल्डकपको तयारी स्वरुप खेल मैदानमा धमाधम प्यारापिट निर्माण भइरहेको आयोजक दमक नगर खेलकुद विकास समितिका संयोजक केन्द्र प्रसाईले जानकारी दिए । दर्शकका लागि निर्माणाधीन प्यारापिटको क्षमता करिव ३ हजारभन्दा बढी रहने बताइएको छ । उनले खेलमैदानको व्यवस्थापनसँगै अतिथि, टिमको आवश्यक व्यवस्थापन गर्ने कार्य धमाधम भइरहेको बताए ।

उनका अनुसार गोल्डकप सम्पन्न गर्न आधा दर्जन भन्दाबढी उपसमितिहरु गठन गरी काम थालिएको छ । जसअनुसार खेल संयोजकमा भीमराज केसी, प्रचारमा चन्द्र खत्री, टिम व्यवस्थापनमा शैलेन्द्र श्रेष्ठ, स्टेज व्यवस्थापनमा मोहन मगर, ग्राउण्डमा भाइचुङ लिम्बू, स्वास्थ्यमा गंगा ढकाल, सुरक्षा स्वयम्सेवक व्यवस्थापनमा गुमानसिंह तामाङ, पाहुना खेलाडी आतिथ्य संयोजकमा दीपक धिमाललाई जिम्मेवारी दिइएको छ । स्थानीय दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुने सो प्रतियोगिताका बिजेताले नगद रु. १३ लाख ५१ हजार र उपविजेताले नगद रु. ६ लाखसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड ३६ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितामा झापा ११, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको विभागिय टिम, थ्रीस्टार, सरस्वती क्लव, कोलकत्ता भारतसहित आयोजकको टिम सहभागी हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको नगर खेलकुद समितिका संयोजक प्रसाईले जानकारी दिए ।

प्रचार संयोजक खत्रीका अनुसार खेलमैदानमा प्यारापिट निर्माणका बारेमा जिल्लाका सरोकारवालाहरुको टोलीले स्थलगत अनुगमन गर्ने काम भइरहेको छ । यसैवीच झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मगर ( मामा), झापा–११का जेके गुरुङलगायतले खेलमैदानको स्थलगत अनुगमन गरेको संयोजक खत्रीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर