मदनको २५ औं स्मृति दिवश: जननेता मदन भण्डारी र समाजवादी सपना

           तीर्थराज खरेल

सिंहदरबार र पार्टी कार्यालयका भित्तामा प्रधानमन्त्री र पार्टी अध्यक्षका फोटाहरु झुण्ड्याइएका छन्, तर जनताको हृदयमा थोरै राजनेताको मात्र फोटा सजिएका हुन्छन् । महात्मा गान्धी न भारतका प्रधानमन्त्री भए न राष्ट्रपति नै । तर भारतीय जनताका लागि गान्धीको नाम आज पनि उत्तिकै प्यारो छ । नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्षपुरुषका रुपमा जनजनका हृदयमा रहेका मदन आफ्ना साथी जीवराजसँग निधन भएको दुई दशक बितिसक्दा पनि नेपालीका हृदयमा बाँचिरहेका छन् ।

मन्त्री र प्रधानमन्त्रीभन्दा धेरै माथि रहेर विचार दिने नेताका रुपमा सम्झना गरिने मदन भण्डारीलाई नेकपा एमालेभित्र एक सिद्धहस्त सिद्धान्तकार, कुशल संगठनकर्ता, प्रभावशाली वक्ता, कम्युनिष्ट आन्दोलनभित्र मौलिक सिद्धान्तका प्रतिपादकको रुपमा उच्च सम्मानका साथ हेरिन्छ । एमालेको २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनमा उनीबाट प्रस्तुत र बहुमतले पारित गरेको जनताको बहुदलीय जनवादका कारणले उनी कम्युनिष्ट आन्दोलनको इतिहासमा अमर छन् । मालेको २०४६ को भदौमा भएको चौथो महाधिवेशनमा कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार्ने प्रस्ताव राखेर पारित गराए पनि त्यतिबेला त्यसले उति चर्चा पाएन । जनताको बहुदलीय जनवाद जननेता क. मदन भण्डारीले प्रतिपादन गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो ।

पाँचौ राष्ट्रिय महाधिवेशनद्वारा अत्यधिक बहुमतद्वारा जनताको बहुदलीय जनवाद पारित गरेपछि त्यसको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा नेकपा (एमाले) सर्वाधिक जनआधारित र लोकप्रिय पार्टी बन्न पुगेको छ । ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सृजनात्मक प्रयोग गरा’ैं भन्ने उद्घोषका साथ सम्पन्न पाचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित जनताको बहुदलीय जनवादको कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा पार्टील पटक–पटक केन्द्रीय सरकार सञ्चालन गर्ने अनुभव हासिल गरेको छ । स्थानीय निकायमा पार्टी मुख्य सञ्चालक बन्न सफल भएको छ । प्रतिनिधि सभामा पार्टी सबैभन्दा ठूलो दल र प्रमुख पार्टीका रूपमा कार्यरत छ । यस बीचमा पाँचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित सिद्धान्त, नीति र कार्यक्रमको व्यवहारिक परीक्षण भएको छ । अहिले जनताको बहुदलीय जनवादको कार्यक्रम आफ्नो विशिष्टता र मौलिकताका कारण जनता माझ र पार्टी पंक्तिमा अत्यन्त लोकप्रिय बन्न पुगेको छ । राष्ट्रिय राजनीतिमा पार्टीले प्राप्त गरेका महत्वपूर्ण सफलता र उपलब्धिहरूले यसको समय सापेक्षता र औचित्यतालाई पुष्टि गरेको छ ।

जीवनका निम्ति उपयोगी हुन नसक्ने सिद्धान्त फेरिन्छन फेर्नुपर्दछ । जीवनका निम्ति आवश्यकपर्ने नयाँ सिद्धान्त निर्माण गरिन्छ र गर्नुपर्दछ । माक्र्सद्वारा प्रतिपादित जीवन र जगत्को अस्तित्व र विकासको नियमलाई बोध गराउने दृष्टिकोण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्छ भन्ने मदन दूरदर्शी, परिपक्व र निडर नेता थिए । जनताको बहुदलीय जनवाद अहिले नेपाली क्रान्तिको सिद्धान्तका रूपमा स्थापित हुनुका साथै यो नेपाली विशिष्टतामा आधारित र आफ्नै विशेषता भएको नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र रणनीतिलाई निर्देशित गर्ने नेतृत्वकारी विचार बन्न पुगेको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा एमाले २१औं शताब्दिलाई नेपाली जनताको मुक्ति र समृद्धिको शताब्दिका रूपमा अघि बढाउन सफल हुने कुराको अपेक्षा गरिएको छ । माक्र्सवाद–लेनिनवादको मार्गनिर्देशनमा जनताको बुहदलीय जनवादको आलोकमा र विगतमा भएका जनान्दोलन, जनसंघर्ष र जनयुद्धको जगमा नेपालमा सामाजवादको विकास कसरी गर्न सकिन्छ भन्ने आजको मूल प्रश्न भएको छ ।

नेपाली राजनीतिक आकासमा ज्वाज्वल्यमान ताराका रुपमा उदाएका राष्ट्रवादी भण्डारी कम्युनिष्ट आन्दोलनका निधि हुन् । विपक्षीलाई तर्कसहित ललकार्न सक्ने, नैतिक साहस भएका, मनोहारी भाषणकलाका धनी भण्डारीले विश्व कम्युनिष्ट आन्दोलन र विशेषगरी नेपाली कम्युनिष्ट आन्दोलनको गहिरो संश्लेषण गरी कम्युनिष्ट आन्दोलनको मौलिक बाटोको खोजी गरी जनताको बहुदलीय जनवादको रुपमा प्रस्तुत गरे । दुःखलाग्दो कुरा यो भएको छ कि आज जबज पुजिने वस्तु झैं भएको छ । कम्युनिष्टहरुले पनि श्रेष्ठता कायम भएको पुष्टी गर्न र शासन गर्न जनताबाट अनुमोदित हुन आवश्यक छ र क्रान्तिपूर्व पनि कम्युनिष्टहरु सरकारमा जाने, क्रान्तिपूर्व बनेका सरकारले सुधारका कामहरु गर्दै जनवादी क्रान्ति सम्पन्न गर्ने भण्डारीको जबजको सार हो । माक्र्सवादी सिद्धान्त त निरन्तर जनताको माझमा दैनन्दिन जीवनमा आइरहने जीवनोपयोगी सिद्धान्त हुनुपर्छ भन्ने जबजको स्पष्टोक्तिलाई एमालेले दह्रोसँग पक्रिन सकिरहेको छैन भन्ने गुनासो पनि उत्तिकै छ । बरु क्रान्तिपूर्व क्रान्ति सम्पन्न गर्न सघाउ पुग्ने गरी सरकार बनाउन सकिन्छ भन्ने विचारलाई टेकेर यथास्थितिमा चक्कर लाउने र जनताको बहुदलीय जनवादको रट पनि लगाइरहने डरलाग्दो परिस्थिति विकास हुने खतरा पनि छ । तलको संघर्षलाई माथिको संघर्षसँग जोडी बलपूर्वक फड्को मार्ने र क्रान्ति सम्पन्न गरी समाजवादमा प्रवेश गर्ने जनताको बहुदलीय जनवादको मूल मर्म हो । सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर हुनुभएन । जबजलाई जनताको जीवनमा खुशहाली ल्याउने सिद्धान्त हो भनेर मानिन्छ, तर यही जबजकै आधारमा एमाले संसदीय व्यवस्थालाई आफ्नो अभिष्ट मान्ने पार्टीको रुपमा परिणत भएमा मदनले सोच र विचार पूरा होला र ?

मदनलाई सम्झँदा उनको अन्तरपार्टी जनवादका बारेमा अघि सारेका दूरगामी सोचका बारेमा पनि बुझ्न आवश्यक छ । जनताको बहुदलीय जनवादले सैनिक वा राजकीय पार्टीको दृष्टिकोणलाई अस्वीकार गरेको छ । पार्टी जहिले पनि राजनीतिक पार्टी नै हुनुपर्ने कुरामा जोड दिएको छ । नीति र नेतृत्व निर्माणमा कार्यकर्ता र जनताको भूमिका निर्णायक हुने गरी जनआधारित कार्यकर्ता पार्टीको अवधारणालाई आत्मसात् गरेको छ । माथिबाट नियुक्त गरिएका नेता–कार्यकर्ता होइन, जनता तथा कार्यकर्ताबाट अनुमोदित नेता–कार्यकर्ताको अवधारणालाई आत्मसात् गरेको छ । यी मान्यताहरू आज पनि आधारभूत रूपमा सही छन् । हरेक लोकतान्त्रिक पार्टीले यी मान्यताहरूलाई निरन्तरता दिनुपर्दछ र समयोचित ढंगले विकसित पनि गर्दै जानुपर्दछ ।

अहिलेको मुख्य बहस समाजवादी कार्यक्रमका बारेमा भयरहेको छ । सबै प्रकारका शोषण र भेदभावको अन्त्य, काम अनुसारको दामको न्यायोचित वितरण प्रणाली, समानता, सामाजिक न्याय र समृद्ध समाजजस्ता मानवीय मूल्यहरू समाजवादका मूल विशेषता हुन् । विचारको स्वतन्त्रता, राजनीतिक प्रतिष्पर्धा, बालिग मताधिकार, आवधिक निर्वाचन, संसद्को सर्वोच्चता, कानूनी राज आदि हामीले आत्मसात् गरेका राज्यसत्ता संगठित गर्ने र परिचालन गर्ने विधिहरू हुन् । यी विशेषताहरूलाई जनताको बहुदलीय जनवादमा मात्र होइन, समाजवादमा पनि उत्तिकै महत्वका साथ आत्मसात् गर्नुपर्दछ । मदनले भनेका थिए– ‘वर्गहरु रहेसम्म तत्तत् वर्गको स्वार्थ पक्षपोषण गर्ने पार्टीहरु रहन्छन् ।’ तसर्थ उनले जनवादी र समाजवादी दुबै चरणमा बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अवलम्बन गर्नुपर्दछ भन्ने मदनको स्पष्ट दृष्टिकोण थियो । यसलाई उग्रवामपन्थीहरुले उनको यो विचारलाई काउत्स्की र बन्र्सटाइनको विचार मानेर आलोचना पनि गरे । तर भण्डारीले यो कम्युनिष्ट आन्दोलन असफल हुने प्रमुख कारण माने । यस सन्दर्भमा हामीले पूर्वी युरोप र सोभियत संघको अनुभवबाट पनि शिक्षा लिन जरुरी छ । ७० वर्षको सोभियत संघ र दशकौं पुरानो पूर्वी युरोपको समाजवादी सत्ता, पटकासम्म पनि नपट्काई बालुवाको घर झैं ढल्न पुग्यो र ती मुलुकहरू पुँजीवादमा फर्किए ।

यस निम्ति साम्राज्यवादको प्रयत्नले जरुर काम गरेको छ तर मुख्य कारण भने त्यहाँका कम्युनिस्ट पार्टी र समाजवादी सत्ताका गल्ती–कमजोरीहरूले उत्पन्न गरेको जनआक्रोश नै हो । जनताको असन्तुष्टिलाई संगठित गरेर समाजवादी सत्तालाई पल्टाउने काममा त्यहाँका पुँजीवादपन्थीहरू सफल भएका हुन् । किन कम्युनिष्ट सत्तालाई बचाउन जनता सडकमा निस्केनन् ? यसको स्पष्ट जवाफ छ–कम्युनिष्ट पार्टी जनताबाट अलग भएर हो, शासकहरु पार्टीबाट कटिएर हो । अन्तरपार्टी जनवादको कमीबाट अधिनायकवादी सोचको उदय भयो र नेतृत्व जनताको सेवक नभएर शासक भए । यसबाट नेपालमा शिक्षा लिने कि नलिने ? यदि जनता कम्युनिस्ट पार्टी र समाजवादी सत्तासँग असन्तुष्ट भएका हुँदैन थिए भने पुँजीवादपन्थीहरूको प्रयत्न सफल हुने थिएन । यस सन्दर्भमा पनि मदन भण्डारीको सोच स्पष्ट र दूरदर्शी थियो ।
[email protected]

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com