Aamsanchar

स्वास्थ्य बिमामा करीब छ हजार आबद्ध

Author Image
बिहिवार, साउन ३१, २०७५

बैतडी, 

सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन् ।

जिल्लामा एक हजार १७९ परिवारका पाँच हजार ८६१ जना स्वास्थ्य बिमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी बिष्णु जोशीले जानकारी दिनुभयो । हालसम्म यस कार्यक्रमबाट रु ३४ लाख २९ हजार २९० रकम सङ्कलन भएको उहाँले बताउनुभयो ।

अघिल्लो आवमा ६४३ परिवारले बिमा गरेकामा १७५ परिवारले मात्रै नवीकरण गरेका छन् । जिल्लामा विसं ०७३ पुस ७ देखि यो कार्यक्रम शुरु भएको हो ।
उपचारक्रममा भोग्नुपर्ने कठिनाइ, जनचेतनाको कमी, भौगोलिक बिकटता, स्वास्थ्य सेवा अभावलगायतका कारणले सोचेअनुरुपको काम हुन नसकेको उक्त बोर्डले जनाएको छ । जिल्लामा ८४ दर्ता सहयोगी परिचालित छन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत् स्वास्थ्य बिमा गराउन सकिन्छ ।

पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य रु ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आवद्ध हुन सक्नेछन् । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी भएमा रु एक लाखसम्मको सेवा पाइने प्रावधान छ ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका लगाउने, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा पैसाको अभावमा उपचार नपाउने गरीब, विपन्न नागरिकका लागि सरकारले विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बिमाको शुभारम्भ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर