Aamsanchar

ध्रुवे फेरी मात्तियो स्थानीय त्रसित

Author Image
आइतवार, वैशाख ९, २०७५

चितवन,

मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए । उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति ११ बजेको समयमा हात्तीले घर भत्काएको हो । धु्रवे हात्तीले भरतपुर महानगरपालिका– २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको हो ।

अर्यालका अनुसार गएराति घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको थियो । धु्रवे हात्ती केही दिनयता कसरा र सुखीभार क्षेत्रमा पोथी हात्तीसँगै बस्दै आएको थियो ।

विगत केही वर्षयता नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती केही दिनअघि शुक्रनगर क्षेत्रमा पसेपछि निकुञ्जले लखेटेको थियो । दुई वर्षअघि निकै मातेर आतंक फैलाएको ध्रुवे यतिबेला पुनः मात्तिन थालेको हो ।

सोही क्षेत्रमा शनिबार बिहान स्थानीय ५२ वर्षीया देवी अधिकारीलाई बँदेलले आक्रमण गरेपछि उहाँ घाइते हुनुभएको छ । घाइते अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

जंगली जनावरले आक्रमण गरेको र क्षतिपूर्ति नपाएको भन्दै दराई उत्थान समाजको नेतृत्वमा स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अर्यालले भने घाइते अधिकारीलाई शनिबार नै क्षतिपूर्तिबापत रु ५० हजार दिइएको बताउनुभयो । समाजले हात्तीका कारण पूर्णरुपमा क्षति भएका घर र अन्नबालीको तत्काल उचित क्षतिपूर्ति दिलाउनुपर्ने माग गरेका छन् ।

प्रहरी उपरीक्षक दीपक थापाले सोमबार छलफल हुने गरी हाललाई सडक नियमित गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर