Aamsanchar

‘कोटीहोमको सर्पदंश उपचार केन्द्रप्रति जनतामा विश्वास बढ्दै गएको छ’

Author Image
बुधवार, असार २०, २०७५

लीलाप्रसाद चिमरिया अध्यक्ष, कनकाई सहारा सर्पदंश उपचार केन्द्र, सुरुङ्गा, झापा

सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका पूर्व उपसभापति, कनकाई घाट समितिका सदस्य, समर्पण कर्मयोग भवन निर्माण अभियानका सचिव लगायतका विभिन्न जिम्मेवारी पूरा गर्दै समाजसेवीको छबि बनाएका ४३ वर्षीय लीलाप्रसाद चिमरिया कनकाई नगरक्षेत्रमा उज्ज्वल भविष्य बोकेका युवा मानिन्छन् । राजनीतिमा उनलाई त्यति चासो छैन, तर उनी आफूलाई सदैव समाजसेवाको पाटोमा उभ्याउन चाहन्छन् ।

कनकाई नगरका धेरै युवाका लागि उनी प्रेरणाका स्रोत पनि रहेका छन् । हाल उनी झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा स्थापना गरिएको कनकाई सहारा सर्पदंश उपचार केन्द्रको अध्यक्षको रुपमा क्रियाशील छन् । २०७३ सालमा स्थापना गरिएको उक्त सर्पदंश उपचार केन्द्रका गतिविधि, केन्द्रले प्रदान गर्ने सेवा तथा त्यसका चुनौतिहरुका सम्बन्धमा चिमरियासँग गरिएको छोटो कुराकानी प्रस्तुत छ :

कोटीहोमस्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रबारे छोटकरीमा बताइदिनुहोस् ।

झापामा चारआली र दमकमा मात्र सर्पदंश केन्द्र रहेका थिए । ती केन्द्रले सेवा दिदै आए पनि मध्य झापामा रहेका नागरिकलाई भने त्यहाँसम्म पु¥याउन समय लाग्ने भएकाले सुरुङ्गामा उपचार केन्द्र स्थापना गरिएको हो । सुरुङ्गा दक्षिण, पश्चिम र उत्तरका दुर्गम क्षेत्रका सर्पदंशका बिरामीले ज्यान गुमाउनुको विकल्प नभएको नमिठो यथार्थलाई मनन गरी सुरुङ्गामा सर्पदंश उपचार केन्द्र स्थापनाको सोच अघि बढेको हो ।

नेपाल रेडक्रस सोसाइटी झापा, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सक्रियतामा सुरुङ्गा कोटीहोममा भेन्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको सेवा शुरुवात गरिएको हो । सहारा नेपाल साकोस चारपानेको सक्रियतामा झापाका ६८ संस्थाले सुरु गरेको समर्पण राष्ट्रिय अभियानबाट करिब २ करोड ५० लाख रुपैँयाँको लागतमा बनेको कर्मयोग भवनमा यो सेवा शुरु गरिएको हो ।

हाल सेवा केन्द्रमा प्राविधिकहरुको कस्तो व्यवस्थापन रहेको छ ?

हाल १ जना मेडिकल अफिसर, ६ जना प्राविधिक, १ जना रात्रीकालीन र १ दिवाकालीन गार्ड, १ कार्यालय सचिव र १ सहयोगी कर्मचारीसहितको टोली २४ घण्टा नै क्रियाशील छ । ६ जना प्राविधिकलाई ८÷८ घण्टाको दरले हरेक सिफ्टमा २ जनाको दरले पालो मिलाइएको छ । मेडिकल अफिसरलाई जुनसुकै बेला पनि आवश्यक परेको बेला पाउन सकिने गरी व्यवस्था मिलाइएको छ ।

६ बेडको सो सेवाकेन्द्रमा एकपटकमा १२ जनासम्म बिरामीले सेवा पाउन सक्ने छन् । अत्याधुनिक भेन्टिलेटरसहित आई.सी.यु. कक्षको पनि व्यवस्था गरिएको छ । यो सुविधा चारआली र दमकस्थित उपचार केन्द्रमा छैन । सर्पदंश उपचार केन्द्रसँगै फार्मेसी सेवा पनि सञ्चालनमा छ ।

उपचार खर्चको कस्तो दर रहेको छ ? विपन्नका लागि कस्तो सुविधा छ ?

विषालु र विष नभएका जस्तासुकै सर्पले टोकेको भए पनि उपचार खर्च २१ सय रुपैयाँ मात्र निर्धारण गरिएको छ । विषालु सर्पले टोकेको केसमा त २०–२५ भाइलसम्म मेडिसिन लगाउनुपर्ने र १÷२ दिनसम्म भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।

धनीदेखि गरीब सबैका लागि समान दर निर्धारण गरिएको छ । यो मानवीय हितमा खोलिएको संस्था हो । सर्पले टोक्दा आर्थिक अभावले उपचार नपाएर कसैले पनि मृत्युवरण गर्नु नपरोस् भन्ने हाम्रो चाहना हो । मानिसको जीवनको रक्षा हुनु पहिलो कुरा हो ।

यो उपचार केन्द्रको स्थापनाको पृष्ठभूमिबारे बताइदिनुहोस् ।

पहिलो पटक नेपाल रेडक्रस उपशाखा सुरुङ्गाको बैठकमा सर्पदंश उपचार केन्द्र खोल्ने विषय उठेको हो, यस सम्बन्धमा रेडक्रस भवनको माथिल्लो तला निर्माण गरी सर्पदंश उपचार सेवा शुरु गर्ने गरी भवन निर्माण समिति पनि गठन भएको थियो ।

तर कार्यसमितिभित्र उपचार केन्द्र स्थापनाका सम्बन्धमा मत नमिलेपछि बैठकका निर्णय कार्यान्वयन हुन सकेनन् । यद्यपि सुरुङ्गामा सर्पदंश उपचार केन्द्र स्थापना हुनुपर्छ भन्ने सोचलाई हामीले मर्न दिएनौं । सहारा नेपालले सर्पदंश उपचार केन्द्र चारपानेमा खोल्ने तयारी अघि बढेर जग्गा किनेर भवन निर्माण समिति पनि बनिसकेपछि नेपाली सेनाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्र चारआलीको सल्लाहपछि झापाको मध्यभाग सुरुङ्गामा खोल्नु उपयुक्त हुन्छ भन्ने विचार प्रबल भएर गयो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यो उपचार केन्द्र स्थापनाको सोचाइ बनेको हो । यसमा मुख्य गरेर नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल र सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीको सोच र सुरुङ्गामा पनि सर्पदंश उपचार केन्द्र बन्नुपर्छ भन्ने हाम्रो सोचाइका कारण यसको स्थापना सम्भव भएको हो ।

लोकराज ढकालको यसको स्थापनामा ठूलो देन छ । महेन्द्रकुमार गिरीको सकारात्मक योगदान नभएको भए यसको स्थापना सम्भव नै थिएन । सबैको सल्लाह बमोजिम अग्रज निर्माण व्यवसायी एवम् कनकाई घाट समितिका अध्यक्ष प्रभाखर कडरियालाई अध्यक्ष बनाएर यो उपचार केन्द्रको स्थापना भएको हो । यसको स्थापनामा मुख्यतः नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग र सहारा नेपालको आर्थिक सहयोग रहेको छ । यी दुई संस्थाका अलावा कनकाई नगरपालिका, कनकाई उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, कनकाई घाट समिति र कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको पनि यसको स्थापनामा ठूलो योगदान रहेको छ ।

हाल यो उपचार केन्द्र सञ्चालनका लागि सञ्चालक समिति कस्तो रहेको छ ?

हाल यो सेवा केन्द्र सञ्चालनका लागि ११ सदस्यीय सञ्चालक समिति क्रियाशील रहेको छ । म लीलाप्रसाद चिमरिया अध्यक्ष, कोषाध्यक्ष सूर्य उप्रेती र सदस्यसचिव गंगाराम दाहाल तथा प्रभाखर कडरिया, महेन्द्रकुमार गिरी, लोकराज ढकाल, कुमारमणि पोखरेल, तेजबहादुर आचार्य, चन्द्र चुडाल, श्यामकुमार पौडेल र पदमप्रसाद भट्टराई सदस्य रहेको समिति रहेको छ ।

यो उपचार केन्द्रको स्थापनादेखि हालसम्मको सेवा कस्तो छ ?

उपचार केन्द्रको सेवाका बारेमा हामी सन्तुष्ट छौं । प्राविधिक मित्र तथा कर्मचारी साथीहरु धेरै खटेर काम गरिरहनुभएको छ । कोटीहोममा सर्पदंश उपचार केन्द्र रहेको जनस्तरमा प्रचारप्रसार भएको छ । प्रचारप्रसारको क्रम बढेर गएको छ । यस उपचार केन्द्रमा कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, बा¥हदशी गाउँपालिका, झापा गाउँपालिका र इलाम जिल्लाको माई नगरपालिकाका मात्र होइन भारतका पनि धेरै बिरामीहरु ल्याइने गरेको छ ।

स्थापनादेखि हालसम्म यस उपचार केन्द्रबाट सर्पले टोकेका ३ सय बढीले सेवा लिएका छन् भने शिवसताक्षी नगरपालिकाको १ जना बिरामीको सर्पले टोकेको ५÷६ घण्टापछि ल्याएका कारण उपचारका क्रममा निधन भएको रेकर्ड छ । हामी यो उपचार केन्द्रको सेवा अझै राम्रो र स्तरीय बनाउन चाहन्छौं । बिरामीलाई जति चाँडो ल्याइन्छ, त्यति नै उपचार गरेर बचाउन सकिने सम्भावना बढी हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । हामीले सर्पदंशका सम्बन्धमा सचेतना कार्यक्रम पनि शुरु गरेका छौं ।

फेसबुक पेज र वेभपेज खोलेर अपडेट गर्ने गरेका छौं । सर्पदंश, त्यसको प्राथमिक उपचार र मुख्य उपचार सम्बन्धी ब्रोसुर पनि तयार गरेका छौं । सर्पले डसेको शंका हुनासाथ उपचार केन्द्रमा आउन वा बिरामीलाई ल्याउन र उपचार गर्न म सबैमा आग्रह गर्दछु । स्थानीय सरकारका सबै जनप्रतिनिधिहरुलाई सर्पदंश सम्बन्धी सचेतना अभिवृद्धिमा र यसको उपचार सम्भव छ भनी प्रचारप्रसारमा पनि सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु ।

यो उपचार केन्द्र सञ्चालनका लागि खर्चको कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

बिरामीहरुबाट शुल्क बापत डेढदेखि दुई लाख रुपैयाँ उठ्ने गरेको छ । यसले त खर्च धान्न सम्भव नै छैन । तर सेवा केन्द्रमा प्राविधिक जनशक्ति, अन्य जनशक्ति, औषधि तथा अन्य खर्चका लागि वार्षिक खर्च २५–३० लाख आवश्यक हुन्छ । स्थापनादेखि हालसम्म ७० लाख रुपैयाँ सहारा नेपाल, २ लाख रुपैयाँ कनकाई नगरपालिका र २ लाख रुपैयाँ रुपैयाँ झापा गाउँपालिकाले दिएका छन् ।

आगामी आर्थिक वर्षका लागि झापा गाउँपालिकाबाट ५ लाख, कनकाई नगरपालिकाबाट १० लाख र सहारा नेपालबाट १० लाख रुपैयाँको माग प्रस्ताव गरेका छौं । त्यसै गरी शिवसताक्षी नगरपालिका र माई नगरपालिकाबाट पनि सहयोगको आशा गरेका छौं । सबै संस्थाबाट हामो प्रस्तावप्रति सकारात्मक उत्तरको प्रतिक्षामा छौं ।

अन्त्यमा, तपाई के भन्न चाहनुहुन्छ ?

सहारा नेपालको अगुवाईमा विभिन्न ६८ वटा संघ÷संस्थाले शुरु गरेको समर्पण अभियान अन्तर्गत निर्माण गरिएको कर्मयोग भवनमा सञ्चालित यो सर्पदंश उपचार केन्द्रले धनी र मध्यम वर्गीयसहित गरिब तथा तल्लो स्तरमा जोकोही सर्पले टोकेर घाइते भई आउने बिरामीलाई उपचार गरी बचाउन सफल भएका छौं हामी । कम्तीमा पनि यस क्षेत्रका मानिसहरुले सर्पले डसेकै कारण अकाल मृत्युवरण गर्न नपर्ने भएको छ ।

तर यसको सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापनको पाटो स्थानीय सरकारले जिम्मा लिनुपर्छ । स्थापनाका लागि सहारा नेपालले सहयोग गरेको हो, सहाराले भविष्यमा पनि सहयोग जारी राख्ने पूर्ण विश्वास छ, तर अब यसको निरन्तरताका लागि कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी गाउँपालिकाले अग्रसरता देखाउनुपर्छ । सहयोगका लागि म सबैमा अनुरोध गर्न चाहन्छु ।

यो सर्पदंश उपचार केन्द्रप्रति जनतामा विश्वास बढ्दै गएको छ । यो सकारात्मक कुरा हो । सर्पले डसेर कसैले मृत्युवरण गर्न नपरोस् । यो उपचार केन्द्रको निरन्तरताका लागि सबैको सकारात्मक सहयोग रहेको छ र यसलाई सबैको साथसमर्थन रहिरहनेछ भन्नेमा म पूर्ण विश्वास गर्दछु ।
प्रस्तुति : तीर्थराज खरेल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर