Aamsanchar

विकास र समृद्धिको समय हो :गृहमन्त्री थापा

Author Image
सोमवार, वैशाख १०, २०७५

चितवन, 

गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताउनुभएको छ । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको आज टाँडीमा उद्घाटन गर्दै उहाँले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताउनुभयो ।

विकास र समृद्धिका लागि बाधक बनेका ऐन नियमलाई परिमार्जन गर्दै देशमा अर्थतन्त्र आत्मनिर्भर बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो । विकासका निम्ति अनुशासन आवश्यक रहेको भन्दै मन्त्री थापाले समाजमा हुने अपराध, भ्रष्टाचार र सिमानामा हुने अनैतिक क्रियाकलाप रोक्न जरुरी रहेको बताउनुभयो ।

अहिले भ्रष्टाचार मौलाउँदै गएको भन्दै मन्त्री थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुन जरुरी रहेको बताउनुभयो । देशको विकासका लागि यातायातमा जस्तै कृषि क्षेत्र र अर्थतन्त्रमा देखिएका सिण्डिकेटको अन्त्य गर्नु पर्ने उहाँको भनाइ थियो । देशलाई आर्थिक समृद्धितर्फ लैजानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै औद्योगिकीकरण गर्न जरुरी रहेको बताउनुभयो ।

औद्योगिक क्षेत्रको सुरक्षाका लागि संगठित अपराध न्यूनीकरण गर्नु पर्ने भन्दै उहाँले कहीँ कतै त्यस्तो देखिए खबर गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “औद्योगिक क्षेत्रमा संगठित अपराध चुनौती पूर्ण बन्न सक्छ, सूचना दिनुहोस् जोकोहीलाई पनि कानूनको दायरामा ल्याउँछाँै ।” चन्दा आतङ्क समाजका लागि एक किसिमको अपराध भएको मन्त्री थापाले बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले दैनिक एक हजार ५०० युवा विदेशिनु देशका लागि विडम्बना भएको भन्दै देशमा नै लगानीमैत्री वातावरण बनाउन सरकार लाग्नु पर्ने बताउनुभयो । राज्यले युवालाई ऋणमा सहुलियतसहित सहज रुपमा कर्जाको व्यवस्था गर्नु पर्ने उहाँको भनाइ थियो । सो अवसरमा संघका अध्यक्ष राजाराम रेग्मीले संघले अहिलेसम्म गरेका काम तथा अबका चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर