Aamsanchar

कनकाई नगरले मनायो संविधान दिवस

Author Image
बुधवार, असोज ३, २०७५

सुरुङ्गा, असोज ३ । कनकाई नगरपालिकाको आयोजनामा राष्ट्रिय दिवसको रुपमा संविधान दिवस मनाइएको छ ।
कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा वक्ताहरुले नेपालको संविधान २०७२ सहमतिको दस्तावेज भएको बताए । संविधानले मुलुकलाई निर्दिष्ट गन्तव्यमा पु¥याउने भएकाले यसको कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा वक्ताहरुको जोड थियो ।

हालको संविधान जारी गर्न नेपाली जनताले ठूलो चुनौति बेहोर्नुपरेको स्मरण गर्दै संविधान जारी नगर्न देशीविदेशी शक्तिकेन्द्रबाट दबाब हुँदाहुँदै पनि नेपालका मुख्य राजनीतिक दलहरुले एकमना एकताका साथ संविधान जारी गरेका र फलस्वरुप नेपाली जनताले ६ महिना लामो कष्टसाध्य नाकाबन्दी सहनुपरेको वक्ताहरुले बताए ।

संविधानमा भएका अपुग र अपुरालाई पूर्ण गर्दै संविधानलाई सबै पक्षको साझा दस्तावेज बनाउन खुला हृदयले लाग्नुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रमका अध्यक्ष रहेका स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको स्थानीय सरकारले सीमित साधनस्रोतको बाबजुद पनि पूर्वाधार निर्माण र जनसेवाका कामहरु गरिरहेको बताए । झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा जिल्ला समिति सचिवालय सदस्य जनार्दन उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ४ का सभापति नारायणप्रसाद पोखरेल, नेपाली कांग्रेसका युवा नेता दुर्गाप्रसाद प्रसाई, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल लगायतको आतिथ्य रहेको थियो ।

कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईं, प्रशासकीय अधिकृत देवेन्द्र कार्की, नगरभित्रका विभिन्न कार्यालयका प्रमुखहरु, वार्ड अध्यक्षहरु, परिषद् सदस्यहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर