Aamsanchar

ढलले बस्ती दुर्गन्धित

Author Image
सोमवार, साउन २१, २०७५

सल्लेरी। 

बजारको ढल पसेपछि सोलु दूधकुण्ड नगरपालिका– ४ फाप्लुको दलित बस्ती दुर्गन्धित भएको छ ।

फाप्लु बजारको घर÷घरबाट निस्केको ढल खोल्सामा मिसाउँदा बजारभन्दा तल रहेको दलित बस्तीमा पस्दा दुर्गन्धित भएको हो । ढल व्यवस्थापनका लागि स्थानीयवासीले पटक पटक माग गर्दैआएका छन् । मागबारे सुनुवाइ भएको छैन । स्थानीयवासी दिकुमार बराइलीले भन्नुभयो, “घर नजिकैको खोल्सामा दिसासहितको ढल छ, दुर्गन्धले बसिनसक्नु भएको छ ।” दुर्गन्धका कारण स्थानीयवासी बिरामी पर्ने गरेका उहाँले बताउनुभयो ।

सो बस्तीमा १६ दलित परिवारको बसोवास छ । बस्तीभन्दा माथि फाप्लु बजार रहेको छ । वडाध्यक्ष दावागेलु पाख्रिनको घर पनि सोही बजारमा रहेको छ । “दुर्गन्धले घरमा बस्नै मुश्किल छ,” स्थानीयवासी चेतनारायण विश्वकर्माले भन्नुभयो । घाम लागेका बेला दुर्गन्ध बढी फैलिने गरेको छ । खानेपानीको मुहान नजिकै ढल बग्छ । त्यही मुहानको पानी स्थानीयवासी प्रयोग गर्न बाध्य छन् ।

सोलु दूधकुण्ड नगरपालिका–४ का वडाध्यक्ष दावागेलु पाख्रिन ढल व्यवस्थापनका लागि रकम अभाव रहेको बताउनुहुन्छ ।

खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद शर्माले खानेपानी तथा सरसफाइ कार्यालय जिल्लामा नरहने भएकाले ढल व्यवस्थापनको काम नगरपालिकाले गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर