‘शंकराचार्य’ हेमानन्द गिरीका पूर्वपति भन्छन्, ‘सन्तान भाग्यमा रहेनछ, गर्भ खेर गयो’

काठमाडौं । पहिलो महिला शंकराचार्य भनेर प्रचारित ‘सुश्री’ हेमानन्द गिरीका पूर्वपति कृष्ण ढकालले उनका बारे केही सनसनीपूर्ण जानकारी सार्वजनिक गरेका छन् । ढकालले आफू हेमाको पूर्वपति रहेको जानकारी दिइसकेपछि उनी सुश्री होइनन् भन्ने स्पष्ट भइसकेको छ । त्यसमाथि हेमाको बिहेको तस्बीर पनि सार्वजनिक भइसकेको छ । नेपालआजसँग कुराकानी गर्दै हेमाका पूर्वपति ढकालले भने, ‘५६ साल फागुन १८ गते विवाह भएको हो हाम्रो । ६७ सालमा सम्बन्ध विच्छेद गर्यौं ।’ हेमासँगको वैवाहिक जीवनकालको स्मरण गर्दै कृष्णले वर्णन उनकै शब्दमा यस्तो छः  ‘हेमासँग मेरो विवाह सामाजिक परम्पराअनुसार भएको हो । हाम्रो प्रेम विवाह होइन । म त्यो बेला मोरङको पथरी प्रहरी चौकीमा असई थिएँ । हाम्रो पहाड तेह्रथुम हो ।

प्रहरी चौकी नजिकै हेमा ढुंगानाको माटोले बनेको घर थियो । उनकी आमाले मेरो पिताजीलाई पहिलेदेखि चिन्नु हुन्थ्यो । हेमा र मेरो पहाड घर तेह्रथुम नै हो । तर हामीबीच तराईमा चिनजान भएको हो ।  मैले चिन्दा हेमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिइन् । तर मैले जानेसम्म उनको औपचारिक पढाई एसएलसी उत्तीर्ण पनि होइन । अहिले टिभी तिर संस्कृतका केही श्लोकहरु उनले भनेको सुन्दा हाँसो पनि लाग्छ । उनमा वेदवेदान्तको ज्ञान फिटिक्कै छैन । घोकेर वा कण्ठ पारेर दुई चार श्लोक त हामी पनि भन्न सक्छौं ।   मोरङको पथरी चौकीमा म असई भएर गएपछि हेमासँग चिनजान भयो । पारिवारिक हिसाबले नै हेमाको परिवार र मेरो परिवार आपसमा परिचित भएकोले नजिक हुन गाह्रो भएन । त्याे बेला म ठूलो ज्यान भएको बलिष्ठ व्यक्ति थिएँ, अहिले पनि ज्यान सानो त छैन । 

 आपसी चिनजान भएपछि बिहेको कुरा चल्यो । विवाहका लागि एक वरमा हुनु पर्ने सबै राम्रा विशेषता ममा थिए । हेमा पनि राजी भइन् । अनि हाम्रो विवाह पनि भयो ।  विवाह भएको पाँच वर्षपछि मेरो पेन्सन पाक्यो । त्यो बेलासम्म बढुवा भएर प्रहरी नायब निरीक्षक (सई) भइसकेको थिएँ ।   ‘प्रहरीको जागिरले मात्रै पुग्दैन, अब विदेश जानू’ भन्न थालिन् उनले । मैले पनि आधा तलबमा काम गर्नु भन्दा आएको अवसर गुमाउनु हुँदैन भन्ने सोचेँ । हामी पतिपत्नीको सल्लाहमै म नर्वे तिर लागे ।  

नर्वे जानुअघि मेरो पेन्सनपट्टामा १०–१२ वर्षका लागि हस्ताक्षर गरिदिएँ । त्यसरी हस्ताक्षर गरेपछि हेमाले मेरो पेन्सन बुझ्न पाउँथिन् । मेरो पेन्सन सबै उनको हातमा पर्थ्यो । यसो गर्नुको मतलव खाली चेकमा हस्ताक्षर गरे जस्तै हो । मैले त्यही गरेर परदेशीएँ ।   पाँच वर्षजति बसे त्यता । त्यो बेला मैले हेमाको माइतीघरको कमजोर स्थिति भएको कारण घर बनाइदिएँ । त्यो मेरो कर्तव्य पनि थियो । किनभने विवाहपछि दुई परिवार एक आपसमा जोडिन्छन् । मन मिलेर मैले त्यो दायित्व पूरा गरेको थिएँ । त्यसमा मलाई अहिले पनि खुसी नै लाग्छ । विस्मत छैन ।  हेमा सामान्य महिला होइनन् । उनी फरवार्ड प्रकृतिकी थिइन्, अहिले पनि छिन् ।

चानचुन कुरामा अल्झिने र सानो उद्देश्य बोकेर हिँडने मान्छे होइनन् । तर उनी अवसर छोप्न कुशल चाहिँ हुन् ।  म नर्वेबाट फर्केँ । नर्वेमा हुञ्जेल मैले कमाएको पैसा पठाउने भनेकै आफ्नै धर्मपत्नीलाई नै हो । त्यो क्रममा मैले हेमालाई कति रकम पठाएँ ठ्याक्कै भन्न त सक्दिनँ । मैले ऋण दिएको भए पो पाइ पाई जोडेर याद राख्नु  । श्रीमतीलाई पठाएको पैसा अरुले पनि खातामा लेखेर राख्दैनन् । मैले पनि राखिनँ । तर ६०–७० लाख जति त पठाएँ ।  मसँग रहँदै उनी योगामा लागिसकेकी थिइन् । बाबा रामदेव, आचार्य बालकृष्णले डाइरेक्ट हेमालाई कल गर्नुहुन्थ्यो । उनको पनि उहाँहरुसँग निकटता थियो । बाबा रामदेव र आचार्य बालकृष्णको द्वार हेमाकालागि सधै खुला रहन्छ ।  त्यति ठूला मानिसहरुसँग त्यस्तो सम्बन्ध बनाउन सक्नु, विश्वास जित्न सक्नु उनको क्षमता हो । जो कोहीले त्यस्तो गर्न सक्दैनन् ।  

प्रहरीको जागिर नछाड्दैको कुरा हो । त्यो बेला मेरो पोस्टिङ भैरहवामा थियो । पूर्वजाने आउने चलिरहन्थ्यो । भैरहवामा भएको बेला हेमा गर्भवती भइन् भन्ने थाहा पाएँ । सन्तानको आगमनपछि परिवारले पूर्णता पाउँछ । म पनि नयाँ सन्तानको आशमा बस्न थालेँ । तर एक दिन उनले फोन गरिन् । गर्भ टिकेन । पहिलो सन्तानको आश गरेर बसेको आमा होस वा बाबु उसलाई पीडा हुन्छ नै । म दुःखी भएँ । तर मैले दुःख नलुकाई उपाय थिएन किनभने हेमा त आमा हुन् । उनलाई अरु कति दुःख भयो होला । मैले उनलाई भने, ‘भै गयो, चिन्ता नलेऊ । हाम्रो भाग्यमा यस्तै रहेछ ।

नर्वेबाट फर्किएपछि विछोडमा रहेका पतिपत्नीको मिलन भएको थियो । जीवन थप सुखमय होला भन्ने मेरो ठहर थियो । तर परिस्थिति त्यस्तो भएन । उनी योगामा लागेर धेरैकी ‘माताजी’ बनिसकेकी थिइन् । उनले ‘म अब धार्मिक क्षेत्रमा प्रवेश गर्छु । तपाई अर्को विवाह गर्नू भन्न थालिन् ।’ 
म उनको चाहनाविपरीत जान सक्दिनँ थिए । उनको खुसीको लागि, उनको रक्षाका लागि सदैव तयार हुनेछु भनेर अग्नी साक्षी राखेर फेरा लिएकी धर्मपत्नीले आफ्नो खुसी नै आफूलाई छाड्नू पर्ने बताइन् । र अर्को विवाह गर्नू भनेकी थिइन् ।  अर्को विवाह गर्नका लागि पहिले सम्बन्धविच्छेद आवश्यक थियो ।

हामी जिल्ला अदालत काठमाडौं गएर ६७ सालमा पारपाचुके गर्यौं । उनले दायर गरेको अंशसहितको मुद्दामा सम्पत्तिको दावी थियो । जसअनुसार बुढानिलकण्ठमा रहेको जमिन, पथरीको घर आदि मलाई चाहिन्छ भनिन् उनले । मैले सम्पत्तिको हिसाब गर्दा नर्वे हुँदा पठाएको पैसा पनि जोडौं भने । उनले नर्वेबाट मैले पैसा नपठाएको बताइन् । नर्वेबाट पठाएको पैसा पनि मेरै हुनुपर्छ भनेको भए पनि म दिन्थे । तर पठाएको पैसालाई पनि पठाएको छैन भनेपछि मेरो मन चूँडियो ।

उनले जे जे दावी गरिन्, सबै दिएँ । अनि सम्बन्धविच्छेदको कागजमा पनि ल्याप्चे लगाइदिएँ ।   हेमाले मलाई अगाडि बढाउन एक धर्मपत्नीका रुपमा सहयोग नै गरिन् । दशा ग्रहले हामी लामो समय एक हुन सकेनौं । त्यसमा अब कुनै टिप्पणी गर्न आवश्यक पनि छैन । किनभने मैले दोस्रो विवाह गरिसकेँ । एउटा छोरो पनि छ । मेरो सानो र सुखी परिवार छ । आफूलाई पुग्ने सम्पत्ति पनि छ । धेरै ठूलो सपना नभएकोले म खुसी छु । म अहिले सुनसरीको दुहबी नगरपालिकामा बस्छु । मेरो घर यहिँ छ । 

हेमालाई चिन्ने मामिलामा मबाट एउटा कुरा गल्ति भएको जस्तो महशुस हुन्छ । त्यो के भने उनी अवसर छोप्ने मान्छे हुन्, त्यो कुरा मैले धेरै हेक्का राखिनँ । उनी काम लागूञ्जेल कपडा होस वा मान्छे प्रयोग गर्छिन् । काम सकिएपछि फालिदिन्छन् । तत्काल काम नलाग्ने मान्छेलाई कार्यालयमा फाइल थन्क्याएजस्तो गरी थन्क्याइदिन्छिन् । काम लाग्ने भयो भने फाइल खोल्छिन् । कामै परेन भने मित्र होस वा आफन्त, वस्तु होस वा मान्छे तिनलाई कहिले मतलव राख्दिनन् ।

साभार : नेपाल आज

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com