Aamsanchar

भद्रपुरमा डेंगु नियन्त्रण अभियान

Author Image
सोमवार, असोज २२, २०७५

भद्रपुर।

लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि झापाको सदरमुकाम भद्रपुरमा अभियान थालिएको छ ।

विशेषगरी डेंगू रोग असोज र कात्तिक महिना बढी भेटिने गरेको भन्दै यसको रोकथामका लागि भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले सदरमुकामस्थित प्रत्येक वडामा अभियान शुरु गरेको हो ।

घरदैलोमार्फत नगर क्षेत्रमा अभियान शुरु गरेपछि स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुले डेंगू रोग लाग्ने लार्भा फेला पार्दै नष्ट गर्न थालेका छन् । पोथी जातका लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । जमेको पानीको पहिचान गर्दै डेंगूको लार्भा नष्ट गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।

उनका अनुसार टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्यांकीहरुमा डेंगूको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गरिँदैछ ।

नगर क्षेत्रको वडा नम्बर १, २, ३ र ५मा डेंगू नियन्त्रण अभियान सम्पन्न भइसकेको छ । स्वास्थ्य शाखाले आइतबार वडा नम्बर ७ र १० चन्द्रगढी बजार क्षेत्रमा औषधि छर्केको छ । अभियानकै क्रममा बजार क्षेत्रमा रहेका त्यस्ता सामग्रीमा जमेको पानी फाल्न स्थानीयलाई आग्रह समेत गरिएको उनले बताए ।

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले नगर क्षेत्रमा डेंगू रोग नियन्त्रणका लागि नगरबासीले सहयोग पुर्याए अकालमै ज्यान जानबाट जोगिने बताए । डेगू लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकोले यसबाट बच्न सबैलाई उनले आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर