Aamsanchar

मानसिक स्वास्थ्य समस्या बढ्दो

Author Image
सोमवार, असोज २९, २०७५

काठमाडौँ, 

पछिल्लो समय युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवायुवतीमा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।

तर “कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिकरुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवं सोचाइमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यावहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको छ ।

मानसिक स्वास्थ्य समस्याले असामान्यरुपमा व्यक्तिको भावना, सोचाइ र व्यावहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ । यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन् ।

स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखामा कार्यरत डा वासुदेव कार्कीले पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको जानकारी दिनुभयो ।

पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४० प्रतिशत रहेको छ । ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ । उहाँका अनुसार बाल्यकालमा नमिठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद, साथीबाट खिसिट्युरी, आर्थिक विपन्ता लगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन् । “स–साना, बोझ एवं तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको हो”, मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेल बताउनुहुन्छ ।

मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न उहाँ भन्नुहुन्छ, “अभिभावकले बालबालिका तथा युवायुवतीका कुरा सुन्नुपर्छ । ती कुरालाई सकभर पूरा गर्ने बानी बसाल्नुपर्छ । पूरा नभए के कारणले नहुने हो जवाफ दिनुपर्छ । अभिभावकले उनीहरुको कार्यबोझ हटाइदिनुपर्छ ।”

आत्महत्या बढ्दो 

मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्याबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३४६ व्यक्तिले आत्महत्या गरेका थिए । तीमध्ये दुई हजार ८५४ पुरुष, २ हजार २०० महिला, १११ बालक र १३९ बालिका रहेका थिए ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वका १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्युको दोस्रो कारण र नेपालमा प्रजनन् उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर