Aamsanchar

आयल निगमको जग्गा फुकुवाका लागि आग्रह

Author Image
आइतवार, भदौ ३, २०७५

काठमाडौँ, 

पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद प्रक्रियामै विवाद भई रोक्का भएको नेपाल आयल निगमको जग्गा फुकुवाका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदीय समितिसमक्ष आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “निगमले किनेका जग्गा फुकुवा गर्नुप¥यो, पेट्रोलियम पदार्थ भण्डारणका लागि समस्या छ ।”

पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्प र ओसार–पोसार गर्ने ट्याङकरका एकाधिकार अन्त्य गरिने दृढता व्यक्त गर्दै मन्त्री यादवले ट्याङकर र पम्प सञ्चालनका लागि अनुमति लिने कार्यलाई पारदर्शी बनाउन आवश्यक परेमा गोलाप्रथाका आधारमा छिनोफानो गरिने जानकारी दिनुभयो ।

उद्योग क्षेत्रमा धेरै लामो समयदेखिको बेथिति हटाएर थिति बसाल्ने प्रयास भइरहेको बताउँदै उहाँले अरूलाई काम गर्न नदिने मनोवृत्ति भएका कर्मचारीलाई अब कारबाहीको दायरामा ल्याउने अठोट व्यक्त गर्नुभयो । उद्योग सञ्चालनको विषय कृषिजस्तो तत्कालै परिणाम दिन नसक्ने चर्चा गर्दै मन्त्री यादवले भन्नुभयो, “संसदीय समितिले ग्याँस, पेट्रोल डिपो सञ्चालन गर्न कसलाई दिने र कसलाई नदिने भन्दा पनि विधि र प्रक्रिया पुगे नपुगेको हेर्न उचित हुनेछ ।”

यसअघि बैठकमा समितिका सदस्यहरूले उक्त निगममा भएको घोटला, जग्गा खरिदमा भएको अनियमितता, ट्याङकर र पम्प सञ्चालनमा भएको एकाधिकारलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर