Aamsanchar

राष्ट्रिय झण्डा फहराइयो

Author Image
बुधवार, असोज ३, २०७५

काठमाडौँ, 

संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ ।

तत्कालीन नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौँको माइतीघर मण्डलमा १०० मिटर लामो झण्डोत्तलन गरेका हुन् ।

योग्य तथा दक्ष युवा विदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको भन्दै संगठनका नेताले रोजगारमुखी नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले अघि सारेकाले त्यसलाई सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै संविधानमा कहीँ कतै कमजोरी भएमा आपसी छलफल तथा संवाद्को माध्यमबाट हल गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जनताको अधिकार लिपिबद्ध भएको दिनमा मुलुकलाई समृद्धिको बाटामा अघि लानुपर्ने बताउनुभयो । अध्यक्ष पौडेलले हजारौंको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्न र गराउन सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, जनतासमेत लाग्नुपर्नेमा जोड दिनुभयो ।

वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले वर्तमान संविधानले महिला, दलित, अल्पसङ्ख्यक, पिछडिएको वर्गलगायत सम्पूर्ण नेपालीको भावनालाई समेटेको उल्लेख गर्दै संविधानमाथि गलत प्रचार गरी अनावश्यक भ्रम फैलाउन नहुने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर