Aamsanchar

छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली

Author Image
आइतवार, वैशाख ९, २०७५

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘सार्कको प्रभावकारिता र क्षेत्रीय गोष्ठी’ नामक पुस्तकको सार्वजनिक गर्दै उहाँले सार्क राष्ट्रबीच देखिएका असमझदारीलाई न्यूनीकरण गरी आपसी विश्वास, सहयोग र सहकार्यका सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, छिमेकीसँग झगडा भएमा राम्ररी सुत्न सकिँदैन, छिमेकीसँग विश्वासिलो, सुमधुर सम्बन्ध जरुरी छ ।” उहाँले मुलुकको शान्ति र समृद्धिका लागि छिमेकीसँग नेपालको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सार्कको संस्थापक र सक्रिय सदस्य रहेको र सार्क मुलुकको स्रोत र साधनको विकास गर्न सार्कको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालले सार्कको अध्यक्षता गरिरहेको छ, अहिले केही राष्ट्रबीच असमझदारी भएको छ, राष्ट्रबीच आपसी वातावरण अनुकूल पार्न जरुरी छ ।”

प्रधानमन्त्री ओलीले सार्कजस्ता राष्ट्रबीच कहिलेकाहीँ आपसमा मतभेद, असमझदारी भए पनि त्यसलाई घटाएर लगी फलदायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सार्कको प्रभावकारिता र क्षेत्रीय सम्मेलनका संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्कको आवश्यकता सबै राष्ट्रमा भएको र सबै राष्ट्रले आपसमा मिलेर लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुस्तकका रुपमा सार्वजनिक गर्न केही ढिलाइ भए तापनि धेरै मेहनत गरेर निकै उपयोगी पुस्तकका रुपमा प्रकाशन गरेको जानकारी दिनुभयो ।

सभामुख कृष्णबहादुर महराले नेपालले सार्क राष्ट्रको अध्यक्षता गरिरहेको उल्लेख गर्दै दुई÷दुई वर्षमा हुनेपर्नेमा ढिलाइ भएकोप्रति दुःख व्यक्त गर्दै सार्कलाई क्रियाशीलरुपमा अगाडि बढाउनुनपर्ने धारणा राख्नुभयो ।

पुस्तकका सम्पादक लालबाबु यादवले सार्कको दुईदिने गोष्ठीमा भएका सम्पूर्ण गतिविधि सबै राष्ट्रलाई उपयोगी हुने तरिकाले पुस्तकका रुपमा प्रकाशन गरेको बताउनुभयो ।

कार्यक्रममा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेस नेत्री सुजाता कोइराला, सार्क सचिवालयका महासचिव अम्जाद हसैनको उपस्थिति थियो ।

पुस्तकमा जनतादेखि जनतासम्मको सम्बन्धलाई अगाडि बढाउने, वैदेशिक रोजगार, आर्थिक विकास तथा संस्कृतिको विकासलगायतका गोष्ठीमा प्रस्तुत विषयवस्तुलाई समावेश गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)