Aamsanchar

झापामा ९०० चालकको निःशुल्क आँखा जाँच

Author Image
बिहिवार, असोज २५, २०७५

झापा।

मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके मात्र दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञ डाक्टर पुरुषेत्तम जोशीले बताएका छन् ।

मेची आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा आयोजना गरेको सवारी चालकको निःशुल्क आँखा परीक्षण कार्यक्रममा बोल्दै नेत्र विशेषज्ञ डा जोशीले मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, उच्च रक्तचाप,भिटामिन ‘ए’को अभावका कारण मानिसमा अन्धोपना हुने गरेको बताए । उनले भने–आँखाको थोरै जतन गरियो भने मात्रै पनि अन्धोपन हुनबाट बच्न सकिन्छ ।

अन्धोपनाको अर्को कारण वंशाणुगत रोग जलविन्दु हो भन्दै डा जोशीले भने–‘जलविन्दु लागिसकेपछि पुनः दृष्टि फर्काउन कठिन हुन्छ । समयमै पत्ता लागेमा रोगथाम गर्न भने सकिन्छ ।

‘अन्धोपनाको अर्काे कारण चोटपटक हो, आँखामा चोटपटक लागेमा अल्सर भएर फुलो पर्ने गर्दछ’ डा जोशीले भने – यस्तो अवस्थामा हेलचेक्र्याईं नगरी तत्काल चिकित्सकको सल्लाहमा उपचार थालेमा आँखा बचाउन सकिन्छ । नेपालमा आफूखुशी औषधि प्रयोग गरेर धेरै दृष्टिविहीन भएका छन् । ‘पछिल्लो समय मधुमेहका बिरामी थपिँदै गएसँगै उनीहरुको आँखा उच्च जोखिममा रहने उनको भनाई छ । समय समयमा परीक्षण नगरेमा अकस्मात अन्धोपना हुनसक्ने खतरा हुन्छ यस्तो अवस्थामा दृष्टि फर्काउन मुस्किल पर्छ ’ डा जोशीले भने ।

‘आँखा सेवा सवैका लागि’ भन्ने मूल नारा सहित १८ औं विश्व दृष्टि दिवसका अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले आँखा अति संवेदनशील अंग भएको र सानाको ज्योति सानो हेल्चेक्र्याइले पनि गुम्न सक्ने भएकाले आँखाको सुरक्षाका लागि अत्यान्त सम्वेदनशील हुनुपर्ने बताएका छन् । सवारी चालकले झन धेरैको भविश्य बोकेर हिड्नु पर्ने भएकाले समय– समयमा आँखाको जाँच गर्नुपर्ने बताए । उनले भने–‘ आफ्ना आँखा कमजोर जस्तो लाग्न थालेको छ भनेमात्रै पनि तत्काल चिकित्सक कहाँ गएर आँखा जाँच गराइहाल्न म चालकलाई मात्र हैन आम सर्वसाधारणलाई आग्रह गर्छु ।’

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले चालकको आँखामा सधै तेज हुनुपर्ने बताएका छन् । उनले रोगी आँखा लिएर सवारी चालकलाई सवारी नचलाउन आग्रह समेत गरे । आफ्ना आँखालाई असहज भएजस्तो लागेको छ भने तत्काल आँखा जाँच गराउन म सवैलाई आग्रह गर्छु उनले भने–‘ आँखाकै कारण सवारी चलाउदा दुर्घटना नहोस् भनेर कार्यक्रमको आयोजना गरिएको हो ।’

मेची आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष दीनेशकुमार मित्तलको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव सुरज वंशलले स्वागत गर्दै सन १९९८ सालबाट झापाको बिर्तामोडबाट सञ्चालनमा आएको मेची आँखा अस्पतालले प्रत्येक वर्ष एक लाख ७० हजार बढीलाई सेवा प्रदान गर्दै आएको बताए । उनले भने– यस आँखा अस्पतालले २८ हजार बढीलाई शल्यक्रिया सेवा दिदै आएको छ ।

झापाको राजगढ, गौरादह, वनियानी , दमक र फिदिममा आफ्ना शाखा रहेको र मेची अञ्चल अस्पताल भद्रपुरमा पनि हप्तामा दुई पटक सोमवार र शुक्रवार सेवा दिदै आएको सचिव वंशलले बताए ।

अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले प्रत्येक वर्ष ७० ठाउँमा अस्पतालले आँखा जाँचको निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र १० ठाउँमा सर्जिकल क्याम्प गरिदै आएको बताए । उनले भने – अहिले पनि अस्पतालले जुलाईबाट ‘रिच’ कार्यक्रम सञ्चालन गरिरहेको र तीन वर्ष भित्रमा ५ लाख वालवालिकाको निःशुल्क आँखा जाँच गरिने बताए । कार्यक्रम अन्तरगत झापाका हरेक विद्यालयका विद्यार्थीको आँखा जाँच भएरहेको रौनियारको भनाई छ । हालसम्म ३६ विद्यालयका १२ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको बताए ।

कार्यक्रममा यातायात व्यवसायी खडानन्द भण्डारीले आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यलयले चालकको निःशुल्क आँखा जाँचको कार्यक्रम राखेर सह्रानीय कार्य गरेको बताएका थिए ।

बिर्तामोडस्थित टेकवहादुर गिरी वस पार्कमा भएको निःशुल्क आँखा जाँच कार्यक्रमको सञ्चालन अस्पतालका युवराज वोहाराले गरेका थिए । शिविरमा १० जना चिकित्सककले चालकको आँखा परीक्षण गरेका थिए ।

९०० चालकको निःशुल्क आँखा जाँच

मेची आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा आयोजना गरेको सवारी चालकको निःशुल्क आँखा परीक्षण कार्यक्रममा नौ सवारी चालकले आँखा जाँच गरेका छन् ।

जसमा २५ जनाको शल्यक्रिया गर्नु पर्ने भएकाले मेची आँखा अस्पताल पठाइएको अस्पतालका प्रशासशीय अधिकृत रौनियारले बताए । शिविरमा आँखा जाँच गराएका १० जना चालकमा कलर भिजन ( रङ छुट्याउन ) नसक्ने पाइएकाले औषधि प्रदान गरिएको बताइएको छ ।

आँखा अस्पतालले शिविरमा आएर आँखा जाँच गराउनेहरुका लागि २० हजार रुपैयाँ वरावरको निःशुल्क औषधि बितरण गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)