Aamsanchar

आयोजकलाई हराउँदै कमल सेमिफाइनलमा

Author Image
बुधवार, असोज २४, २०७५

बिर्तामोड ।

बिर्तामोडमा जारी १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा कमल गाउँपालिकास्थित कमल स्पोर्टिङ क्लब विजयी भएको छ । कमलले आयोजक एकता स्पोर्टिङ क्लब चारपानेलाई १–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

बिर्तामोड–२ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा कमल स्पोर्टिङ क्लबका तर्फबाट प्रवेश श्रेष्ठले गोल गरे । खेलको २८औँ मिनेटमा उनले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । प्रवेश खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बिहीबारबाट सेमीफाइनलका खल सुरु हुँदैछन् । बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा जलथल एफसी र सताक्षीधाम स्पोर्टिङ क्लब झिलझिलेबीच प्रतिस्पर्धा हुने आयोजक संस्था हाम्रो एकता युवा समाजका सचिब लक्ष्मीप्रसाद घिमिरेले बताए ।

२८ असोजसम्म सञ्चालन हुने प्रथम बिर्तामोड ‘अण्डर सिक्स्टीन’ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा झापाका उत्कृष्ट ८ टीमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष किरण पौडेलले जानकारी दिए । खेलले युवामा स्वस्थ प्रतिस्पर्धी भावनाको विकास गराउने भएकाले दशैँको अवसर पार्दै खेलको आयोजना गरिएको अध्यक्ष पौडेलको भनाइ छ । खेलको बिजेता टिमले नगद ३५ हजारसँगै कप, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उपविजेताले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट फरवार्डलाई समेत नगद ३ हजार पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । हाई स्कोरर र म्यान अफ टुर्नामेन्टलाई नगद ४ हजार प्रदान गरिने सचिव घिमिरेले जानकारी दिए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार नगद पुरस्कार दिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)