Aamsanchar

सरकार ‘एकोहोरो’ भयो

Author Image
शनिवार, असार ३०, २०७५

झापा।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले यो सरकार ‘एकोहोरो’ भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन झापाले शुक्रवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘अघिल्ला सरकारले केही समयसम्म काम गरेर एकोहोरो भएको हामीले देखेका थियौं, तर दुई तिहाईको यो सरकार छिट्टै एकोहोरो भयो’– नेता सिटौलाले भने– ‘सरकार किन यसरी दुई तिहाई वहुमतमा चित्त बुझाउँदैन, किन सिङ्गै राज्यलाई क्याप्चर गर्न खोज्दैछ ?’

‘राज्यका सम्पूर्ण अंगहरुलाई यो सरकारले आफ्नै कब्जामा राखेर हिँड्ने छाँट्काँट हामीले देखेका छौं’– नेता सिटौलाले भने– ‘सरकारको अहिलेको गतिविधिले संवैधानिक मूल्य र मान्यतामाथि प्रहार गरेको छ । यसको परिणाम राजनीतिक दुर्घटना हुनसक्छ । यसलाई रोक्नका लागि राष्ट्रिय जागरणको आवश्यकता भएको बताउँदै नेता सिटौलाले भने– सबैको प्रयासले मात्र प्रजातन्त्रलाई बचाउन सकिन्छ, यसका लागि जनमत तयार गर्नुपर्छ, जनमत तयार गर्न राष्ट्रिय जागरणको आवश्यकता छ ।

स्वतन्त्रतापूर्वक बाच्न पाउनु नागरिकको अधिकार हो । यसको रक्षा गर्ने दायित्व सरकारको भएको नेता सिटौलाको भनाइ थियो । हरेक सरकारका गतिविधि सविधान र कानूनतः समीक्षा गरिनुपर्ने बताउँदै नेता सिटौलाले भने – ‘यो सरकारको पनि परीक्षा लिने बेला आएको छ ।’

जनताका लागि जनताले ल्याएको परिर्वतनको उपभोग जनताले गर्न नपाउने भए परिवर्तन के का लागि– उनले भने – ‘यो सरकार एकोहोरो भएर पार्टी मुखी भएको हो कि भन्ने भान हुन थालेको छ ।’

‘समृद्धि प्रत्येक नागरिकको सम्मानसँग गाँसिएको विषय हो । जनताको सम्मान नहुने, जनताको स्वतन्त्रताको रक्षा नहुने तर समृद्धि हुने भन्ने नारा कोरा कागज सरह हुन्छ । प्रत्येक नागरिकको अधिकार सहितको प्रगति भनेकै समृद्धि हो । नगरिकको अधिकारलाई अलग राखेर समृद्धिको कुरा गर्नु अनर्थ हुन्छ’– नेता सिटौलाले भने ।
प्रत्येक नागरिकको सम्मानसहितको अधिकार संविधानको परिकल्पना भएको बताउँदै सरकारलाई त्यो वाटोमा हिँड्न उनको सुझाव थियो ।

नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कांग्रेस नेता देउमान थेवे, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल लगायतको आतिथ्य थियो । पत्रकार सम्मेलनको सञ्चालन सचिव गिरिराज भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर