Aamsanchar

सडक स्तरोन्नतिले आवागमनमा सहज

Author Image
बिहिवार, साउन ३, २०७५

सुरुङ्गा।

कनकाई नगरपालिका–८ शितलचौकदेखि कनकाई–९ टेकनारायणबाडी जोड्ने सडकको स्तरोन्नति गरिएको छ ।

साविक घैलाडुब्बा गाविस हँुदा सँधै उपेक्षामा रहने गरेको कनकाई नगरपालिका–८मा रहेको शितलीमार्गस्थित यस क्षेत्रकै पुरानो बाटोको स्तरोन्नति भएपछि गाउँलेलाई आवागमनमा सहजता भएको छ । आर्थिक वर्ष २०७४÷०७५मा कनकाई–८ शितलचौक दक्षिण हुँदै टेकनारायणबाडी जाने बाटो स्तरोन्नति गरिएपछि यस क्षेत्रका स्थानीयले हिलो बाटो हिँड्नुपर्ने बाध्यताबाट समेत मुक्ति पाएका छन् ।

कनकाई नगरपालिकाले गतआर्थिक वर्षमा १० लाख रुपैयाँ बाटोको स्तरोन्नतिका लागि बजेट विनियोजित गरेपछि बाटोले स्वरुप फेरेको हो । स्थानीयवासीबाट २ लाख रुपैयाँ रकम संकलन तथा कनकाई नगरपालिका–८ नम्बर वार्डबाट समेत थप २ लाख रुपैयाँ सहयोग गरेपछि १४ लाखको लागतमा सो ३ किलोमिटर सडकको स्तरोन्नति हुन सकेको हो ।

शितलीमार्ग हुँदै घैलाडुब्बा जोड्ने सो सडक यस कनकाई नगरपालिकाकै पुरानो बाटो मध्येमा पर्दछ । ०२१ सालको भूमिसुधारमा छुट्टाइएको सो बाटोको आवश्यक मर्मतसम्भारको अभावमा बाटो बर्खामा खाल्डाखुल्डी र हिलोले हिँड्न नसक्ने अवस्था थियो । बाटो निर्माणका लागि स्थानीय समाजसेवी डिल्ली कार्कीको अध्यक्षतामा बाटो निर्माण समिति गठन गरिएको थियो भने उक्त बाटोको स्तरोन्नतिबाट यस क्षेत्रका करिब १ हजार घरधुरी गाउँलेहरु प्रत्यक्ष लाभान्वित बनेका छन् ।

त्यसै गरी, कनकाई–८मा रहेको लक्ष्मीनारायण सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गरिएको छ । लक्ष्मीमार्ग कालोपत्रे भएपछि गाउँकै मुहार फेरिएको गाउँलेले दावी गरेका छन् । आर्थिक वर्ष २०७४÷०७५मा कनकाई नगरपालिकाबाट छुट्टिएको १० लाखमा थप १२ लाख जुटाई साझेदारीमा उक्त बाटो कालोपत्रे गरिएको हो । १० लाख रुपैँया बराबर नै रकम स्थानीय लाभान्वित उपभोक्ताबाट निर्माण समितिले संकलन गरिएपछि बाटो कालोपत्रे बाटो निर्माण सम्पन्न गर्न सम्भव भएको हो ।

बाटो कालोपत्रेका लागि नगरको वार्ड नम्बर ८ को वार्ड समितिले समेत थप २ लाख रुपैयाँ विनियोजित गरेको कनकाई नगरपालिका वार्डनम्बर ८का वार्डअध्यक्ष प्रेमबहादुर कटुवालले बताए । बाटो निर्माणपछि गाउँकै रुपरङ्ग फेरिएको तथा दैनिक बाटोमा उड्ने धुलोबाटसमेत मुक्ति मिलेको स्थानीय बताउँछन् ।

२०७४ साल पुस १ गतेबाट निर्माण सुरु गरेर जेठ १३ गते समापन गरिएको उक्त कालोपत्रे सडक निर्माणका लागि स्थानीय टेकबहादुर खत्रीको अध्यक्षतामा ९ सदस्यीय सडक निर्माण समिति गठन गरिएको थियो । सो समितिलाई स्थानीयले साथ सहयोग दिएपछि तोकिएकै समयमा नगरपालिकाको मापदण्ड अनुसार सडक निर्माण सकिएको हो ।

निर्माण समितिमा उपाध्यक्ष टीकादेवी न्यौपाने, सचिवमा राजु दाहाल, कोषाध्यक्षमा कमला संग्रौला र सदस्यहरुमा भीम थापा, मेदनीप्रसाद काफ्ले, शम्शेरबहादुर कटुवाल र राधिका ओली रहेका थिए । ५ मिटर चौडा रहेको यस सडक ३ सय मिटर क्षेत्र मात्रै भए पनि कालोपत्रे गरिएपछि सडक गाउँकै शोभा भएको छ ।

लक्ष्मीनारायण मन्दिर हुँदै सिमेन्ट फ्याक्ट्रीसम्म जोड्ने यस सडकको बाँकी भाग सामान्य ग्राभेल मात्रै रहेको छ, बाँकी खण्डलाई समेत क्रमशः पिच गर्दै लैजानुपर्ने स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर