Aamsanchar

यस बर्ष झापामा विपन्न वर्गका लागि दुईसय आवास निर्माण गर्न सहारा अग्रसर

Author Image
आइतवार, असोज २८, २०७५

 सहारा नेपाल सहकारी संस्था लिमिटेडले विपन्न परिवारलाई आवास निर्माणका लागि झापाका स्थानीय तहसंग सम्झौता गरेको छ ।
चालू आर्थिक वर्षमा झापामा दुईसय वटा आवास निर्माण गर्ने योजना अनुरुप झापाका नगरपालिका तथा गाउँपालिकाहरुसँग आवास निर्माणका लागि सम्झौता गरेको हो । ह्यावीट्याट फर ह्युमानेटीसँग साझेदारी गर्दै सहाराले विपन्न परिवारका लागि आवासको कार्यक्रम अघि बढाएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । त्यस अनुसार स्थानीय तहको आधा लगानी र सहकारीको आधा लगानीमा घर निर्माण गरिने भएको हो ।

गत वर्षपनि सहकारीले ह्यावीट्याट फर ह्युमानेटीसंग साझेदारी गर्दै एकीकृत वस्ती निर्माण शुरु गरेको थियो । सो क्रममा विराटनगर महानगरपालिकामा एक सय घर निर्माणको प्रक्रिया अघि बढाएको र झापामा चार सय ३८ वटा घर निर्माण गरेको कार्यकारी निर्देशक गिरीले बताए ।
शनिवार बिर्तामोडमा भएको एक कार्यक्रमकाबीच झापाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग विपन्न आवास निर्माणका लागि सम्झौता भएको हो । सहाराले बिर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा वाह्रदशी गौरीगञ्ज, झापा गाउँपालिकासँग आवास निर्माणका लागि सम्झौता गरेको हो । सहारा नेपालका अध्यक्ष ताराप्रसाद सञ्जेल, ह्यावीट्याट फर ह्युमानेटीका कार्यक्रम निर्देशक युवान मल्ल, सहारा नेपालका एनजीओ तर्फका अध्यक्ष भरतकुमार गिरीले स्थानीय तहका जनप्रतिनिधिसंग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सहाराले सञ्चालन गरेको कार्यक्रम स्थानीय तहका लागि वरदान सावित भएको सम्झौता पत्र वुझ्दै बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले वताए । उनले भने– स्थानीय तहले गर्नुपर्ने काम सहकारीले आफैं अग्रसर भएर गरेको हुँदा कार्यक्रम सफल बनाउन सवैको साथ सहयोग उत्तिकै हुन्छ । कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले सरकारले गर्नु पर्ने काम एउटा सहकारीले गरेर झापामा उदाहरण प्रस्तुत गरेको भन्दै कार्यक्रमले कनकाई नगरपालिकाका विपन्न परिवारका लागि सवैभन्दा ठूलो सहयोग मिलेको बताए ।’


दक्षिणी क्षेत्रका जनता अझैं पनि वाढी र डुवानको उच्च जोखिममा रहेको बताउँदै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले सहाराले दक्षिणी क्षेत्रका विपन्न परिवारका लागि आवास निर्माणको सम्झौता गरेर ठूलो सहारा दिएको बताए । उनले गाउँपालिका सहारासँग गरिवी निवारणका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार रहेको बताए । गत वर्ष वढी पीडितका लागि सहाराले गरेको सहयोग वरदान सावित भएको बताउँदै उनले भने– यस वर्ष पनि आवास कार्यक्रमका लागि सहयोग गरेर झापा गाउँपालिकालाई महत्वपूर्ण गुन लगाएको छ । यस्तै गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठले आफूहरुले गर्ने काम सहाराले जिम्मा लिएर गरेको र त्यसमा गाउँपालिकाले सहयोग गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताए । यता बाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले सहाराले गरेको काम सह्राहनीय भएको बताउँदै बाढी प्रभावित क्षेत्रमा यसले अझ बढी भूमिका खेलेको धारणा राखिन् । उनले भनिन्– विपन्न परिवारका लागि सहाराको आवास कार्यक्रम बरदान नै छ ।


सहकारीले चार करोड रुपैयाँ खर्च गरेर स्थानीयस्तरमा दुई सय ५० वटा घर निर्माण गर्ने बताइएको छ । कार्यक्रम प्रदेश नं. १कै उदाहरणीय भएको बताउँदै प्रदेश नं. १का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सहारालाई प्रदेश सरकारले भरपुर सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले स्थानीय तहसँग साझेदारी गर्दै गरिएको कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताए ।
सहकारीले आवास निर्माण सँगसँगै चार करोड रुपैयाँ खर्च गरेर ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने भएको छ । विभिन्न स्थानमा ५० वटा ज्येष्ठ चौतारी निर्माण गर्दै ज्येष्ठ नागरिकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने सहकारीको लक्ष्य रहेको कार्यक्रममा जानकारी दिइयो ।

गत बर्ष दूधे, होक्से, घैलाडुब्बा, लक्ष्मीपुर र बाहुनडाँगीमा १/१ वटा ज्येष्ठ चौतारी निर्माण गरिएको सहकारीका कार्यकारी निर्देशक गिरीले जानकारी दिए । उनले भने– ज्येष्ठ नागरिकलाई एक्लो महशुस हुन नदिन चौतारी निर्माण गरिएको र साथीभाइसँग भेटघाट गरी अनुभव आदानप्रदान गर्ने थलोको रुपमा विकास गरेर लैजाने हाम्रो लक्ष्य छ । गिरीले थपे– ज्येष्ठ नागरिकले विदेशमा रहेका आफ्ना छोराछोरीसँग अब इन्टरनेटबाट हेरी–हेरी कुरा गर्न सक्नेछन् । प्रत्येक चौतारीमा फ्रि वाईफाईको व्यवस्था गरिएको गिरीले बताए ।

सहकारीले कृषि क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको कार्यक्रममा जानकारी दिइयो । प्रदेश स्तरको मौरी मह उद्योग स्थापना गर्ने सोच अघि बढाएको र दूधेमा प्रदेश स्तरीय मह उद्योग स्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिइयो । आगामी तीन बर्षभित्र १५ हजार किसानलाई बाख्रा र कुखुरा पालन व्यवसायमार्फत स्वरोजगार बनाउने लक्ष्य लिएको र माछा र तरकारी खेतीमा समेत किसानलाई आकर्षित गर्दै लैजाने सोच रहेको बताइएको छ । सहकारीले लगानी गरेर स्वच्छ र स्वस्थ मासुका लागि एक सय वटा फ्रेस हाउस स्थापना गर्ने र ब्राण्डिङ गर्न किसानलाई प्रोत्साहन गरिने र त्यसका लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँ लगानी गर्ने बताइएको छ ।
संस्थाले विपद् व्यवस्थापन बाढी, पहिरो, आगलागीका लागि खाद्यान्न, लत्ताकपडा र सहयोग स्वरुप एक करोड १० लाख रुपैयाँको सहयोग उपलब्ध गराइसकेको बताइएको छ । चार हजार चार सय १६ जनालाई सो राहत सामग्री प्रदान गरिएको कार्यक्रममा जानकारी दिइयो । संस्थाले गतबर्ष ६० लाख सहयोग उपलब्ध गराई सुरुङ्गामा सर्पदंश उपचार केन्द्र स्थापना गरेको कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।

सहकारीले आफ्ना सदस्यको मृत्युको अवस्थामा उसले लिएको ऋण मिनाहा गर्दै आएको र हालसम्म एक हजार एक सय १४ जनाको ऋण मिनाहा गरेको बताइएको छ । जसका लागि सात करोड ७६ लाख १२ हजार तीन सय ७३ रुपैयाँ ऋण मिनाहा गरेको बताइन्छ । युवा स्वरोजगार कार्यक्रमतर्फ सहकारीले कृषि तथा पशुपालनमा छ सय जना र टेम्पो, पिकअप भेन सञ्चालनका लागि १४ सय गरी दुई हजार जनालाई स्वरोजगार बनाएको र जसमा ६० करोड रुपैयाँ लगानी गरेको बताइएको छ । आगामी दिनमा १० हजार युवा स्वरोजगार बनाउने लक्ष्य रहेको कार्यक्रममा जानकारी गराइयो । सर्वशुलभ र गुणस्तरीय शिक्षाका लागि सहकारी नमूना मन्टेश्वरी विद्यालय चारपानेमा सञ्चालन गर्दै आएको र आगामी दिनमा यसलाई थप गर्दै लैजाने जानकारी दिइयो । सञ्जीवनी कार्यक्रमतर्फ सहकारीले उच्च रक्तचाप, मधुमेहका रोगीका लागि औषधिमा ५० प्रतिशत सुविधा उपलब्ध गराउँदै आएको र आगामी बर्षदेखि थाइराइड, मुटु लगायत १० वटा जटिल रोगको औषधिमा सहयोग पु¥याउने लक्ष्य राखेको बताइएको छ ।


प्रदेश नं. १का ६ जिल्लामा ६० वटा सेवा केन्द्र रहेको सहकारीमा एक लाख ३५ हजार ६ सय ७७ जना शेयर सदस्य रहेको कार्यक्रममा जानकारी दिइयो । आगामी दिनमा संस्थाले प्रदेशभरिका सबै जिल्लामा ५ लाख शेयर सदस्य पु¥याउने लक्ष्य लिएको बताइएको छ । आठ करोड १४ लाख २५ हजार नौ सय ५८ रुपैयाँ कर बुझाएको सहकारी मुलुककै सबैभन्दा बढी कर बुझाउने सहकारीको रुपमा चिनिएको छ ।  भदौ मसान्तसम्ममा सहकारीको शेयर पुँजी ८८ करोड ८९ लाख २४ हजार ४ सय रुपैयाँ रहेको र बचत तीन अर्ब ५८ करोड ९८ लाख २९ हजार ८ सय २१ रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिइयो । सहकारीको बाह्य ऋण एक अर्ब ६४ करोड ८९ लाख ८१ हजार ८ सय ४९ रुपैयाँ रहेको र कोषहरुमा ८४ करोड ६५ लाख तीन हजार चार सय ७८ रुपैयाँ रहेको र लगानी ५ अर्ब ७३ करोड २० लाख ९७ हजार नौ सय रुपैयाँ रहेको बताइएको छ । सहकारीको कूल सम्पत्ति तथा दायित्व ७ अर्ब २३ करोड ७८ लाख ४५ हजार सात सय छ रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिइयो । कार्यकारी निर्देशक गिरीले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत +२ सम्म अध्ययनरत् गरेका विद्यार्थीलाई प्रत्येक स्थानीय तहमा एक÷एक सय जनालाई रोजगार प्रदान गरिने बताए । उनले भने– स्थानीय तहमा करको विषयमा अपडेट रहने गरी तालिम सञ्चालन गर्दै प्रत्येक स्थानीय तहमा एक÷एक सय जनालाई रोजगार दिने हाम्रो लक्ष्य रहेको छ ।


त्यस्तै स्थानीय संघ–संस्थासँग सहकार्य गर्दै चालू आर्थिक बर्षमा २० वटा एम्बुलेन्स वितरण गर्ने बताइएको छ । महिलाका लागि प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने र आङ खस्ने महिलाका लागि विशेष कार्यक्रम मार्फत स्वास्थ्य उपचार गराउने बताइएको छ । किशोरीहरुलाई आत्मविश्वास र आत्मरक्षा सम्बन्धी तालिम समेत सञ्चालन गर्ने सहकारीको लक्ष्य रहेको र झापाका स्थानीय तहबीच स्थानीय स्तरमा फुटबल प्रतियोगिता सञ्चालन गर्ने समेत सहकारीको कार्यकारी निर्देशक गिरीले बताए ।
सहारा नेपालको अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ज्ञानुनाथ मैनालीले गरेका थिए । यसैबीच सहकारीले स्थानीय तह र सञ्चारकर्मीहरुसँग विजयादशमी दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरेको छ ।

फोटो : कामल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर