Aamsanchar

कहाँ छन् विप्लव ?

Author Image
शनिवार, भदौ २, २०७५

काठमाडौं । 

विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ। सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। हाल विप्लवलगायत उनको नेतृत्वको नेकपाका केन्द्रीय नेताहरू भूमिगत छन्।

सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्नेबारे आफूलाई जानकारी नभएको बताए। यसै क्रममा केही दिनअघि प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई चन्दा असुली गरेको आरोपमा काठमाडौंस्थित टौदहबाट पक्राउ गरेको थियो। विशेष सूचनाका आधारमा प्रहरीले प्रकाण्डलाई पक्राउ गरी अनुसन्धान गरेको हो। आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

सो पार्टीका प्रवक्ता प्रकाण्डलाई शुक्रबार सर्वोच्चबाट छुट्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसरले सर्वोच्चको गेट अगाडिबाटै पुनः पक्राउ गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार राजन भट्टराईको रोहबरमा छाड्न आदेश भएको हो।

सर्वोच्चको आदेशपश्चात छुटेलगत्तै काभ्रेको एनसेल टावर जलाएको अभियोगमा प्रहरीले नेकपाका प्रवक्ता प्रकाण्डलाई पुनः पक्राउ गरेको जनाएको छ। छुट्ने भएपछि विप्लवका कार्यकर्ताको सर्वोच्चमा घुइँचो लागेको थियो।
प्रकाण्डलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै उहाँका छोरा नरेन्द्रबहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतबार दायर गर्नुभएको थियो।

आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो। चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको थियो। विश्वकर्मा माथि ७ करोड चन्दा असुलेको आरोप छ। विप्लव नेतृत्वको नेकपाले विनासर्त रिहा गर्न माग गरेको छ। विप्लवनिकट नेकपाका नेता कलम बडुवालले पार्टीको विषयलाई व्यक्तिकरण गरिएको भन्दै उहाँलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। विप्लव नेतृत्वको नेकपाले एकीकृत जनक्रान्तिलाई मूल सिद्धान्त अवलम्बन गर्दै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर