काँचो मःम बेचेर मनग्ये आम्दानी

बिर्तामोड ।

बाइकको पछाडि केटी राखेर घुम्ने बेलामा के को मःमः बोकेर हिँड्छस् यार ! भन्दै साथीले जिस्क्याएको भद्रपुर–६का सन्देश रिजालको सम्झना ताजै छ ।

कनकाई क्याम्पस बिर्तामोडमा बीए पढ्दापढ्दै मःम फर्म खोलेर व्यवसाय शुरु गरेका रिजाललाई दुई वर्ष अघि नजिस्क्याउने साथी नै थिएनन् । फर्ममा उत्पादन गरेको मःम मोटरसाइकलको पछाडि राखेर बिक्रीका लागि बजार जाँदा उनलाई केटाले मात्र जिस्क्याएनन् केटी साथीले समेत जिस्क्याउन भ्याए ।

पढाईसँगै व्यवसाय शुरु गरेका सन्देश अहिले पनि कनकाई कलेजमा अध्ययनरत् छन् । उनी मास्टर पहिलो सेमीस्टर मेनेजमेन्टका बिद्यार्थी हुन् ।
पढ्दापढ्दै कोरिया जान दुईपटकसम्म इपीएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण भए । दुईपटक नै एक नम्वर नपुगेर इपीएस पास गर्न नसकेका रिजालका लागि त्यो परीक्षा नै सफलताको सूत्रधार बन्यो ।
दुईपटकको असफलता पछि उनले बिर्तामोडमा मःमः फर्म खोले । जसले उनलाई अहिले स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगार बन्न मद्दत पु¥याएको छ ।

उनको मःम फर्म अहिले बिर्तामोडको मात्र होइन, झापाकै लोकप्रिय फर्मको रुपमा चिनिएको छ । बिर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उनले उरी मःम फर्म खोलेका छन् ।
उरी अर्थात् कोरियन भाषामा नाम जुराए– उनले । पटक–पटकको असफलतापछि उनले कोरियन भाषामै मःम फर्मको नाम राखे जुन फर्मबाट उनको अहिलेको कमाई कोरियाको भन्दा कम छैन । २०७२ साल साउन १५ गते फर्म दर्ता गरेर कारोबार शुरु गरेका उनले अहिले १२ जनालाई रोजगार दिएका छन् भने उनको फर्ममा दैनिक ३० हजार रुपैयाँको कारोबार हुने गरेको छ ।

उनले बिर्तामोडसहित झापाका विभिन्न बजारमा काँचो मःम बनाएर बिक्री गर्छन् । फाष्टफुडका लागि लोकप्रिय बनेको मःम अहिले उनको आम्दानीको मुख्य स्रोत हो । १२ जनालाई रोजगारी दिएर पनि उनले मासिक ३० हजार भन्दामाथि बचत गर्न सफल भएका छन् । मास्टर पढ्दापढ्दै उनले व्यवसाय सञ्चालन गरेर मनग्ये आम्दानी गरेको देखेपछि हिजो उनलाई गिज्याउने साथी नै आफूलाई पनि यो व्यवसाय सिकाउन आग्रह गर्दै आउने गरेको उनको भनाइ छ ।

‘कतिपय अवस्थामा त उनीहरुको गर्जो नै टार्ने गरेको छु । कति साथीले फर्म भर्न पैसा नहुँदा समेत म सँगै मागेर लान्छन् ।’ हिजो मलाई गिज्याउनेहरु आज मलाई नै काम सिकाइदेऊ भन्दै आउँछन्’– उनले भने । फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ । होटल तथा खाजाघरमा बिक्री हुने सबैजसो मःम उनकै फर्मबाट जाने गरेको छ । उनले आफ्नो फर्ममा उत्पादन गरेको काँचो मःम बढी मात्रामा पर्यटकीय स्थलमा जाने गरेको छ । यसका अलावा बिर्तामोडका विभिन्न स्कूलले काँचो मःम लाने गरेको उनको भनाइ छ । ‘कोरिया जान नपाएको रनाहामा काठमाडौं घुम्दै गर्दा काँचो मःम बिक्री गरेको देखेको थिएँ । त्यसैलाई नक्कल गर्दै झापामा यो व्यवसाय शुरु गरेको हुँ । अहिले सोच्दै नसोचेको प्रगति गरेँ’ – उनले भने– ‘आफू त स्वरोजगार बनेँ नै अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्व लाग्छ ।’

रिजालले सञ्चालन गरेको उरी मःम फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उनकोमा तयार पारिएको मःम सुरुङ्गाका सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालबारी लगायतका पर्यटकीय स्थलमा जाने गरेको छ भने सुरुङ्गाको प्यारागन स्कूल, बिर्तामोडको बुद्ध स्मृतिसहित नाम चलेका स्कूल तथा कलेजमा समेत आउने गरेको छ ।

बिर्तामोडका अधिकांश होटलले उनले तयार पारेका काँचो मःम ल्याउने गरेका छन् । उनको फर्ममा अहिले दैनिक कम्तीमा एक हजार प्लेट काँचो मःम तयार हुने गरेको छ । प्रति प्लेट उनले २८ रुपैयाँमा मःम बिक्री गर्छन् । बिर्तामोड क्षेत्रभित्र उनले निःशुल्क होम डेलिभरी गर्ने गरेका छन् भने बिर्तामोडभन्दा बाहिर प्रतिप्लेट दुई रुपैयाँ सर्भिस चार्ज जोड्छन् ।

पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुङ्गा, उत्तरमा शनिश्चरेका अधिकांश होटलले उनले तयार पारेको मःम लाने गरेका छन् । दैनिक ५० देखि ७५ केजीसम्म पिठोबाट उनले मःमः तयार पार्छन् । तीन लाख रुपैयाँबाट यो व्यवसाय शुरु गरेका उनले अहिले मनग्ये आम्दानी गरेको देखेपछि यो व्यवसायमा उनकै साथीको समेत झुकाव बढेको उनको भनाइ छ । व्यवसाय फष्टाउँदै गएपछि उनले पिठो मुछ्ने मेसिनदेखि किमा तयार पार्ने मेसिन समेत राखेका छन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com