जनप्रतिनिधि र कर्मचारीले बाढीपीडितबाट १० हजारको दरले कमिशन लिएको आरोप

(पार्थ मण्डल)

भद्रपुर । 

सरकारले दक्षिणी झापाका बाढीपीडितहरुले आफ्नो नाममा पठाएको रकमबाट जनप्रतिनिधि र कर्मचारीले कमिशन लिएको आरोप लगाएका छन् । जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार १० हजार रुपैयाँको दरले कमिशन लिएको उनीहरुको आरोप छ ।

झापाको कचनकवल गाउँपालिका–१का बाढीपीडितबाट वडा कार्यालयका वडाध्यक्ष लक्ष्मीनारायण यादव र घरधुरी संकलन गर्न गएका करारमा नियुक्त कर्मचारीद्वय पञ्जु राजवंशी र शर्मिला राजवंशीले बाढी पीडित परिवारबाट १० हजारको दरले कमिशन लिएको पीडित परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय झापामा मंगलबार लिखित उजुरी दिएपछि यस्तो रहस्य बाहिर आएको हो । १३ जना पीडितसहित राजनीतिक दलका प्रतिनिधि, वडासदस्य लगायतको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई आवश्यक कारवाहीका लागि लिखित–पत्र बुझाएका छन् ।

बाढी र डुबानबाट प्रभावित पूर्णरुपमा घर क्षति भएका पीडित परिवारलाई न्यानो कपडाको लागि १० हजार र घर मर्मतका लागि १५ हजार गरी २५ हजारको दरले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटबाट गृह मन्त्रालयमार्फत प्राप्त भएको सो रकम जिल्ला प्रशासन कार्यालय झापाले कचनकवल गाउँपालिकाका एक सय ४७ घरपरिवारका लागि ३६ लाख ७५ हजार रुपैयाँ पठाएको थियो । कचनकवल गाउँपालिका–१ साविक घेरावारीका बाढी पीडित लागि आएको तेस्रो किस्ताको राहत रकममध्ये वडाध्यक्ष यादव र कर्मचारीद्वय पञ्जु र शर्मिलाले कमिशन लिएकोले तत्काल आवश्यक कानूनी कारवाही गरी उचित न्याय दिलाउन माग गरेका छन् ।

घटना विवरण अनुसार बनियानीस्थित कचनकवल गाउँपालिकाको कार्यालयमा बाढी पीडितको नामावली हेर्दै बाढी पीडितलाई सही छाप गराउँदै २५ हजारको दरले रकम वितरण गरेका थिए । तर, रकम पाए लगत्तै बाढीपीडितका परिवारबाट जनप्रतिनिधि र कर्मचारीले १० हजारको दरले रकम लिएको खड्गनारायण राजवंशीले आरोप लगाए । करारमा खटाइएका पञ्चले आधा÷आधा रकम हुनुपर्छ भन्दै मसँग पहिला मौखिक सहमति गरे– उनले भने– त्यसपछि राहतको २५ हजार हातमा परेलगत्तै उनले मसँग १० हजार त्यहीँ लिए । बुबा मुनुवा मलहाको नाममा २५ हजार राहत रकम आएको थिया– उनका छोरा श्रवणले भन– वडाध्यक्ष यादवले भन्नुभयो, तिम्रो बुबाको नाम गल्ती छ, त्यसैले पाएको रकम २५ हजारबाट मलाई १० हजार दिनुपर्छ, भनेपछि मैले उनकै हातमा पैसा दिएको हो । कर्मचारी पञ्जु र शर्मिला मेरै घरमा आएर मसंग बार्ता गरे– पीडित महिला निमसरी राजवंशीले भनिन्– आधा रकम हामीलाई दिनुपर्छ, नत्र तपाइँले पैसा पाउनु हुन्न भनी धम्की दिएपछि मैले पञ्जुलाई १० हजार दिए ।
यता प्रमुख जिल्ला अधिकारी दाहालले पीडितहरुको कुरा सुनेपछि तत्काल कारवाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । गृह मन्त्रलायबाट पीडितको नाममा प्रशासन कार्यालयमा पठाएको राहत रकमबाट जनप्रतिनिधि र कर्मचारीले कमिशन लिनु कानून विपरीत भएको छ– प्रजिअ दाहालले भने– यस बारे प्रशासन कार्यालयले जनप्रतिनिधि र कर्मचारीलाई झिकाएर अनुसन्धान गर्छ र पीडितबाट लिएको रकम फिर्ता हुन्छ ।

सोही वडाका वडा सदस्य उमाशंकर गणेशले वडाध्यक्ष यादव र कर्मचारीले नियमसंगत काम नगरेको बताए । यसबारेमा तत्काल वडा कार्यालयमा बैठक बोलाएर पीडितहरुको समस्या समाधानका लागि छलफल गरांैभन्दा समेत वडाध्यक्षले नमानेको उनले बताए । राहतका लागि पठाइएको नामावली अनुसार पनि गाउँपालिकाले रकम नबाँडेको गुनासो पोख्दै उनले भने– राहत पाउने परिवारले रकम पाएन, एउटै नाम भएका अर्को व्यक्तिलाई रकम बाँडेको देखिन्छ । प्रशासन कार्यालयको पठाएको विवरणमा प्रितम राजवंशी, प्रभावती राजंवशी र नयनसरी राजवंशीको नाम उल्लेख छ, तर ती व्यक्तिले नपाएर सोही नामका अन्य व्यक्तिलाई कमिशनको लोभमा रकम बाँडेको छ– उनले भने ।

यता वडाध्यक्ष लक्ष्मीनारायण यादवले भने आफू र कर्मचारीले रकम नलिएको दावी गर्दै यो सब राजनीतिक चलखेल भएको बताए । त्यस्तै गाउँपालिकाका कार्यकारी अधिकृत्त रेखनाथ दाहालले कार्यालयबाटै बाढी पीडितलाई २५ हजारको दरले रकम वितरण गरिएको जानकारी दिए । उनले भने– यसमा गाउँपालिकाको संलग्नता छैन, बाहिर के गरियो, त्यो हामीलाई थाह छैन ।

तालाबन्दी खुल्यो
वडाध्यक्ष यादव र कर्मचारी पञ्जु र शर्मिलाले कमिशन लिएको भन्दै स्थानीय बाढी पीडित र राजनीति दलका प्रतिनिधिले सोमबार १ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । वडा कार्यालय घेराउ गर्दै उनीहरुले कार्यालयको ढोकामै ताला लगाएका थिए ।

बैठक बोलाएर समस्याको समाधान गर्न पीडित पक्षले वडाध्यक्षलाई जानकारी गराउँदा समेत उनले वेवास्ता गरेपछि तालाबन्दी गरेको स्थानीय कालेन्द्र राजवंशीले बताए । उनले भने– मैले वडाध्यक्षलाई पटक–पटक आग्रह गरे, वडाको समस्या वडाबाटै समाधान गर्नुहोस्, तर उहाँले नमानेपछि तालाबन्दी भएको हो । वडा कार्यालय तालाबन्दी खुलाउन प्रमुख जिल्ला अधिकारी दाहालले पीडितसँग आग्रह गरेपछि मंगलबार दिउँसोबाट ताला खुलेको जनाइएको छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com