Aamsanchar

प्राकृतिक सम्पदाको दोहनबाट वातावरणीय समस्या

Author Image
बुधवार, साउन २, २०७५

जनकपुरधाम,

प्राकृतिक सम्पदाको अधिक दोहनका कारण प्रदेश नं २ मा वातावरणीय समस्या सघन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

नेपाल वातावरण पत्रकार समूहद्वारा आज यहाँ आयोजित सञ्चार बहस ः प्राथमिकतामा वातावरण विषयको कार्यक्रममा सहभागीहरूले चुरे विनाशले जल, वायु, कृषि र नदीमा नकारात्मक प्रभाव पारिहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । सडक, विमानस्थल, रेल्वे विस्तार, बसोबासको नाममा वन फाड्ने र रूख काट्ने जस्ता क्रियाकलापले पर्यावरणीय संकट गहिरिँदै उनीहरुको भनाइ थियो ।

सो अवसरमा प्रदेशका आन्तरिक मामिला र कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अधिक राजनीतिका कारण चुरे क्षेत्रको बिग्रँदो अवस्थाप्रति ध्यान नपुगेको बताउनुभयो । अनियन्त्रित बसोबास र खुला चरिचरनलाई रोक्नेतर्फ अग्रसर नभएमा वातावरणीय संकट बढ्दै जाने चिन्ता पनि उहाँले व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य रामसरोज यादवले वातावरणीय सन्तुलनका लागि चुरे क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य रामअशीष यादवले ८४ वटा स्थानीय तहमा वनविहीनको अवस्था रहेको बताउँदै चुरे संरक्षणका लागि इमानन्दारिता र क्रियाशीलताको जरूरी रहेको आँैल्याउनुभयो ।

अग्रज पत्रकार चन्द्रकिशोरले विकासको काम गर्दा वातावरणीय पक्षलाई ध्यान नदिँदा प्रदेश नं २ मा वन, नदी, जैविक विविधताप्रति नकारात्मक प्रभाव परिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रस्तावित निजगढ विमानस्थल निर्माणमा वन माफियाको चलखेलले भविष्यमा वातावरणीय संकट आउने सम्भावना देखिएको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं २ का अध्यक्ष सोमप्रसाद शर्माले बालुवा, गिट्टी निकासीमा माफियाकरण, केन्द्र सरकारको बक्र दृष्टिका कारण प्रदेशको वातावरणीय समस्यामा वृद्धि भएको चर्चा गर्दै भू–उपयोग नीति निर्माण हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

वन प्राविधिक सुरेश शर्मा र राम स्वार्थ साहले अव्यवस्थित बसोबास, अतिक्रमण, डढेलो, चरिचरन, राजनीतिक दलको भोट बैंक, ठूला आयोजनाको निर्माणले वन क्षेत्रको अवस्था बिग्रँदै गएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर