Aamsanchar

झापाका बजार सुनसान भारतीय बजारमा नेपालीको घुईचो

Author Image
बुधवार, असोज ३१, २०७५

बिर्तामोड।

नेपालीहरुको महान पर्व बडादशैं, भित्रिएसँगै चहलपहल बढेको छ । तर, विगतका वर्षमा भन्दा यस वर्ष कृषि क्षेत्रमा आएको आर्थिक मन्दीका कारण बजारमा आर्थिक कारोबार घटेको व्यापारीहरुको भनाइ छ ।

गत केही वर्ष अघिसम्म प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री हुने अलैंचीको मूल्यमा गिरावट आएको छ । हाल अलैंचीको मूल्य ३० हजार रुपैंया भन्दा कम हँुदा किसान समस्यामा परेका छन् ।

त्यस्तै प्रतिमन पाँच हजार रुपैयाँसम्म बिक्री हुने अदुवाको मूल्यमा गिरावट आउनुका साथै अदुवा खेतीमा रोग लाग्नुले पनि समस्या भएको बताइएको छ । हाल अदुवाको भाउ मुस्किलले सात सय रुपैयाँ प्रतिमनमा बिक्री हुने गरेको किसानहरुको भनाइ छ ।

अदुवा र अलैंची मात्र नभएर कुचोको मूल्य पनि न्यून भएपछि किसानमा आर्थिक मन्दी छाएको बताएका छन् । त्यस्तै करोडौं रुपैयाँमा विक्री वितरण हँुदै आएको जग्गाको कारोबार पनि ठप्प भएपछि त्यसको प्रत्यक्ष असर बजारमा परेको व्यापारीहरुको विश्लेषण रहेको छ ।

पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्समा पनि कमी आएको अर्थमन्त्रालयको प्रक्षेपणले जनाएको छ । केही समय अघि नगदेबालीले उचित मूल्य पाउनु तथा जग्गाको कारोबार राम्रो हुनु र विदेशबाट पनि राम्रो रेमिट्यान्स भित्रिने गरेकाले बजारमा आर्थिक कारोबार राम्रो हुने गरेको थियो ।

कृषिजन्य वस्तुमा आएको आर्थिक गिरावटका कारण त्यसको प्रत्यक्ष असर बजारमा परेको व्यापारीहरुको भनाइ छ । बजारमा आर्थिक मन्दी भएपछि मेची अञ्चलकै प्रमुख व्यापारिक बिर्तामोडमा दशैंको समयमा पनि कारोबार १० प्रतिशत नबढेको व्यवसायीहरुको भनाइ छ ।

के भन्छन् व्यवसायी ?

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले निर्यात गर्ने वस्तुको मूल्यमा कमी र आयात गर्ने वस्तुको मूल्यवृद्धिका कारण व्यवसाय घटेको बताएका छन् ।

उनले चाडबाडको समयमा हुने व्यापारमा मात्र गिरावट नभई अन्य समयमा समेत व्यापार घटेको बताए । ‘सबै चीजमा अहिले मन्दी छ’– अध्यक्ष भट्टराईले भने– ‘व्यापारको अहिले टे«ण्ड नै चेञ्ज भएको छ । सीमित मुनाफाका कारण व्यापार घटेको हुनसक्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं. १का सदस्य बलराम कार्कीले खुल्ला सीमानाका कारण व्यापार घटेको बताएका छन् । उनले नेपाली उपभोक्ता भारतीय बजारमा केन्द्रित रहनु र बढ्दो भन्सार वृद्धिले व्यापार घटेको बताए । उनले भने– ‘चाडपर्वको समय यहाँका उपभोक्ताले भारतको पानीट्यांकीमा गएर उपभोग्य सामग्री किनमेल गर्ने गरेकाले चाडबाडको समयमा व्यापार घटेको हो ।’

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १का सदस्य प्रकाश शिवाकोटीले व्यापार घट्नुको मुख्य कारण आर्थिक मन्दी रहेको टिप्पणी गरे । पहाडमा उत्पादित कृषियोग्य वस्तुको मूल्यमा एकाएक गिरावट आउनु र रेमिट्यान्स नभित्रिनुले पनि व्यापार घटेको हो ।

‘चाडपर्वमा यसअघि जुन रुपमा व्यापार हुन्थ्यो, त्यो अहिले हुन सकेको छैन’– शिवाकोटीले भने– ‘नेपाली ग्राहक भारतीय बजारमा निर्भर रहनु पनि व्यापार घट्नुको मुख्य कारण हो ।’
यता उद्योग वाणिज्य संघ झापाका अध्यक्ष नवराज पनेरु राजुले प्रतिस्पर्धाका कारण व्यापार घटेको टिप्पणी गरे ।

उनले भने– ‘अहिले चोक–चोक र टोल–टोलमा पसल खुलेका छन्, ती पसलले जस्तो सामान चाहियो त्यस्तै बिक्री गर्छन् त्यसकारण शहर केन्द्रित व्यवसायीको व्यापार घटेको हो । ‘केही समय अघिसम्म दशैंमा मात्र नयाँ लुगा लगाउनुपर्छ भन्ने सोच रहे पनि आवश्यकता अनुसार सामग्री किन्ने गरेकाले अहिले व्यापार घटेको हुनसक्छ’– अध्यक्ष पनेरुले भने– ‘क्रयशक्ति घटेकाले पनि व्यापार घटेको हो ।’

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले व्यापार घट्नुको प्रमुख कारण आर्थिक मन्दी भएको बताए । हरेक चिजमा मूल्यवृद्धि हुनु र आयश्रोत नहुनुले पनि चाडवाडको समयमा खासै व्यापार नभएको अध्यक्ष भट्टराईले बताए ।

आर्थिक रुपमा सवल र सक्षम मानिस भारतीय बजारमा दैनिक उपभोग्यवस्तु किन्न जान्छन्, अहिले गाउँ गाउँमा आवश्यक सामग्री उपलब्ध छ, जसका कारण शहर केन्द्रीत व्यापार घटेको हुनसक्छ– भट्टराईले भने ।

कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले पोके व्यापारीका कारण यहाँको व्यवसाय खस्किएको बताए । उनले भने– ‘बजारमा पान, भ्याट र कर तिरेर बसेका व्यवसायीलाई अस्थायी व्यापारीले बजार कब्जा गरेका कारण पनि व्यापार घटेको हो ।’

क्रयशक्ति घट्दै जानु पनि व्यापार घट्नुको अर्को कारण रहेको उनको भनाइ छ । बजारको अस्तव्यस्तता र गुणस्तरीय सामान दिन नसक्नुले पनि नेपाली उपभोक्ता भारतीय बजारमा आकर्षित हुँदा व्यापार घटेको हो ।

प्रभावकारी अनुगमन नगर्नु पनि व्यापार घट्नुको अर्को कारण रहेको उनको भनाइ छ । ‘यहाँ सुशासनको लागि बजार अनुगमन गर्नुपर्नेमा चाडपर्वमा मात्र बजार अनुगमन गर्ने परिपाटीले व्यापार घटेको हो । खुद्रा व्यापारी र कपडा व्यवसायी त अहिले विस्थापनको अवस्थामा पुगेका छन्’– अध्यक्ष पोखरेलले भने ।

यता मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकजबिक्रम नेम्वाङले उत्पादनमा ध्यान नदिनु र आयातित सामग्रीमा निर्भर रहनुले व्यवसाय फस्टाउन नसकेको बताएका छन् ।

नेपालमा बजार नीति नै स्पष्ट छैन– उनले भने– ‘स्पष्ट वजार नीति नहुँदा व्यापारमा मनपरी छ, जसका कारण व्यापार घटेको हो । नेपाली बजारलाई धान्ने गरी उत्पादन हुने हो भने व्यापार घट्ने थिएन ।’

दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले मूल्य वृद्धिका कारण व्यापार घटेको बताएका छन् ।

प्रतिस्पर्धामा व्यपार वढ्नुपर्ने हो तर मूल्यवृद्धिले व्यापार घटेको छ– अध्यक्ष ढकालले भने– ‘अहिले किन्ने भन्दा बेच्ने धेरै भएकाले पनि व्यापार सोचे अनुरुप हुन नसकेको हो ।’ पहिला जस्तो नयाँ लुगा लगाउन दशैं नै पर्खनु पर्छ भन्ने अवस्था छैन अहिले उनले भने– टोल–टोलमा पसल छन् जस्लाई जतिवेला जे चाहियो त्यही सहजरुपमा किन्न गाउँ–गाउँमा पसल सञ्चालनमा भएकाले अहिले चाडपर्व केन्द्रीत व्यापार घटेको हो ।

बिर्तामोडका युवा व्यवसायी रौनक वंशलले अघिल्लो वर्षको तुलनामा यस वर्ष आधा पनि व्यापार नभएको बताएका छन् । उनले भने– ‘व्यापार नहुनुमा आर्थिक मन्दी नै प्रमुख कारण हो ।

अहिले पहाडमा उत्पादित सामग्रीको व्यापार शून्य झैं छ, घर जग्गाको कारोवार पनि ठप्प छ, विदेशी रेमिट्यान्स भित्रिएको छैन, यस्तो अवस्थामा कसरी व्यापार हुन्छ ?’ म सुन चाँदीको व्यापार गर्छु वंशलले भने – ‘मेरो व्यवसायको कुरा गर्ने हो भने गत वर्षको तुलनामा १० प्रतिशत मात्र विक्री छ ।

भारतीय व्यापारीलाई भ्याई नभ्याई

भारतको पानी ट्याङ्की झापालीका लागि प्रमुख वजार भएको छ । झापाका वजारमा भन्दा भारतको पानी ट्याङ्कीमा घरायसी सामग्री सस्तो पाइने भएकाले झापाली उपभोक्ता पानी ट्याङ्कीमा केन्द्रीत बनेका हुन् । जसको प्रत्यक्ष असर झापाका स्थानीय बजारमा परेको छ ।

चाडवाडको समयमा पनि सोचे अनुसारको व्यापार नभएपछि अहिले झापाली व्यवसायी चिन्तित बनेका छन् । तर, भारतीय बजार पानीट्याङ्कीमा भने नेपाली उपभोक्ताको घुइँचो नै लाग्ने गरेको छ । जसका कारण त्यहाँका व्यापारीलाई अहिले सामान बेच्न भ्याईनभ्याई छ ।

खुल्ला सीमाना र सहज रुपमै भारतीय वजारबाट सामग्री आयात गर्न सकिने भएकाले नेपाली उपभोक्ता सामान खरिदका लागि भारत केन्द्रीत भएका हुन् ।

सटहीमा मालामाल

भारतीय बजारमा सामग्री खरिदका लागि कतिपयले यतै भारतीय रुपैयाँ साटेर लाने गरेका छन् । तर, कतिपयले भारतीय वजारमा नेपाली रुपैयाँ दिएर सामग्री खरिद गर्छन् । भारतमा भारु साट्दा ठगिने डरले काँकरभिट्टामा खुलेका सटही काउण्टरमा भारतीय रुपैयाँ साट्दा सटही काउण्टरमा कारोवार बढेको हो ।

जसका कारण उनीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ । सटही काउण्टरले आफू खुशी सटही मूल्य लिँदा भारतीय रुपैयाँ सटही गर्ने प्रत्यक्ष मारमा पर्ने गरेको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर