वैचारिक रुपान्तरणका चुनौतिहरु

तीर्थराज खरेल

 

हरेक व्यक्ति सुखी हुन चाहन्छ । हरेक व्यक्ति असल जीवन चाहन्छ । तर सबै मानिस सुखी पनि छैनन् र उनीहरु आफ्नो जीवनलाई सफल पनि मान्दैनन् । हरेक मानिस आफू कुनै न कुुनै धर्मको अनुयायी भएको मान्दछन् । तर धर्मप्रतिको उनीहरुको बुझाइमा एकरुपता छैन । असल र सफल जीवनका मुख्य स्तम्भका रुपमा स्वास्थ्य, धन, प्रेम र सुखलाई मान्न सकिन्छ । तर यिनै ४ स्तम्भका बारेमा बुझाइमा फरक–फरक दृष्टिकोण पाइन्छ ।

निश्चित समय र उमेर गुजारेपछि मानिसमा चेतनाको बढोत्तरी हुन्छ र थपिंदै गएको अनुभवका कारण मुक्तिका सपना बुन्न थाल्छ मान्छे । तर प्रश्न छ—कस्तो मुक्ति प्राप्त गर्ने र मुक्ति कसरी प्राप्त गर्ने ? सबैले उज्ज्वल भविष्य सहित प्रगतिपथमा अघि बढ्ने आकांक्षा बोकेका हुन्छन् । के त्यो सपना पुरा हुन्छ ? सपना पुरा गर्न श्रम गर्नु पहिलो शर्त हो । मानिसको सुखको सपना श्रम र मेहनेतले पुरा हुन्छ भन्ने हो भने समाजका सबभन्दा बढी पसिना बगाउने सबभन्दा सुखी हुनुपर्ने हो ।

सबैभन्दा बढी मेहनेत त रिक्सा र ठेला चलाउनेले गर्दछन्, आलिशान महल र गगनचुम्बी बंगला बनाउने मजदुरले गर्छन् । के उनीहरुको सुन्दर जीवनको सपना पुरा भएको छ ? उनीहरुका छोराछोरी भोकैनांङ्गै किन छन् ? भारी बोक्ने भरियाको जीवनमा किन खुशीयाली आउँदैन ? ठूला र फराकिला बाटा बनाउने, ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा काम गर्ने मजदुरको जीवनमा किन खुशीयाली आउँदैन ? मानिसले मानिसलाई नगन्ने र पैसाको मात्र मूल्य देख्ने द्रव्यपिचाशी राज्यव्यवस्था र त्यसबाट बनेको मानसिकताबाट मुक्ति कसरी हुन्छ र ! आलिसान महलमा बस्ने र मीठो–मसिनो खाने अवसर प्राप्त वर्गका लागि सन्तोषकोे सास फेर्ने ठाउँ छ भनेर मान्ने हो भने उनीहरुका लागि स्वर्ग यही धरतीमा होला भनी मान्न सकिन्छ ।

सभ्रान्त वर्गका लागि पूर्ण लोकतन्त्र छ, स्वतन्त्रता छ यहाँ । तर, मजदुरका लागि छैन । काम गर्नेको जीवनमा परिवर्तन आउनुपर्ने हो, तर वास्तवमा त्यसो भइरहेको छैन । उनीहरुमा पनि शान्ति छैन । उनीहरु पनि सुखको अनुभुति गर्न सकिरहेका छैनन् । उनीहरु मीठो सपना सहित सुत्न सक्दैनन् । वास्तवमा सुख के हो त ? सुखका लागि उनीहरु आफ्ना आशा, सपना र महत्वाकांक्षालाई थाँती राखिरहेका छन् । हुन त मानिसको सफलता मात्र देखाइन्छ, सुख प्राप्तिका लागि उसको पृष्ठभूमिको वर्णन कमै हुन्छ । आम सञ्चार क्षेत्र र हाम्रो समाजले पनि सामुन्नेका मात्रै देख्ने गरेको छ ।

वैचारिक रुपान्तरणका लागि अनेक चुनौति छन् । धर्मप्रतिको अन्ध आस्थाले वैचारिक रुपान्तरणमा बाधा पु¥याएको छ । धर्मको परिभाषा अलगअलग छ सबैको । धर्मका अनुयायीका लागि आफ्ना धर्मले मुक्ति दिन्छ भन्ने ठूलो विश्वास हुन्छ । सबै धर्मावलम्बीहरु अन्य धर्मप्रति अनास्था राख्छन् । गैर हिन्दूहरुले भनेका असल कुरामाथि पनि शंका हुन्छ हिन्दू धर्मावलम्बीहरुलाई ।

क्रिश्चियन धर्मावलम्बीहरु आफूलाई विश्वमा पहिलो नम्बरको धर्मको अनुयायी सम्झन्छन् । बौद्ध र ईस्लाम धर्मको पनि अवस्था अन्य धर्मभन्दा फरक छैन । वास्तविकता जे भए पनि धर्मभित्र मुक्तिको मीठो आशा लुकेको छ सबैका लागि । तर त्यो मुक्ति आफ्नै धर्मले मात्र दिन्छ भन्नेमा विश्वास गर्छन् सबै । सबै धर्मका अनुयायीमा एकलकाँटेपन छ । धर्मको सार के हो ? मानव सेवाभन्दा ठूलो धर्म दुनियाँमा कुनै छैन । तर धर्मको अनुयायी हुँ भन्नेहरुले मानव सेवाको कुरा बुझ्दैनन् । हरेक धर्मलाई अन्धविश्वासले गाँजेको छ । धर्म रुपान्तरणको पक्षविपक्षमा कुरा जोडतोडले उठ्छ, तर धर्मभित्र रहेका अन्धविश्वासको अन्त्यको कुरा पनि उठ्न जरुरी छ । यहाँ कुरा अन्धविश्वासको मात्र छैन, यहाँ त रगत र पसिनाको कुरा छ ।

आँसु र मेहनतको छ । सुखको खोजीमा भौंतारिँता मानिस धर्मको शरणमा पुग्दछ । दिनभरि काम गर्दा पनि खान नपुग्ने किन हुन्छ ? यो प्रश्नको उत्तर कसले दिन्छ ? इमान्दारिता र लगनशीलताले मात्र सुख नदिने रहेछ । धर्मले मुक्ति दिने कुरा भ्रम मात्र हो । मानिसका दिमागमा रहेका पुरातन कुँडाकरकट नहटाएसम्म ऊ कसरी मुक्त हुन सक्छ त ? संसारमा चलेका आफ्ना धर्मलाई मात्र धर्म देख्ने धार्मिक सम्प्रदायहरुबाट मुक्ति सम्भव छैन । धर्मभित्र रहेका वैज्ञानिकताको संरक्षण आवश्यक छ, तर धर्मको नाममा रहेका कुसंस्कारबाट छुट्कारा आवश्यक छ मान्छेका लागि । राज्य र धर्मलाई जोडेर शासनसत्ता लम्ब्याउने अभिष्ट राख्ने प्रवृत्ति पनि हामीकहाँ छ ।

मानिस वैचारिक रुपमा रुपान्तरित हुन आवश्यक छ । खास धर्मका उग्र समर्थक र कट्टर विरोधीका लागि अर्को धर्मलाई सम्मान गर्नु र सम्मानका दुई शब्द बोल्नु ज्यादै कठीन कार्य हुन्छ । धर्म भनेको असल कुरा धारण गर्नु हो भनिन्छ । जुन कुरालाई हामी धर्म भनिरहेछौ, ती त केबल धार्मिक सम्प्रदाय मात्र हुन् । हामी मुक्ति चाहन्छौं, तर हामी मुक्ति प्राप्त गर्ने बाटोमा लागिरहेका छौं ? मुक्तिको आकांक्षा राख्ने, तर बन्धनमा पर्ने काम गर्छौं भने मुक्ति मिल्छ कसरी ? जो पदमा छन् उनीहरुको पूजा गर्ने वा उनीहरुको कडा विरोध गरिने हाम्रो परम्परा बनेको छ । हामी पहिला मानिसलाई धुरीमा चढाउँछौं, अनि लडाउँछौं धेरै अग्लो चुचुरोबाट । मानिसको देवत्वकरण गर्नुको प्रमुख उद्देश्य उसको दानवीकरण गर्ने पृष्ठभूमिको तयारी हो भन्दा हुन्छ । मानिस देवताको रुप हुन सक्दैन, जसलाई पुजिन्छ, मानिन्छ र उसले कुनै गल्ती गर्दैन । समस्याको जड यहींनेर छ हाम्रो चिन्तनमा । चिन्तनमा रुपान्तरण जरुरी छ । चिन्तनमा जडता, अन्धता र स्वार्थलाई केन्द्रविन्दुमा राख्ने हो भने वैचारिक रुपान्तरण जडसूत्रीय अन्धतामा जेलिन्छ ।

मूल कुरा के हो भने आजको मानवलाई अमानवीकरण गर्ने जुन सामाजिक परिवेशमा हामी बाँचिरहेका छौं, साँचो अर्थमा हामीले यही कुराबाट मुक्ति पाउन कोशिस गर्नुपर्छ । मानिसको स्वत्वलाई मारेर उसले स्वतन्त्रता हासिल गर्न सक्दैन । मानिसको विवेक मार्नु भएन, भावना मार्नु भएन । तब मात्र मुक्तिको यात्रा शुरु हुन्छ । वैज्ञानिक समाजवादका प्रणेता कार्ल माक्र्स भन्छन्—आजसम्मका दार्शनिकले संसारको व्याख्या गरेका छन्, तर मुख्य कुरा त यसलाई बदल्नु हो ।

मुक्तिको शुरुवात आफूबाट हुन्छ, परिवर्तनको शुरुवात आफूबाट गर्न आवश्यक छ । यो निक्कै चुनौतिपूर्ण काम हो । नेपालमा त बौद्धिक क्षेत्र चिन्तनको दरिद्रताको शिकार भएको छ । बुद्धिजीवी पार्टीकरण भएका छन् । उनीहरु पार्टीको झण्डाको छायाँमा सत्य देख्छन्, अरु सब गलत लाग्छ उनीहरुलाई । हाम्रो देशमा यतिबेला सबै पुस्ताका मानिसहरुमा लुछाचुँडी गर्ने प्रवृत्ति देखिन्छ र आफू परिवर्तन नभई अरुलाई परिवर्तन हुनका लागि प्रवचन दिने प्रवृत्ति प्रभावी हुँदै गएको देखिन्छ । सकारात्मक सन्देश दिने नै हो भने आफ्नै उदाहरणबाट दिनु श्रेयष्कर हुन्छ । अरुका क्रियाकलापमा टिप्पणी गर्न त सजिलो हुन्छ, तर व्यवहारिक रुपमा आफूलाई खरो उतार्न ज्यादै अप्ठ्यारो हुन्छ ।

आफ्नो पक्ष हो वा होइन भन्ने आधारमा मात्र कुनै व्यक्ति मन पर्ने हुने वा नहुने हाम्रो परिपाटी घातक र प्रत्युत्पादक छ । खास दर्शनको अनुयायी भएर सोही दर्शनले लैस भएको दिमागबाट पूर्ण मुक्तिको सपना देख्नु भनेको संसारमा भएको विविधतालाई अस्वीकार गर्नु हो । मान्छेले उत्पादनको लागि गरिएको संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट ज्ञान प्राप्त गर्ने भनी मान्ने हो भने समाजबाट अलग्गै कुनै मानिस त हुन सक्दैन, तर चलिरहेको बाटोबाट एक सुता पनि यताउता नगर्ने हो भने परिवर्तन कसरी हुन्छ त ? हामीभित्र जरा गाडेर बसेको दासत्वको भावना वा अरुलाई देवत्वकरण गर्ने परम्परागत सोचको जग भत्काएर मात्र जाग्रत मनुष्य बन्ने बाटो खोल्न सकिन्छ ।

बाँधेर राख्ने बन्धनलाई चुँडाल्न आवश्यक छ । जीवनमा सार्थक परिवर्तन ल्याई सबै प्रकारका बन्धनबाट मुक्त गर्ने राजनैतिक–वैचारिक सिद्धान्तप्रति अगाध आस्था राखी अनुशरण गरेबाटै परिवर्तन सम्भव हुने हो, तर प्रश्न के हो भने त्यस्तो परिवर्तन ल्याउने सोच कस्तो हुन्छ ? सिद्धान्तको पक्षपाती हुनु वा समर्थक हुनुमा फरक छ । फेरि पनि त्यही सिद्धान्तकै जडतामा अल्झिएर रहने हो भने परिवर्तन एकादेशको कथा हुन्छ र पुरानो कुराको पुनरावृत्ति हुन्छ । सकारात्मक सोचले सकारात्मक काम हुन्छ, अनि यथास्थिति र प्रतिगमनका अभेद्द पर्खाललाई तोडेर जीवन सदैव असल गोरेटोतिर लागिरहन्छ ।

मानव धर्ममा शान्ति छ, तर मुक्तिका लागि मानिसको स्वत्वको र स्वतन्त्रताको रक्षा आवश्यक छ । जीवनमा अनेकौं दुःखकष्ट बेहोरेर मात्र मुक्ति सम्भव छैन, मुक्तिको लागि आफूलाई बन्धनमा पार्ने विषयबाट छुट्कारा पाउनुप¥यो । जीवनमा साँचो अर्थमा सार्थकताको बोध गर्ने हो भने वैचारिक रुपमा रुपान्तरण जरुरी छ । वैचारिक रुपान्तरणका लागि सबै रुढ र जड विचारलाई मिल्काउन जरुरी छ किनभने फोहोर बोकेर जहाँ गए पनि दुर्गन्ध रहिरहन्छ । [email protected]

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com