Aamsanchar

गाईपालनबाट मनग्य आमदानी गर्दै पोख्रेल दम्पत्ती

Author Image
सोमवार, वैशाख १०, २०७५

(नरेन्द्र ढकाल)
बिर्तामोड।

जहाँ इच्छा त्यहाँ उपाय भने झैं केही गर्ने जाँगर गरेमा सानै ठाँउमा पनि ठूलै काम राम्रोसँग गर्न सकिन्छ भन्ने उदाहरण झापाको बिर्तामोड नगरपालिका–१ की गीतादेवी भण्डारी(पोख्रेल) र हिमालय पोख्रेलको जोडी बन्न सफल भएको छ ।

ढेड कठ्ठा जमिनमा चिटिक्क परेको घर र सँगै जोडिएको गाईको गोठ रहेको छ । त्यहाँ पोख्रेल दम्पत्तिले १८ वटा गाई पालेर मनग्य आम्दानी गरिरहेका छन् । दैनिक ५० लिटरसम्म दूध बेच्ने गरेको गीतादेवी पोख्रेल बताउँछिन् ।

दुई लाख रुपैयाँमा तीनवटा गाई खरिद गरेर शुरु गरेको गाईपालन अहिले ब्यवसायिक रुपमा अगाडि बढिरहेको उनीहरुको भनाई छ । विभिन्न पेशा ब्यवसाय गर्दाभन्दा गाईपालनबाट आफूहरु सन्तुष्ट भएको पोख्रेल दम्पत्तीको भनाई छ ।

थोरै लगानीबाट शुरु गरेको पशुपालन ब्यवसाय अहिले ठूलै भए पनि सरकारी निकायले कुनै प्रोत्साहान नगरेको दुखेसो पोखे । राज्यले किसानलाई प्रोत्साहन हुनेखालका कार्यक्रम ल्याए पनि कर्मचारी र नेतासँग पहुँच पुग्ने कै हालिमुहाली हुने गरेको छ । वास्तविक किसानले न कुनै राहत पाउँछन् न त कुनै सेवासुविधा नै पाउने गरेका छन् ।

दुई–चार वटा गाई पालेर गाई फार्म खेलेको प्रचार गर्नेहरुले राज्यबाट राम्रै अनुदान पाएपनि पोख्रेल दम्पत्तिले १८ वटा गाईपालन गरेर ब्यवसायिक रुपमा पशुपालन ब्यवसाय गरिरहेपनि राज्यको ध्यान त्यसतर्फ अझै पुग्न नसकेको पाइएको छ । दिनप्रतिदिन जनघनत्व बढिरहेको बिर्तामोडमा सानो ठाउँमा पनि ब्यवसायिक तबरले गरेको गाईपालन सबैका लागि प्रेरणाको स्रोत बन्न सक्ने पोख्रेल दम्पत्तिको भनाई छ ।

बिहान ३ बजेबाट १ बजेसम्ममा सबै काम सकिने र बेलुका ३ बजेबाट ६ बजेसम्ममा बेलुकाको काम पनि सकिने गरेको उनीहरुको भनाई छ । गाईपालनबाट आत्मसन्तुष्टि मिलेको उनीहरुको भनाई छ । अझै पनि हाम्रो समाजमा महिलालाई केही गर्न सक्दैनन् भन्ने मानसिकता रहेको छ तर गीतादेवीले श्रीमान्को सहयोगमा सानो ठाउँमा पनि ब्यवसायिक हिसाबले गाईपालन गरेर महिलाले नेतृत्व गरेका काम पनि सफल हुन्छ भन्ने सन्देश दिएको श्रीमान् हिमालयको भनाई छ । उनले भने– ‘श्रीमतीको लगनशिलता र जाँगरले गर्दा हामी मिलेर सानै ठाउँमा पनि यतिका धेरै गाई पालेर दूध बेच्न सफल भएका छौं ।’

महिला उद्यम संघ झापाकी जिल्ला सदस्य समेत रहेकी गीतादेवीले पशुपालन सम्बन्धी विभिन्न अन्तरक्रियाहरुमा पनि सहभागिता जनाउने गरेको भन्दै त्यस्ता कार्यक्रमहरुले आफूमा थप उर्जा जगाउने काम गरेको बताइन् । पाँच वर्षदेखि गाईपालन गर्दै आएका पोख्रेल दम्पत्तिले सबै पशुको बीमा समेत गराएका छन् । हालसम्म कुनै पशुलाई केही नभएको भन्दै पोख्रेल दम्पत्तिले भने–हामीले पशुपालन गर्दा गाईका धेरै रोगको उपचार गर्न समेत जान्ने भएका छौं ।

सामान्य बिरामी हँुदा डाक्टर बोलाउनु पर्दैन । सरसफईमा ध्यान दिनसके र खानपानमा सन्तुलित गरेमा पशुलाई रोग नलाग्ने उनीहरुको बुझाई रहेको छ । हाल १८ वटा गाई लैनो रहेको र अबको केही महिनामा नै अन्य चार वटा पनि ब्याउने हिमालयले जानकारी दिए । सानो पूँजीबाट शुरु गरे पनि गाईले जन्माउने बाच्छीहरुले नै गोठ ढाक्न सफल भएको उनीहरुको भनाई छ ।

राज्यले कुनै सेवासुविधा तथा अनुदान दिएमा अझ हौसला मिल्ने भन्दै पोख्रेल दम्पत्तिले गोठ सानो भएकाले अब यसलाई फराकिलो पार्ने सोचका साथ आफूहरु लागेको बताए । अर्काले देला र खाउँला भन्ने आशा नभएको र आफ्नै मेनहतबाट यो अवस्थामा आएको भन्दै पोख्रेल दम्पत्तिले राज्यको सम्पत्ति वास्तविक किसानमा पुग्न नसकेको दाबी समेत गरेका छन् । विदेश गरेर अर्कोको मुलुकमा पसिना बगाउनुभन्दा आफ्नै देशमा परिश्रम गर्न सिक्नुपर्ने भन्दै उनीहरुले मानिसमा काम गर्ने इच्छा शक्ति हुनुपर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर