भगवान् श्रीकृष्ण साँच्चिकै थिए कि मिथक मात्र हुन् ?

अर्जुन शर्मा,

वेदकालीन साहित्यमा कृष्णसम्बन्धी विभिन्न प्रसङ्ग पढ्न पाइन्छ । ती प्रसङ्ग एकअर्काका यति विरोधी छन् कि कृष्ण भन्ने व्यक्ति साँच्चिकै थिए कि मिथक मात्र हुन् भन्नेमा शङ्का उत्पन्न हुन्छ । ऋग्वेदमा श्रीकृष्णको उल्लेख पाइन्छ र त्यसमा उनी त्यस बेलाका शक्तिशाली आर्य देवता इन्द्रका विरोधमा लड्ने कालो वर्णका अनार्य समूहको प्रतिनिधिका रुपमा देखिएका छन्।

महाभारत पढ्न थाल्नुभयो भने कृष्ण निकै ढिला अर्थात आदि–पर्व सकिनै लाग्दा अनि द्रौपदीको स्वयंवरका बेला प्रवेश गर्छन् । यो पात्र ऋग्वेद, हरिवंश पुराण, भागवत र भगवद्गीताका पात्रभन्दा एकदमै भिन्न छ। सम्पूर्ण महाभारतमा कृष्णको जुन चरित्र प्रस्तुत गरिएको छ, त्यसमा खाण्डव–वन दहन, जरासन्धको हत्या, शिशुपालको हत्या, पाण्डवका तर्फबाट मध्यस्थता, पाण्डवलाई युद्धका लागि उक्साउने र प्रत्यक्ष युद्धमा पाण्डवलाई विजय, राज्य तथा सम्पत्ति दिलाउन गरिएका प्रयत्न आदि प्रमुख पक्ष छन्। यी सबैमा कृष्ण अर्जुनका प्रिय साथीका रुपमा बढी आकर्षक लाग्छन् ।

उनी पाण्डवका मार्गदर्शक तथा युद्धको प्रमुख कूटनीतिक छन् । मनको गहिराइबाट उनले प्रेम गरेका थिए र अनेक प्रसंगमा आनन्दपूर्वक नृत्य पनि उनले गरेका थिए । कयौँ प्रसंगमा उनलाई रिस पनि उठ्थ्यो र आँखा राताराता हुन्थे । केही प्रसंगमा उनी दुःखबाट व्यथित भएर रोएका पनि छन् । कृष्णमा सबै किसिमका मानवीय प्रवृत्तिहरु देखिन्छन् ।

मनुष्यका रुपमा हेर्ने हो भने उनी महाभारतको पात्र उचित पात्रका रुपमा बुझ्न सकिन्छ। सम्पूर्ण महाभारतमा कृष्णको जुन चरित्र प्रस्तुत गरिएको छ, त्यसमा खाण्डव–वन दहन, जरासन्धको हत्या, शिशुपालको हत्या, पाण्डवका तर्फबाट मध्यस्थता, पाण्डवलाई युद्धका लागि उक्साउने र प्रत्यक्ष युद्धमा पाण्डवलाई विजय, राज्य तथा सम्पत्ति दिलाउन गरिएका प्रयत्न आदि प्रमुख पक्ष छन्।

दिनसम्म चल्ने महाभारतको युद्धका बारेमा सबैलाई थाहै छ। हामी यहाँ महाभारतको आधारमा कृष्णचरित्र बुझ्ने प्रयास गरिरहेका छौँ । यस कारण उनको चरित्रसँग सम्बन्धित प्रमुख घटनामाथि नै विचार गर्नेछौँ ।

कृष्णमा रहेको प्रेमी, मित्र, राजनीतिज्ञ, कूटनीतिज्ञ आदि विभिन्न मानवीय रुप खोज्ने नै यसको उद्देश्य हो । यस्ता विभिन्न रुप धारण गर्ने कृष्ण तत्कालीन समाज र राज्य व्यवस्थामा जीवन जिउने मनुष्यको प्रतिनिधि थिए उनी । यो व्यासको कल्पना थियो कि अरू नै केही भन्ने विवादतर्फ हामी नजाऔँ । यसको आवश्यकता पनि छैन । बहुतायतले महाभारतका कृष्णलाई कसरी पढेका छन् र एउटा चित्र मनमा गढेका छन्, त्यसलाई मात्र यहाँ आधार मानिएको छ । हामीले के बुझ्न जरुरी छ भने महाभारतका पात्र श्रीकृष्णको नेपालीमाझ जुन बृहत् र विराट प्रभाव छ, त्यसमाथि मात्र हामीले चर्चा गर्न खोजेका छौं।

महाभारत युद्धमा भीष्म कौरवका सेनापति थिए । युद्धको क्लिष्टता सेनापतिको क्षमतामा आधारित हुन्छ । भीष्म नमरी युद्धलाई निर्णायक बनाउन सकिँदैनथ्यो । त्यसैले कृष्णले अर्जुनलाई भीष्मको हत्या गर्ने आदेश दिन्छन् तर उनले कसरी मार्न सक्छन् र ? भीष्म त अर्जुनका लागि सम्माननीय व्यक्ति थिए । युद्ध लड्ने कुनै जोश अर्जुनमा नदेखिएकाले अर्जुनसँग कृष्ण रिसाउँछन् र आफैँ भीष्मको हत्या गर्न उद्दत हुन्छन् । यो देखेपछि बल्ल अर्जुन भीष्मलाई बाण हान्छन् तर नमर्ने गरी।

रथबाट तल, वाणैवाणले घेरिएपछि भीष्म हलचल गर्न नसक्ने हुन्छन् । यस्तो अवस्थामा अर्जुनका गुरु द्रोणाचार्य सेनापति बन्छन् । कौरव–पाण्डवबीचको वास्तविक लडाइँ त यसपछि सुरु हुन्छ । युद्धमा द्रोणले जुन किसिमका व्यूहरचना गर्छन्, त्यो देखेर पाण्डव हतप्रभ नै हुन्छन् । यसपछि अब द्रोणलाई कसरी रोक्ने भन्ने ठूलो बहस हुन थाल्छ । कृष्णलाई लाग्छ, धर्म मार्गबाट द्रोणलाई मार्न बडो कठिन छ । महाभारत–युद्धमा कृष्णको सबैभन्दा महŒवपूर्ण भूमिका यहीँनेर छ । कृष्णले पाण्डवहरुलाई युद्धका बेलामा धर्म छोड्ने सल्लाह दिन्छन् । उनले सल्लाह मात्र दिँदैनन्, त्यसलाई कार्यान्वयन गराइछाड्छन्।

यही कार्यान्वयनको बलका कारण द्रोणाचार्यका छोरा अश्वत्थामा युद्धमा मारिए भन्ने हल्ला फिँजाइयो । हल्लापछि द्रोणाचार्यको मन व्याकुल भयो, लड्न सकेनन् । उनी कमजोर भएको यही अवस्थामा ध्रृष्टद्युम्नले टाउको काटिदिन्छन् । कर्णलाई पनि नियम विपरीत मार्नका लागि अर्जुनलाई कृष्णले उक्साउँछन् । ठीक यही कुरा भीमले दुर्योधन हत्याका क्रममा पनि नियम विपरीत कार्य गराउँछन्।

नियमविपरीत आफूले यी सबैको हत्या गर्नुपर्दा पाण्डवहरु शोकमग्न थिए । यस्तो शोकले त अघि बढ्दैन भन्ने लागेपछि कृष्णले कडा स्वरमा भन्छन्, ‘हे पाण्डव, दुर्योधन, भीष्म, द्रोण, कर्ण र भूरिश्रवा आदि पराक्रमी मरारथिहरुको युद्धभूमिमा सिधासिधा मार्न असम्भव थियो । दुर्योधनजस्ता राजालाई धर्मयुद्धले मार्न कुनै तरिकाबाट पनि सम्भव थिएन । भीम र अन्य धनुर्धर महारथि त अपराजेय नै थिए । त्यसैले मैले अनेक युक्तिबाट उनीहरुलाई मार्नुप¥यो । मैले तिमीहरुकै हितका लागि गरेको हो । युद्ध तिमीहरुले जित भन्ने उद्देश्यले नै यस्तो गरेको हो ।

दुर्योधनले जुन विचार लिएर आफू बाँचिरहेका थिए, जुन मूल्यलाई उनले स्वीकारेका थिए र जुन वीरताले त्यसलाई कार्यान्वयन गरेका थिए, उनका कुरा सही र योग्य थियो । कृष्णले यो कुरा यहाँ इमान्दारीपूर्वक स्वीकारेका छन् । ढिलै किन नहोस्, कृष्णले त्यो इमानदारी देखाएका छन् र यही इमानदारीले कृष्णलाई श्रेष्ठता सिद्ध गर्छ । उनको यो मानवीय सीमाले नै उनलाई अरुभन्दा पृथक बनाएको छ। कृष्णको यही पात्र अनेक ठाउँमा रहस्यमय र गूढ लाग्छ । त्यसैले त यी मानवीय सीमालाई बुद्धि र कूटनीतिको सहयोगले भेदन गर्ने शक्ति कृष्णले आर्जित गरेका थिए । यसैले पनि महाभारतका अन्य पात्रको तुलनामा श्रीकृष्णको व्यक्तित्व अझै बढी वैशिष्ट्यपूर्ण लाग्छ । महाभारतको अन्य पात्रहरुमा यस किसिमको चरित्र वा विशेषता देखिँदैन। कृष्णले यस युद्धमा नयाँ जीवन, नयाँ धर्म, नयाँ मूल्य र नयाँ नीति गढ्ने प्रयास गरेका छन् । पुराना नीति, नियमलाई उनी भत्काउन तयार छन् ।

महाभारत युद्धमा देखिने कतिपय पात्रहरु सिद्धान्तका कुरा गर्छन् तर काम गर्दैनन् । सिद्धान्तबाटै जित्न सकिन्न भन्ने थाहा हुँदाहुँदै त्यसैको वकालत गरिरहेका हुन्छन् । त्यसमा कृष्णले सिद्धान्तमा अडिएर, बोलेर मात्र काम पूरा हुँदैन भन्ने देखाउन खोजेका छन् । केही पात्र आफू अयोग्य छन् र पनि सिद्धान्तका बलमा आफू श्रेष्ठ देखिन चाहन्छन् । केही पात्र आफैँभित्र कुण्ठित छन् र सबै कुराका लागि आफैँलाई दोष दिन्छन् । सबै कुरा ईश्वरमाथि छाडेर परिणाम कुरिरहेका छन् । महाभारतको युद्धपछि जुन नयाँ राज्य जन्मन्छ, जुन नयाँ थिति आउनेवाला छ, त्यसका लागि पनि उनीहरु तयार छैनन्।

कृष्ण र दुर्योधन मनुष्य विकासक्रममा इतिहासको एक विशिष्ट मोडमा जन्मिएका जुम्ल्याहाजस्ता देखिन्छन् । कृष्णलाई राज्य चाहिएको थियो तर आफ्ना लागि होइन । आफ्नी फुपूका छोराहरुका लागि चाहिएको थियो । उनीहरुको सुरक्षा र सम्मानका लागि राज्य चाहिएको थियो । दुर्योधनलाई राज्य आफ्ना लागि चाहिएको थियो, आफ्ना भाइहरुको रजगजलाई जारी राख्न चाहिएको थियो । दुर्याेधन यो युद्धपछि सम्राट हुँदै थियो । कृष्ण चतुर थिए, बुद्धिमान र कूटनीतिज्ञ थिए । दुर्योधन सिधा र जण्ड स्वभावको थियो । ऊ सिधासिधा आफ्नो उद्देश्य मात्र देख्थ्यो । कृष्णमा विवेक र कूटनीति बढी थियो ।

यसका कारण उनी कम बोल्थे तर अर्थपूर्ण कुरा मात्र बोल्थे । महाभारतमा उनको चरित्र यति राजनीतिग्रस्त छ कि त्यसमा रहेको मनुष्यता पनि यान्त्रिक लाग्छ । घटोत्कचले जब कर्णलाई मा¥यो, कृष्ण खुसीले नाच्न थाल्छन् । किन ? किनभने जुन वाणले कर्णले अर्जुनलाई मार्न लागेको थियो, त्यो एक मात्र बाण कर्णले घटोत्कचलाई मार्नका लागि उपयोग गर्छन् । अब अर्जुनको खतरा टरिसकेको थियो । उनी नाच्नु र आनन्दित हुनु एउटा साथीलाई बचाउनुको आनन्द थियो । जयद्रथले अभिमन्युको मृत्युको खबर सुनाउँदा कृष्णकी बहिनी सुभद्रा शोकले रुन थालिन् । उनी कृष्णछेउ आउँछिन् र शोक गर्न थाल्छिन् । कृष्णले सुभद्रालाई सम्झाउँदै भन्छन्, ‘नरो सुभद्रा, क्षत्री युद्धमा नै मर्नुपर्छ र जो युद्धभूमिमा मर्छ, उसले स्वर्गमा ठाउँ पाउँछ । तेरो छोरो वीरपुरुषले झैँ मृत्युवरण गरेको छ र उसले स्वर्ग प्राप्त गरेको छ । अब तँ जा, भोलि तैँले एउटा खुसीको खबर सुन्नेछेस् । भोलि तेरो छोरो मार्ने जयद्रथ मर्दैछ । त्यस खबरले तँलाई पक्कै शान्ति दिनेछ।’

भीष्मले कृष्णलाई असाध्य मन पराउँथे । भीष्मले दुर्योधनलाई सधैँ कृष्णको महत्व बुझाइरहेका हुन्थे । तर तिनै भीष्मलाई अर्जुनले मारेन भनेर आफैँ मार्न कम्मर कसिरहेका थिए । कृष्ण यो युद्ध जित्न कतिसम्म लालायित थिए भने उनले कर्णलाई पनि पाण्डव पक्षमा तान्न ठूलो प्रयत्न गरेका थिए । यस्ता अनेकौँ काम कृष्णले गरेका छन्, जुन उनीबाट अपेक्षा गरिँदैन। तर उनले यी काम दुर्योधनको आडमा गरेका छन्। दुर्योधन आफ्नो सही उद्देश्य पनि गलत र अरूलाई बिझाउने तरिकाले व्यक्त गर्छन् । कृष्ण गलत कुरा पनि सबैलाई सम्झाइबुझाइ, उनीहरुको सहमति लिएर गर्छन्।

त्यसैले दुर्योधन हामीलाई मन पर्दैन, कृष्ण मन पर्छन् । दुर्योधनले आफ्ना प्रत्येक कर्मलाई व्यावहारिक तरिकाले गरिरहेका थिए, कृष्णले प्रत्येक कार्यलाई धर्म र नीतिअनुसार समर्थन लिइरहेका थिए। दुवैले आफ्ना कुरा ठीक हुन् भनिरहेका थिए तर तिनलाई वैध बनाउनका लागि बेग्लाबेग्लै पद्धति अपनाइरहेका थिए। दुर्योधनको भाषा बिझाउने हुन्थ्यो, कृष्णको भाषा दर्शनको भाषा र मिठासपूर्ण हुन्थ्यो । मानिसले भाषालाई कसरी प्रयोग गर्छ, त्यसले उसको व्यक्तित्व र प्रभाव प्रकट हुन्छ । दुर्योधनमा यो कला थिएन । कृष्णमा भाषाप्रति असाधारण अधिकार थियो ।

दुर्योधन र कृष्ण वास्तवमा एकै सिक्काका दुई पाटा थिए । यसका बाबजुद दुर्योधन तिरस्कारयोग्य बन्यो र कृष्ण आदरणीय। कृष्णको वाक चातुर्यको उदाहरण युद्ध सकिने बेलामा देखिन्छ । हुन्छ के भने महाभारत युद्धमा सबै महायोद्धालाई पाण्डवहरुले अधर्मपूर्वक मार्छन् र युद्ध जित्ने संघारमा पुग्छन् । युद्ध जित्नै लाग्दा पाण्डवहरु भने अधर्मको पीडाले विषादमा डुब्न पुग्छन् । कृष्णले पछि यो देखेपछि भन्छन्, ‘धर्म–अधर्म, नीति–अनीति, सदाचार–दुराचारजस्ता कुरामा ध्यान दिनुको साटो यथार्थ के हो भन्नेमा ध्यान दिनुपर्छ ।’

यथार्थ अर्थात् उद्देश्य अर्थात् कर्म। कर्ममा कृष्णले दिएको जोडका कारण पनि यत्तिका सताब्दी बितिसक्दा पनि कृष्णको दर्शनको महत्व रहिरहेको छ।महाभारत यति रसपूर्ण काव्य छ कि त्यसका अघिल्तिर वेदका ऋचा निरस लाग्न थाले। उपनिषद्कालीन ऋषिका आत्मचिन्तन अव्यावहारिक लाग्न थाल्यो। जसैजसै राज्य र जनसंख्याको वृद्धि हुन थाल्यो, कृष्णको उपदेश अझ बढी व्यावहारिक देखिन थाल्यो किनभने राज्य, सम्पत्ति र धन प्राप्तिका लागि कृष्णको जस्तो उपयोगी नीति अरु कसैको थिएन । त्यसैले कृष्णको नीतिका अगाडि वेदकालीन नीति र रीति अव्यावहारिक देखिन थाल्यो । त्यसैले यत्तिका समय बितिसक्दा पनि कृष्ण कहिल्यै सन्दर्भहीन छैनन्, कहिल्यै उनी ओझेल परेनन्, बरु समयक्रममा अझ प्रभाव फैलाउन सफल छन्।

यस्ता विलक्षण पुरुषले पाण्डवका लागि विजय सुनिश्चित गरिदिए, राज्य र धन फिर्ता गराए। के उनी खुसी हुन सके त ? कृष्णको उत्तराद्र्धको जीवन कस्तो भयो ? उनका सबै किसिमका विजय, सबै किसिमका सफलताको उनले पूर्ण रुपमा उपभोग गर्न सकेनन्। युद्धमा पाण्डवतर्फ जम्मा १२ जना बाँचे । पाण्डवका सबै सन्तान, जो भविष्यमा साम्राज्य हाँक्न योग्य थिए, कोही पनि बाँँचेनन्। कृष्णको कुलका पनि सबैको सर्वनाश भयो । महाभारत युद्ध सही थियो कि थिएन भन्ने विवादमा सात्यकी र कृतवर्माबीच भनाभन भयो । भनाभन गम्भीर कुटाकुटमा परिणत भयो । अन्ततः यही विवादले यादव कुलको विनाश भयो । यो देखेर कृष्ण दुःखी भए । उनी ध्यानमग्न रहेका बेला एक सिकारीको बाणका कारण कृष्णको मृत्यु भयो।

उता हस्तिनापुरमा के भयो ? विदुर, कुन्ती, धृतराष्ट्र र गान्धारी बाँकी जीवन बिताउन भनेर वनमा गए । विदुर यतिञ्जेल रुग्ण भइसकेका थिए र उनको दयनीय अवस्थामा मृत्यु भयो । कुन्ती, गान्धारी र धृतराष्ट्रले जङ्गलको डढेलोमा जलेर मर्नुपर्यो। पाण्डवको एक मात्र उत्तराधिकारी भनेको उत्तराको सन्तान परिक्षित रह्यो । उसलाई पाण्डवहरुले शासन जिम्मा लगाए । परिक्षितलाई खाण्डव वनको मूल स्वामी तक्षक सर्पले टोकी मारिदियो । यसपछि परिक्षितको छोरो जन्मेजय राजा भए । उनी ज्यादै कमजोर राजासावित भए र निरन्तर उनको राज्यमाथि आक्रमण भइरह्यो । निरन्तरको प्रतिशोध र हिंसाचक्रका कारण भयभित जीवन उनले बाँच्नुपर्यो।

त्यसपछि त्यहाँ नयाँ–नयाँ राज्य बन्न थाले, नयाँ–नयाँ राजा देखापरे, जो जन्मेजयभन्दा सशक्त थिए। तिनका कारण जन्मेजयले राज्य नै त्याग्नुपर्यो। यसका कारण महाभारतकालका सबै क्षत्रीय आफ्नो रक्षाका लागि तितरबितर भए। पुरानो स्थिति, पुरानो व्यवस्था, पुरानो धर्म र नीति नयाँ परिस्थितिका अघिल्तिर कमजोर सावित हुन थाल्यो । बिस्तारै त्यो नष्ट हुँदै जान थाल्यो । महाभारत केवल एउटा राजकुलको अन्त्यको घटना बताउने इतिहासकाव्य मात्र होइन, यो त मानव विकासक्रममा दीर्घकालसम्म अस्तित्वमा रहेको कुलसमाजको युगको अन्त्यसम्मको घटना बताउने इतिहासकाव्य हो । त्यसैले त यसलाई युगान्त भनिएको हो ।-पूर्वेली न्यूजबाट

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com