Aamsanchar

झापाको बीएण्डसी मेडिकल कलेजलाई ठूलो सफलता, सम्बन्धन पाउने पक्कापक्की

Author Image
सोमवार, असार १८, २०७५

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने निश्चित भएको छ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सोमबार बसेको सिनेट बैठकले पूर्णविश्वविद्यालयका लागि ऐन संशोधन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेपछि बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने पक्कापक्की भएको हो।

प्रदेश विश्वविद्यालयका रुपमा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन सरकारले ‘ग्रिन सिग्नल’ दिएपछि सिनेट बैठकले सिफारिसको निर्णय गरेको हो। ऐन संशोधन भएपछि विश्वविद्यालयले प्रदेश १ मा ५ वटासम्म मेडिकल कलेजलाई सम्बन्धन दिन पाउनेछ। ऐन संशोधन तत्काल गर्ने सरकारको तयारी रहेको छ।

प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले पूर्णविश्वविद्यालयका लागि सम्पूर्ण पूर्वाधार पुग्ने र सक्षम पनि भएकाले सिनेटले सरकारलाई सिफारिस गरेको बताए।

‘३६औं सिनेट बैठकले पूर्णविश्वविद्यालयका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो, तर विभिन्न कारणले सो प्रक्रिया रोकिएको थियोु, उपकुलपति रौनियारले भने, ुअहिले प्रतिष्ठान सक्षम र प्रदेशमा आवश्यकता भएकाले बैठकले सो निर्णय कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।’

ऐन संशोधनपछि पूर्वाधार तयार गरी सम्बन्धनको पर्खाइमा बसेको प्रदेश १ मा रहेको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउनेछ। बिएन्डसीले शिक्षा मन्त्रालय र मेडिकल काउन्सिलबाट सम्बन्धनका लागि मनसायपत्र यसअघि नै पाइसकेको छ।

काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय नयाँ सम्बन्धन दिन असमर्थ भएपछि सो मेडिकल कलेज ३ वर्षदेखि सम्बन्धनको पर्खाइमा थियो। बीएण्डसीलाई सम्बन्धन दिन पनि ऐन संशोधन तत्काल गर्ने सरकारको तयारी छ।

सरकारले संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयक पारित भए पनि नभए पनि बीएण्डसीले सम्बन्धन पाउनेछ। प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिबाट स्वीकृत भएको अध्यादेश अनुसार नभएको भन्दै संसदमा दर्ता भएको प्रतिस्थापन विधेयकको विरोध गरेको छ।

प्रतिस्थापन विधेयक सरकारसँग भएका सम्झौता र अध्यादेशभन्दा विपरीत रहेको भन्दै डा गोविन्द केसी शनिबारदेखि अनसनमा छन्। यता लामो प्रतिक्षा पछि पूर्वका जनतालाई ठूलो सफलता मिलेको बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताएका छन् । आइतबार मात्रै राजधानीमा पत्रकार सम्मेलन गरेर प्रसाईले स्वास्थ्यका क्षेत्रमा बीएण्डसीले ठूलो फड्को मार्दा समेत विभिन्न बहानाबाजी गरेर पटक–पटक सम्बन्धन रोक्ने चलखेल भएको भन्दै आक्रोश ब्यक्त गरेका थिए ।

दैनिक ८ सय बिरामीलाई प्रत्यक्ष सेवा दिदैं आएको बीएण्डसीले विभिन्न रोगको उपचारमा ठूलो सफलता समेत हात पार्दै आएको छ । झापासहित इलाम, पाँचथर,ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम तथा भारतका विभिन्न स्थानबाट समेत बिरामीहरु उपचारका लागी बीएण्डसी मेडिकल कलेजमा आउने गरेको बीएण्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर