Aamsanchar

कृषि परियोजना सञ्चालनसँगै उत्साहित

Author Image
बिहिवार, साउन ३, २०७५

अर्जुनधारा।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालन भएको साना व्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रमबाट झापा अर्जुनधाराका कृषकहरु उत्साहित भएका छन् ।

आर्थिक वर्ष ०७३÷०७४बाट देशैभर शुरु भएको सो परियोजना अन्तर्गत सञ्चालन भएको पकेट विकास कार्यक्रमबाट प्राप्त भएको अनुदानले आफ्नो समूहलाई उत्साह मिलेको अर्जुनधारा–८स्थित मकैबाली पकेट सञ्चालन समितिका सहसचिव गोपी चौलागाईंले बताए ।

गत आर्थिक वर्ष ०७४÷०७५मा सो कार्यक्रममार्फत अर्जुनधारा नगर कृषि विकास शाखाले समितिलाई एउटा हाते ट्याक्टर र मकै छोडाउने मेसिन उपलब्ध गराएको थियो । कृषिमा आवश्यक प्रविधिको प्रयोग गरेसँगै उत्पादनमा पनि वृद्धि भएको सहसचिव चौलागाईंले बताए ।

त्यसैगरी अर्जुनधारा–९स्थित पूर्वाञ्चल मौरी पालन उद्योगका सञ्चालक भीम कडरियाले कृषकहरुको लागि प्रोत्साहनको रुपमा दिने यस प्रकारको अनुदानले कृषक तथा उद्यमीहरुलाई थप मद्दत पुगेको बताए । जिल्लामा परियोजना शुरु भएसँगे मौरी पालन पकेट सञ्चालन गर्दै आएको उनले सरकारलाई सो कार्यको लागि धन्यवाद दिए ।

अझै पनि जीवीकामुखी खेती चलिरहेको अवस्थामा त्यसको अन्त्यको लागि बाली तथा वस्तुहरुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै रोजगारीको सृजना तथा कृषकहरुको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले पकेट विकास कार्यक्रम सञ्चालन आवश्यक भएको नगर कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिए ।

पुँजीगत अनुदानमार्फत् मेसिनरी औजारको वितरण, सिञ्चाईं पूर्वाधार निर्माण, प्रारम्भिक प्रशोधन पूर्वाधारहरुको निर्माण, उत्पादन सामग्री सहयोग, प्राविधिक सहयोग, विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन हुने हुँदा सो कार्यक्रममा कृषकहरुको आकर्षण हुने प्रमुख भट्टराईले बताए ।

पुरानो दुई वटा अर्जुनधारा–९ स्थित पूर्वाञ्चल मौरी उद्योगले सञ्चालन गरेको मौरी पालन र अर्जुनधारा–११स्थित विश्वास कृषि फार्मले सञ्चालन गरेको माछा पालनसँगै थप चार वटासहित जम्मा ६ वटा पकेट विकास कार्यक्रम सञ्चालन भइरहेको छ । गतआर्थिक वर्षमा थप भएका नयाँ चारवटा पकेट विकास कार्यक्रमहरुमा अर्जुनधारा–५ र ११ मा दाजुभाइ कृषि फार्म र साकार कृषक समूहले तरकारीको, अर्जुनधारा–८स्थित हात्तीकिल्ला कृषक समूहले मकैको र वैदिक एग्रो प्लानेटले कागतीको कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

गतआर्थिक वर्षमा कृषि शाखाको बजेटबाट २२ लाख रुपैयाँ बराबरको प्राविधिक सहयोग सो पकेट विकास कार्यक्रम सञ्चालनमा खर्च भएको नगर कृषि विकास शाखाका प्रमुख भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर