Aamsanchar

भक्तपुरका विभिन्न कुण्डमा मेला

Author Image
आइतवार, भदौ १०, २०७५

भक्तपुर। 

जनै पूर्णिमाको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न कुण्डमा स्नान गर्ने र महादेवको दर्शन गर्नेको घुइँचो लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो ।

गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्री, लामा गुरु, स्थानीयसमुदायलगायत काठमाडौँ उपत्यकाबासी र काभ्रेको विभिन्न स्थानबाट मेला भर्न आउने गर्दछन् । विशेषगरी तामाङ र लामा गुरु तथा झाँक्री परम्परागत भेषभूषामा सजिएर डम्फु बजाउँदै नाँच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको संस्कृतिकर्मी बताउँछन् । जनै पूर्णिमाको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।

लोककथनअनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाइँकुण्ड जाने क्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासका आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “गोसाइँकुण्ड जान नसक्ने भक्तजनले यो कुण्डमा स्नान गरे गोसाइँकुण्डमा स्नान गरे सरह नै पूण्य प्राप्त हुने जनविश्वास रहेको छ ।”

त्यसैगरी गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह)मा पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको छ । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवार स्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गए सरह पूण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

आजको दिन कालदहमा स्नान गरी महादेवको पूजाअर्चना गरे सुख, शान्ति र पूण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता रहेको छ । कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)