Aamsanchar

स्वास्थ्य बीमाको लागि बजेट विनियोजन

Author Image
सोमवार, वैशाख १०, २०७५

खुदुनाबारी।

अर्जुनधारा नगरपालिकाले अति विपन्न परिवारको स्वास्थ्य बीमाको लागि बजेट विनियोजन गरेको छ । अर्जुनधारा नगरपालिकाले अति विपन्न ६० घर–परिवारको लागि एक लाख ५० हजार रुपैयाँ विनियोजन गरेको नगरपालिकाकी प्रवक्ता सकुन्तला बरालले जानकारी दिइन् ।

झापाको बिर्तामोडमा रहेको यशौदा निरौला स्मृति प्रतिष्ठानले अति विपन्न ५० घर–परिवारको लागि स्वास्थ्य बीमा गर्न नगरपालिकासँग प्रतिबद्धता जनाएकोले नगरपालिकाले अति विपन्न ६० घरपरिवारको लागि स्वास्थ्य बीमा गर्न रकम विनियोजन गरिएको उनले बताइन् ।

अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठकले उक्त रकम विनियोजन गरेको हो । त्यस्तै बैठकले अर्जुनधारा नगरपालिकाको फोहोरमैला दीगो रुपमा व्यवस्थापन गर्नका लागि ल्याण्डफिल्ड साइट छनौट व्यवस्थापनसहित अन्तर नगरपालिकासँग समन्वय गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरेको छ ।

वडाध्यक्ष दुर्गाप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलका सदस्यहरुमा वडाध्यक्षद्वय जीवनकुमार भण्डारी, लोकनाथ गौतम, वातावरण तथा विपद् व्यवस्थापन समिति सदस्य लक्ष्मी तामाङ, नगर सभा सदस्य कुन्दन भट्टराई, दहिझोडा सामुदायिक वनका अध्यक्ष खड्क सुब्बा रहेका छन् ।
त्यस्तै कार्यपालिकाको बैठकले अर्जुनधारा नगरपालिकामा सञ्चालन भइरहेको पाँच लाख रुपैयाँभन्दा बढिको योजना तथा कार्यक्रम फरफारक हुनुअघि अनिवार्य सामाजिक लेखा परीक्षण गर्नेसहित सोको आधारमा फारफारक गर्ने निर्देशन दिएको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यपालिकाको बैठकले ११ वटा निर्णय गरेको प्रवक्ता बरालले बताइन् । जसमा नगर क्षेत्रभित्र रहेका बिरीङ नदी, टाङटिङ, सुखानी, सानो नेते, ठूलो नेते, गोयाङमा नदीजन्यपदार्थ उत्खनन्का लागि प्रारम्भिक वातावरणीय मूल्यांकन गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने सहित सूचिकृत फर्महरु मध्ये न्यून अंकमा सो कार्य गर्ने फर्मलाई जिम्मेवारी दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

त्यस्तै नेपाल पर्यटन बोर्डबाट चालू आर्थिक वर्ष २०७४÷०७५ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सुखानी स्मृति उद्यान गुरुयोजना निर्माण तथा पूर्वाधार विकासका लागि अर्जुनधारा नगरपालिका वडा नं. ९ का लागि १५ लाख रुपैयाँ मात्र रकम विनियोजन भएकोमा उक्त कार्यक्रम बमोजिम प्रक्रिया अगाडि बढाउन कार्यपालिकासँग समन्वय गर्न सम्पर्क व्यक्ति हर्कराज राईलार्ई जिम्मेवारी दिइएको छ ।

त्यस्तै जिल्ला प्राविधिक कार्यालय र नगरपालिकाको साझेदारीमा अर्जुनधारा–१ मा निर्माण हुने गौमुखी खोलाको झोलुङ्गे पुलका लागि २० लाख रुपैयाँ व्यहोर्न प्रतिबद्धता जनाएकाले उक्त जानकारी सम्बन्धित निकायमा पठाउने निर्णय गरिएको छ । बैठकले चालू आर्थिक वर्षमा विभिन्न योजना तथा कार्यक्रम विनियोजित रकमहरु मध्ये हालसम्म खर्च हुन नसकेका अधुरा योजनाहरु बाँकी रहेको रकम रकमान्तर गर्ने निर्णय भएको छ ।

उक्त रकम अन्य विभिन्न योजना तथा कार्यक्रममा बाँडफाँड गर्नका लागि आवश्यक गृहकार्य गरी आगामी बैठकमा पेश गर्न अर्जुनधारा नगरपालिकाकी उपमेयर कमला खतिवडाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलका सदस्यहरुमा पूर्वाधार विकास समिति संयोजक रमेशकुमार दर्जी, प्रमुख प्रशाशकीय अधिकृत राधाकृष्ण खतिवडा, इञ्जिनियर निरज निरौला, लेखा अधिकृत मदन पौडेल रहेका छन् ।

कार्यपालिका बैठकले चालू आर्थिक वर्षमा स्वीकृत भएका वडास्तरीय योजना तथा कार्यक्रमहरु संशोधन गर्न सिफारिस भई आएकाले आगामी नगरसभाबाट अनुमोदन हुनेगरी संशोधन गर्ने निर्णय गरेको छ । अर्जुनधारा–९ स्थित खरबन्दीमा आमन्त्रित महिला तथा पुरुष जिल्लास्तरीय कराते प्रतियोगिता सञ्चालनका लागि ६५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता बरालले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर