Aamsanchar

जनता माराकाम ! स्वास्थ्य बिमाले ठगिँदै बिरामी

Author Image
बुधवार, असार २०, २०७५

पार्थ मण्डल/भद्रपुर ।

आम नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले सरकारले लागू गरेको स्वास्थ्य बिमा सदस्यता लिएका बिरामी ठगिन थालेका छन् । सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत प्रदेश १ अन्तर्गत झापा जिल्लामा सञ्चालित स्वास्थ्य बिमा बोर्डद्वारा तोकिएको रकम उपचार पश्चात बिरामी तथा तिनका परिवारले नपाउँदा स्वास्थ्य उपचारको नाममा बिरामी ठगिन थालेका हुन् ।

स्वास्थ्य बिमा बोर्डले तोकेका स्वास्थ्य संस्था अन्तरगतका अस्पताल तथा स्वास्थ्य चौकीमा बिमा परिचय–पत्र देखाएर बिरामीहरु निःशुल्क उपचार सेवा लिन जाने गरेका छन् । बिरामीले बनाएको स्वास्थ्य परिचय–पत्रमा लेखिएको सदस्यता नम्बरको आधारमा सम्बन्धित स्वास्थ्य संस्थाले बिरामीलाई उपचार गराउँदै आएका छन् । तर, सम्बन्धित बिमा सदस्यता भएका बिरामीले उपचारमा कति रकम खर्च भयो ? औषधि कति रकम बराबरको खरिद गरियो ? भन्ने उनीहरुले पत्ता समेत पाउँदैनन् । जसले गर्दा स्वास्थ्य बिमाका सदस्य ठगिँदै आएको घटना सार्वजनिक भएको छ ।

मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार गराउन गएका भद्रपुर नगरपालिका–६ निवासी ३७ बर्षीय विमित रोशन केवट यसरी ठगिएका हुन् । उपचार गराएको रकमभन्दा बढी रकम बिमा खाताबाट घटेको अस्पतालका फार्मेसी पसलका कर्मचारीले बताएपछि आफू ठगीमा परेको उनले बताए ।

पाँच जना परिवारको स्वास्थ्य बिमा गराएका केवट यसअघि पनि मेची अस्पतालमै नियमित उपचार गराउँदै आएका थिए । बिमा सदस्यता नम्बर ०९४४६१५४४ लिएर हात काटिएका उनी थप उपचारका लागि सोमबार मेची अस्पताल गएका थिए । यसअघि उपचार गराएर उनको परिवारको बिमा खातामा जम्मा २२ हजार २५० रुपैयाँ बाँकी थियो । सोही रकमको आधारमा उनले ओपीडीका चिकित्सकलाई देखाएर हातको उपचार गराएका थिए ।

पुर्जाको ओपीडी शुल्क २ सय रुपैयाँ र २ सय ३० रुपैयाँको औषधि गरी जम्मा ४ सय ३० रुपैयाँ खर्च भएको देखिन्छ । तर, फार्मेसीले उनको पुर्जामा १४ हजार ८ सय ८८ रुपैयाँ लेखिदिए । असार ५ गते २२ हजार २ सय ५० बाट एक्कासि १४ हजार ८ सय ८८ रुपैयाँमा रकम घटेर आएपछि आफू तीन छक्क परेको उनले बताए । उनले भने– ‘अस्पतालमा उपचार र औषधिमा गरी ४ सय ५० रुपैयाँ खर्च भएको छ, २२ हजार २ सय ५० बाट ४ सय ५० घट्नु पर्नेमा ७ हजार ३ सय ५२ रुपैयाँ घटेको भनी पूर्जामा लेखिएको छ ।’ अस्पतालकै लापरवाहीले आफू ठगीमा परेको उनको आरोप छ । उनका अनुसार आफ्नो रकम धेरै घटेपछि यस बिषयमा अस्पताल प्रशासनसँग बुझ्दा १६ हजार ९ सय १९ रुपैयाँ बिमा रकम बाँकी रहेको जानकारी दिए ।

‘एकैदिन दुईपटक फरक÷फरक रकम बिमा खातामा रहेको अस्पतालले जनाउँछ’– उनले भने– ‘यो कसको कमजोरी हो, अस्पताल फार्मेसी, कर्मचारी कि अस्पताल प्रशासनको ? यसरी जथाभावी रकम घटाउँदा सरकारले तोकेको ५० हजार उपचार नगराइकन सकिने रहेछ ।’ स्वास्थ्य बिमा बोर्ड प्रदेश १का इञ्चार्ज तुलसी पोखरेलले अस्पताल प्रशासन र बिरामीबीचकै समस्याले यस्तो हुन सक्ने बताए ।

‘बिरामीले बिमा कार्डको आधारमा खर्च गरिएको उपचार तथा औषधिहरु अस्पतालका कर्मचारीले कम्प्युटरमा गलत विवरण दाखिला गर्दा कहिले काहीं यस्तो समस्या आउँछ’– उनले भने– ‘मेची अस्पतालले ढिलो विवरण दाखिला गर्दा बिरामीहरु समस्यामा परेका हुन सक्छन् ।’ ‘बिरामीले अहिलेसम्म खर्च गरिएको सम्पूर्ण विवरण बिमा बोर्डको आइटी विभागमा हेरेपछि मात्र थाहा हुन्छ आफू ठगीमा परेको हो वा होइन भनेर– उनले भने । अहिले नै यस बारेमा केही भन्न नमिल्ने उनले बताए ।
अस्पतालले सक्कल

पुर्जा बिरामीलाई दिदैन

स्वास्थ्य बिमा सदस्यता भएका बिरामीहरु दैनिक रुपमा उपचार गराउन मेची अस्पताल गएका हुन्छन् । बिरामीले ओपीडी र आकस्मिक सेवाबाट उपचार गराई विभिन्न स्वास्थ्य परीक्षण र औषधि लिने गरेका छन् । तर, अस्पताल प्रशासनले चिकित्सकले लेखिदिएको सक्कल पुर्जा आफैले राखेर कार्वन भएको दुई वटा पुर्जा बिरामीलाई थमाउने गरेका छन् ।

चिकित्सकले जाँच र औषधिसहित लेखिएको कुरा कार्वन पुर्जा हेर्दा केही पनि बुझ्दैन । जसले गर्दा बिरामी आफै अन्यौलमा छन्, उपचार गराउँदा कति रकम खर्च भयो भन्ने बिषयमा । बिरामीको सक्कल पुर्जामा स्वास्थ्य बिमा बोर्डको स्टिकर टाँस गरिएको हुन्छ । कुनै पनि अस्पतालमा उपचार गराउन जाँद चिकित्सकले लेखेको सक्कल पुर्जा नै दिने चलन छ ।

यता स्वास्थ्य बिमा बोर्ड प्रदेश १का इञ्चार्ज पोखरेलले भने– सक्कल पुर्जाको फोटो खिचेर पठाउनुपर्ने हुन्छ, त्यसो नगरे बिमा रकम स्वीकृत नै हँुदैन, अस्पतालले किन सक्कल पुर्जा दिएन यस बिषयमा आफूलाई थाहा छैन ।
मेची अञ्चल अस्पतालका मेसु डा. पिताम्बर ठाकुरले भने– बिमा बोर्डले सक्कल पुर्जा देखाउनुपर्ने भनेकाले बिरामीसँग पुर्जा लिएका हाँै, यसलाई पनि व्यवस्थापन गर्नमा अस्पताल प्रशासन लागी परेको छ ।

प्रविधि जडान नहुदा समस्या

स्वास्थ्य बिमा बोर्डले लागू गरेको यस कार्यक्रमले बिरामीलाई फाइदा पुगेको छ । तर, मेडिकल सम्बन्धी केही जानकार नहुने गरीब तथा निम्न बर्गका बिरामीहरुले भने सास्ती खेप्नु परेको छ ।

स्वास्थ्य बिमा परिचयपत्र लिएर उपचार गराउन जाने बिरामीले उपचारको कति खर्च भयो र अब कति बाँकी छ भन्ने हेर्न समय लाग्ने भएको छ । बिमा बोर्डसँगै आवश्यक प्रविधि जिल्ला तथा प्रदेशस्तरमा नहँुदा समस्या उब्जिएको हो । कुनै पनि व्यक्तिले आज उपचार गराए उनको रकम घटेको भन्ने जानकारी पाउन दुई÷चार दिन पर्खिनु पर्ने हुन्छ । किनभने, सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीका कर्मचारीले कम्प्युटरमा रकम दाखिला नगदासम्म रकम घट्दैन । कुनै बिरामीको रकम थपघट भएमा सम्पूर्ण विवरण हेर्न प्रविधि यहाँ छैन ।

स्वास्थ्य बिमा गराएका सदस्यले तोकिएको अस्पताल, स्वास्थ्य चौकी वा बिमा बोर्डको कार्यालयमा गएर मात्र अब कति रकम बाँकी छ भन्ने थाह पाउन सक्छ । त्यसबाहेक यसअघि कुन÷कुन उपचार गराएको र कति रकम के–केमा खर्च भयो भन्ने हेर्न प्रविधि जिल्लागत बनेको नै छैन । यस्तो विवरण हेर्न स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयमा मात्र सम्भव रहेको बुझिएको छ ।

स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का इञ्चार्ज पोखरेलले भने– ‘यहाँ हामीलाई सम्पूर्ण विवरण हेर्न अधिकार दिएको छैन, यसका लागि केन्द्रीय कार्यालयको आइटी विभागसँग सहकार्य गर्नुपर्छ, यहाँ जम्मा कति रकम बाँकी छ, त्यही मात्र हेर्ने अधिकार दिएको छ ।’ जिल्लागत वा प्रदेशस्तरमै बिरामीको सम्पूर्ण विवरण हेर्न प्रविधि जडान भएको भए, यस्ता किसिमका समस्याहरु यहाँबाटै समाधान गर्न सहज हुन्थ्यो– उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)