Aamsanchar

प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीधाममा चौसठ्ठी पञ्चमुखी शिवलिङ्ग स्थापना

Author Image
बिहिवार, साउन २४, २०७५

पर्वत  ।

पर्वतको प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा परिचित मोदीवेणीमा आन्तरिक तथा बाह्य पर्यटक र तीर्थालुलाई आकर्षण गर्न शिवलिङ्गको चौघेरो प्रतिस्थापन गरिएको छ ।

पवित्र कालीगण्डकी र मोदीवेणीको संगमस्थलमा आउने आन्तरिक धार्मिक पर्यटकलाई यस क्षेत्रको महत्व झल्काउन ६४ वटा पञ्चमुखी शिवलिङ्गको चौघेरो निर्माण गरिएको हो ।मोदीवेणी धार्मिक तथा पर्यटकीय विकास समितिले सो शिवलिङ्गको चौघेरो निर्माण गरेको हो । नृसिंह मन्दिर परिसरमा बनाइएको शिवलिङ्गमा स्थानीय एवं मोदीवेणी दर्शनका लागि आउने तीर्थालुको सहयोगमा करीब रु १५ लाख लगानीमा एकै मण्डपमा चौघेरो बनाइएको हो । अघिल्लो असोजमा गरिएको सामूहिक श्राद्धमा दाताले गरेको दानबाट चौघेरो बनाउन सम्भव भएको समितिका अध्यक्ष गोपालदास वैरागीले जानकारी दिनुभयो ।

६४ शिवलिङ्ग रु नौ लाख ६० हजारमा खरिद गरी ल्याइएको समिति सदस्य युवनाथ गौंडेल रेग्मीले बताउनुभयो । सोह्रश्राद्धमा दानबापत प्राप्त भएको रु ६० हजार, कुश्मा–५ को रु ५० हजार र अन्य सहयोगी तथा समितिले व्यहोर्ने गरी निर्माण सम्पन्न हुने चरणमा रहेको समितिले जनाएको छ ।कुश्मा–५ मा कालीगण्डकी र मोदीखोलाको संगमस्थलमा रहेको मोदीवेणीमा प्राकृतिक र धार्मिक दुवै प्रकारले आकर्षित बन्दै गएपछि समिति र स्थानीय सरकारको चासो बढ्न थालेको हो । समितिले दुई वर्षअघि निर्माण गरेको व्यवस्थित वृद्धाश्रममा अहिले २६ ज्येष्ठ नागरिकले आश्रय लिँदै आएका छन् । वृद्धाश्रम ०६६ देखि सञ्चालन भए पनि दुई वर्षअघि दाताको सहयोगमा आश्रम व्यवस्थित गरिएको हो ।मोदीवेणीमा साउने सोमबार, एकादशी, बालाचतुदर्शीलगायत पर्वमा टाढा–टाढाबाट तीर्थालु आउने गरेका छन् । मोदीवेणी बागलुङ, पर्वत र स्याङ्जाको समेत सामूहिक घाटको रूपमा रहेको छ । समितिले ०७३ मा १०८ गौमुखेधारा र ११२ तुलसीका मठ निर्माण गरेको छ । यहाँ चाडवाडमा महापुराण, यज्ञ, भजनकीर्तन र सामूहिक पूजाआजालगायत धार्मिक गतिविधि हुँदै आएका छन ।

दैनिकजसो करीब २०० धार्मिक पर्यटक पुग्ने मोदीवेणी जान कुश्मादेखि करीब एक किलोमिटर ढलान गरिएको सिँढीसहितको पैदलमार्ग बनाइएको छ । कालीगण्डकीमा स्नान गर्न, नृसिंह मन्दिर दर्शन र सामूहिक घाटसमेत रहेकाले पिण्डदान, तर्पण श्राद्ध र दाहसंस्कारका लागि विभिन्न ठाउँबाट सर्वसाधारण आउने गरेका छन् ।सोह्रश्राद्धमा मुक्तिनाथ पुग्न नसक्ने पितृ उद्धारका लागि मोदीवेणीमै पिण्डदान गरे मुक्ति पाउने विश्वास गर्छन् । नेपालकै अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुङ्गे पुल हेर्न आउने पर्यटक पनि पछिल्लो समय मोदीवेणीमा पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर