पहेंलो रंगका स्कूल बस प्रयोग गर्न निर्देशन

झापा ।

बिर्तामोड नगरपालिकाले स्कूल बसलाई अनिवार्य रुपमा पहेंलो रंग लगाउन निर्देशन दिएको छ ।
सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले यस्तो निर्देशन दिएको हो । शिक्षा अधिकारी युवराज पाण्डेले विद्यार्थी बोक्न प्रयोग गरिने सबै स्कूल बसलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पहेंलो रंग लगाउन निर्देशन दिएका हुन् ।

त्यस्तै उनले सबै सामुदायिक र निजी विद्यालयलाई अनिवार्य रुपमा चाइल्ड ट्रयाकिङ भर्न आग्रह गरेका छन् । अधिकांश ठूला भनिएका निजी विद्यालयले यसअघि चाइल्ड ट्रयाकिङ नभर्दा विद्यार्थीको सही तथ्यांक नआएपछि नगरपालिकाले सबै विद्यालयलाई यस्तो निर्देशन गरेको हो ।

नगरपालिकाले बिर्तामोड नगर क्षेत्रभित्र खुलेका पूर्व प्राथमिक तह, मन्टेश्वरी स्कूललाई समेत आफ्नो अभिलेख जनाउन आग्रह गरेको छ । केही मन्टेश्वरीले अभिलेख जनाउने कार्य गरिरहेको र जेठ मसान्तसम्म समय दिएको शिक्षा अधिकारी पाण्डेले बताए । उनले भने– ‘बिर्तामोडको शैक्षिक अवस्था के–कस्तो छ, आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ, यसले अध्ययन गर्न सहज हुन्छ ।’ नगरपालिकाबाट सेवा प्रदान गर्दा आफूहरुलाई प्रशासनिक समस्या भएको उनको भनाइ छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com