Aamsanchar

संवाद लगत्तै बिर्तामोड बजारमा अनुगमन

Author Image
सोमवार, असोज २९, २०७५
बिर्तामोड। 
उपभोक्ता अधिकारका लागि जिल्लास्तरीय सरोकारवालाको टोलीले आज सोमबार झापाको बिर्तामोड बजारमा अनुगमन गरेको छ । संवाद समूहमा भएको छलफल लगत्तै त्यहाँ व्यक्त प्रतिबद्धता तत्कालै कार्यान्वयनका लागि टोलीले बजार अनुगमन गरेको थियो । जिल्ला प्रशासन, बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेको हो ।
टोलीले बिर्तामोड कृषिथोक बजारको मासु तथा माछा पसल, सब्जी पसल, फलफुल पसल, होटलहरुको अनुगमन गरेको छ । त्यसक्रममा अधिकांश पसलमा मूल्य सूची नभएको, फोहोर र झिंगा भन्किएको अवस्थामा माछा, मासु भेटिएको थियो । अधिकांशले खसीको मासु तथा माछा जाली तथा सिसायुक्त बाकस बिनै खुल्लारुपमा बिक्री–वितरण गरिरहेको पाइएको थियो ।
त्यस्तै बासी मासु समेत फ्रिजमा राखेर बिक्री गर्ने गरिएको पाइएको छ । खसी तथा कुखुरा काट्ने ठाउँ अत्यन्त फोहोर भएको, त्यहाँ प्रयोग गरिएको पानी र अन्य फोहोरले बजार नै दुर्गन्धित भएको पाइएको छ । त्यस्तै भारतबाट आयातीत विषादियुक्त सयपत्री फूल समेत बिक्री भइरहेको भेटिएको छ भने सब्जी पसलहरुमा मनपरी खुद्रा मूल्य राखेर बिक्री गर्ने गरिएको पाइएको छ ।
होटलहरुको सरसफाई पनि अत्यन्त दयनीय रहेको टोलीले भेटेको छ । खाद्यपदार्थ तथा पकाउने भाडाहरु नछोपी राखिएको, तेललाई वर्षौदेखि पुनः प्रयोग गरेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइरहेको समेत पाइएको छ । टोलीले उपभोक्ता अधिकारलाई ध्यानमा राखेर मापदण्ड पूरा गरेर उपभोग्य वस्तु बिक्री–वितरणका लागि व्यवसायीलाई सचेत गराएको छ । टोलीले तीन दर्जन बढी पसल तथा होटलको अनुगमन गरेको थियो । सरसफाई, मूल्य लगायतका विषयमा मापदण्ड पालना नगर्नेलाई तत्काल कारवाही गर्ने समेत टोलीले जनाएको छ ।
अनुगमन अघि सरोकारवालाले तीन बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका थिए । जसमा उपभोक्ताहरुलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन, स्थानीय सरकारले उपभोक्तावादी संस्था एवम् वाणिज्य संघसँग समन्वय गरी निरन्तर बजार अनुगमन गर्ने रहेको छ ।
त्यस्तै स्थानीय सरकारले उपभोक्तावादी संस्था तथा वाणिज्य संघ समेतको सहभागितामा अनुगमन कार्यविधि तयार गरी विज्ञसहितको टोलीबाट बजार अनुगमन गर्ने, मूल्यसूचीलाई व्यवहारिक बनाउने तथा मापदण्ड पूरा नगर्ने व्यापारीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । टोलीले उपभोक्तालाई आफ्नो अधिकारबारे जागरुक बन्न समेत अपिल गरेको छ ।
जिल्ला प्रशासनका प्रशासकीय अधिकृत युवराज कट्टेल, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डे, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, उपभोक्ता मञ्च नेपालका अध्यक्ष वेदप्रकाश अग्रवाल, विश्व उपभोक्ता महासंघ नेपालकी अध्यक्ष सरस्वती चम्लागाई, उपभोक्ता हीत संरक्षण मञ्चका सचिव ईश्वर अधिकारीले साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
त्यस्तै उद्योग वाणिज्य संघ प्रदेश नं. १ का सदस्य बलराम कार्की, नेपाल चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष सन्तोष अग्रवाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडका अध्यक्ष सुवास भट्टराई लगायतले समेत हस्ताक्षरणसहित प्रतिबद्धता जनाएका छन् । छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
सहभागी सबैले जिल्ला प्रशासनमा उपभोक्ता अधिकार डेस्क स्थापना तथा मासिक रुपमा बजार अनुगमन हुनुपर्ने, स्थानीय सरकारले सरोकारवालाको सहभागितामा तत्काल कार्यविधि बनाइ अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला प्रशासनका प्रशासकीय अधिकृत युवराज कट्टेलले बजारमा धेरै समस्या रहेको बताउँदै अबका दिनमा अनुगमनलाई निरन्तरता दिने बताए । उनले उपभोक्ता डेस्कबारे सिडिओसंग कुरा अघि बढाउने बताउँदै प्रशासनमा जनशक्ति अभाव रहेको समेत गुनासो गरे ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले यसअघि बिर्तामोडमा नगरको पहलमा दुईपटक बजार अनुगमन भएको बताउँदै अब त्यसलाई व्यवस्थित गर्दै उपभोक्तावादी संस्था तथा वाणिज्य संघसहितको सहभगितामा अनुगमन कार्यविधि तयार गरी काम अघि बढाउने प्रतिबद्धता जनाए । उनले बिर्तामोडको कृषिथोकमा रहेको विषादि परीक्षण प्रयोगशाला आफूले अहिलेसम्म नदेखेको बताउँदै त्यसको सञ्चालन नगरपालिका, प्रदेश र संघीय सरकार कसको मातहतमा हुने भन्ने विवादले प्रयोगमा आउन नसकेको खुलासा गरे ।
उद्योग वाणिज्य संघ प्रदेश नं. १ का सदस्य बलराम कार्कीले हवाई भाडामा ब्रम्हलुट भइरहेको बताए । उनले विषादिमुक्त बिर्तामोड नगर नारामा मात्र सीमित भएको गुनासो गरे । त्यस्तै अनुगमनका क्रममा गुणस्तरहीन सामान भेटिए उत्पादन गर्ने उद्योगलाई केही गरिँदैन तर व्यापारीलाई कारवाही गर्ने गलत परिपाटी रहेको बताए । त्यस्तै नेपालमा प्रतिबन्धित भारतीय तुलसी तेल सीमाक्षेत्रमा प्रहरीको मिलेमतोमा नेपाल आउने गरेको बताए ।
नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवालले चाडपर्वका बेला मात्र बजार अनुगमन गरेर उपभोक्ताको अधिकार रक्षा हुन नसक्ने बताए । खाद्यवस्तुसँगै अन्य क्षेत्रमा पनि उपभोक्ता ठगिने गरेको उनले बताए ।  आज २५०० रुपैयाँको हवाई टिकट गाडी बन्द हुने बित्तिकै आठ हजार पु¥याएर बुद्ध एयरले कालोबजारी गर्ने गरेको अग्रवालले बताए । त्यस्तै, प्रतिबन्धित केसरी दालको खुलेआम बिक्री, मसलामा काठको धुलो मिसाउने, मूल्यसूची अपडेट नहुनु जस्ता विकृति रहेको बताउँदै व्यवस्थित रुपमा अघि बढ्नुपर्ने बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले मासु पसल व्यवस्थित नभएको, प्रमुख जिल्ला अधिकारीले समेत गुनासोबारे सुनुवाई नगरेको, विषादि परीक्षण प्रयोगशाला उपयोगविहीन रहेको बताउँदै जिल्ला प्रशासनको अगुवाईमा बजारको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए ।
कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले सबै व्यवसायी अनुशासित भएर काममा लाग्नुपर्नेमा जोड दिए । उनले विरगञ्जबाट आउँदा भ्याट बिलसहित सात सयमा आएको सिमेन्ट बजारमा एक हजार मूल्य पर्ने गरेको बताउँदै रु. तीन सय कहाँ जान्छ भनी प्रश्न गरे । उनले खुद्रा व्यवसायी मारमा परेको बताए । त्यस्तै पोके व्यवसायीका कारण घरबहाल र कर तिरेर बस्ने व्यवसायी पीडित भएको बताउँदै प्रशासनले त्यस्तालाई कारवाही गर्छु भने पनि अहिलेसम्म कुनै कदम नचालेको बताए । कनकाई नगरमा उपभोक्तावादी संस्था निस्क्रिय भएको समेत उनले गुनासो गरे ।
नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्ष सुवास भट्टराईले उपभोक्ता ठगिनेक्रम बढ्दो रहेको बताउँदै प्रशासन, नगरपालिका तथा व्यवसायिक क्षेत्रबाट यसलाई रोक्न कुनै पहल नदेखिएको बताए । उनले विषादियुक्त खाद्यवस्तु प्रतिबन्ध लगाउनुपर्ने, व्यवसायीहरुलाई कानूनको दायरामा ल्याउनुपर्ने र नियमित बजार अनुगमनमा जोड दिए ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बाले उपभोक्तावादी संस्थालाई अनुगमन गरेर दण्डित गर्ने अधिकार नरहेको बताउँदै प्रशासन र स्थानीय सरकार दोषी रहेको बताए । अहिले स्थानीय तह र प्रशासनबीच अनुगमन र कारवाहीको काम कसले गर्छ भन्ने मुख ताकाताकको प्रवृत्तिले बजार अनुगमन प्रभावित भएको बताए । उनले प्रशासन र स्थानीय सरकारलाई सहयोगका लागि आफूहरु तयार रहेको समेत बताए ।
उपभोक्ता मञ्च नेपालका अध्यक्ष वेदप्रकाश अग्रवालले उत्पादनकर्ताले आफूखुशी ‘एमआरपी’ लेख्ने गरेको र यसबाट उपभोक्ता ठगिने गरेको बताउँदै खाद्यवस्तुसंगै यातायात, सुनचाँदी, औषधि क्षेत्रमा समेत अनुगमन जरुरी रहेको बताए ।
विश्व उपभोक्ता महासंघकी अध्यक्ष सरस्वती चम्लागाईंले रु. पाँच सयको कपडालाई अहिले बजारमा दुई हजार मूल्य पर्ने गरेको गुनासो गरिन् । बजारमा धेरै विकृति बढेको भन्दै उनले अनुगमन प्रभावकारी बनाउनुपर्ने र स्थानीय सरकारलाई यसका लागि दबाव दिनुपर्नेमा जोड दिइन् ।
उपभोक्ता हीत संरक्षण मञ्चका सचिव तथा पत्रकार महासंघका कोषाध्यक्ष ईश्वर अधिकारीले हरेक पसलमा मूल्य सूची अपडेट गर्नुपर्नेमा जोड दिँदै उपभोक्ता आफै जागरुक हुनुपर्ने बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)