Aamsanchar

पूर्वका यातायात व्यवसायी भन्छन्–‘मेचीमा सेन्डिकेट छैन’

Author Image
मङ्गलवार, वैशाख ११, २०७५

बिर्तामोड।

सरकारले यातायात व्यवसायीलाई सेन्डिकेटको ट्याग झुण्डाएर यातायात क्षेत्रमा सेन्सरसिप लगाएको यातायात व्यवसायीले आरोप लगाएका छन् ।
यातायात व्यवसायीसँग समन्वय नगरी सरकारले हचुवाको भरमा यातायात क्षेत्रमा सेन्डिकेटका ट्याग झुण्ड्याएको मेचीका व्यवसायीको आरोप छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित संयुक्त यातायात आन्दोलन समितिले सोमवार बिर्तामोडमा आयोजना गरेको कोणसभामा बोल्दै व्यवसायीसँग समन्वय नगरी सरकारले जस्तोसुकै नीति ल्याए पनि सफल नहुने चेतावनी दिए ।

उनीहरुले झापामा केही समय अघिसम्म आलोपालो प्रणालीबाट यातायात सञ्चालन गरिए पनि अहिले एकापसमा समन्वय गर्दै व्यवसाय सञ्चालन गरेको बताए । उनीहरुले यातायात क्षेत्रमा मेची अञ्चलमा कुनै पनि प्रकारको सेन्डिकेट नभएको दाबी गरे ।

बिर्तामोडस्थित मुक्तिचोकमा भएको सभामा बोल्दै महासंघका केन्द्रीय सदस्य राजेन्द्र रिजालले गलत मनसायले सरकारले व्यवसायीलाई सेन्डिकेटको ट्याग भिराएको आरोप लगाए । उनले भने– ‘हचुवाको भरमा सरकारले ल्याउन लागेको नीतिका कारण झापाली मात्र होइन, देशभरका व्यवसायी समस्यामा पर्छन् ।

कार्यक्रममा बोल्दै नेपाल यातायात मजदुर संघका प्रदेश उपाध्यक्ष देउमान लिवाङले सरकारले यातायात व्यवसायीलाई लाञ्छना लगाउनुको साटो सबै सवारीलाई सरकारीकरण गर्दै मेची–महाकाली यातायात सञ्चालन गर्न चुनौति दिए । सभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीको सहभागिता रहेको थियो ।

कनकाई संघका सभापति कुलप्रसाद ओडारी, पूर्वाञ्चल यातायात संघका गंगा सिटौला, मेची ट्रक ढुवानी व्यवसायी संघका रोहित वुढाथोकी, नेपाल यातायात राष्ट्रिय महासंघ (ट्याक्सी व्यवसायी) केन्द्रीय सदस्य नरहरि चापागाई लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कनकाई यातायात व्यवसायी संघका सचिव टंक दवाडीले गरेका थिए ।

यसअघि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसहित पाँचवटै महासंघको नेतृत्वमा आगामी वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेको थियो । सरकारले वैशाख २६ गतेसम्म यातायात व्यवसायीको माग पूरा नगरे अनिश्चितकालीन यातायात ठप्प पार्नेसम्मको व्यवयायीको चेतावनी छ । सरकारले यातायात क्षेत्रको सेन्डिकेट अन्त्य गर्नको लागि चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका ल्याएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर