Aamsanchar

दशैंका दश कालजयी गीत, जुन कहिल्यै पुराना भएनन्

Author Image
बिहिवार, कार्तिक १, २०७५

काठमाडौं ।

हरेक वर्ष दशैं नजिकिँदै जाँदा दशैं सम्बन्धी दर्जनौं गीत सार्वजनिक हुन्छन् ।

यूट्युबमा सार्वजनिक हुने गीतहरू रेडियो र टेलिभिजनमा पनि बज्छन् । तर पनि रेडियो टेलिभिजनमा दशैंका पुराना केही गीतकै दबदबा बढी देखिन्छ । दशैंका केही यस्ता गीत छन्, जुन कालजयी बनेर स्रोता, दर्शकको मुखमा झुण्डिएका छन् । जसलाई दशैंका सदावहार गीतका रुपमा लिन सकिन्छ ।

१. ‘विछोडको पीडा नसकी खप्न …’

नारायण गोपाल र दिलमाया खातीले स्वर भरेकोे यो गीत दशैंमा सधै गुञ्जिन्छ । दशैंको बेलामा परदेशमा रहँदाको पीडा, परदेशीको घर फर्किने चाहना समेटिएको यस गीतमा रत्नशम्शेर थापाको शब्द तथा नारायण गोपाल स्वयंको संगीत छ । ३० को दशकमा रेकर्ड भएको यो गीत दशैंको कालजयी गीत बन्न सफल रहेको छ ।

२. ‘नमुछे आमा दहीमा टीका …’ 

‘नमुछे आमा दहीमा टीका …’ दशैं आउने बित्तिकै धेरैले सम्झिने अर्को कालजयी गीत हो । यस गीतको शब्द वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले लेखेका हुन् ।

परदेशी छोराले घरमा रहेकी आमालाई दशैंमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरिएको गीतलाई शुरूमा नारायण रायमाझीले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराएका थिए । तर, शुरूमा गीतले त्यति चर्चा पाएनन् । पछि २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले लक्ष्मी न्यौपानेसँग आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो । यस गीतलाई पछि प्रशान्त तामाङले पनि चलचित्रका लागि गाएका छन् ।

नारायण रायमाझीको संगीतमा कृष्णभक्तले रेकर्ड गराएपछि एकाएक चर्चामा पुगेको यो गीत दशैंका सदावहार गीतमध्ये सबैभन्दा मार्मिक गीत हो ।

३. ‘दशैं आयो’

चलचित्र ‘मुग्लान’मा समावेश ‘दशैं आयो’ बोलको गीतले दशैंको मर्म बोकेको छ । लोकनाथ सापकोटाको शब्द रहेको यस गीतमा उदित नारायण झा र दीपा झाले स्वर भरेका छन् । परदेश गएको छोरा घर आउने दिन कुर्दै औंला भाँचेर पर्खिरहेको, घर छाडेका परदेशी फर्केपछि परिवार र आफन्तमा छाएको खुशी, आमाले छोरो आउने बाटो कुर्ने वर्णन, जमरा, रातो टीकादेखि गाउँघरमा पिङ खेलेका कुरा गीतमा समावेश गरिएको छ ।

त्यति मात्र होइन, गीतमा निधारमा रातो टीका र कानमा सिउरिने पहेंलो जमराले दिने चमक र त्यसको महत्त्वलाई पनि गीतमा समेटिएको छ । गीतको भिडियोमा दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा लगायतको अभिनय छ ।

४. ‘दशैं नै हो कि यो मेरो दशा’

योगेस्वर अमात्यको स्वरमा ‘दशैं नै हो कि यो मेरो दशा’ बोलको गीत पनि उत्तिकै मर्मस्पर्शी छ । प्रेम बस्नेतको शब्द, न्ह्यू बज्राचार्यको संगीतमा बजारमा आएको यो गीत करीब २ दशक अगाडि रेकर्ड भएको गीत हो ।

निम्न आयस्रोत भएका परिवारलाई दशैं उत्सवभन्दा पनि दशा बनेर आउने गरेको तीतो यथार्थ गीतले बोलेको छ । यो गीत हरेक वर्षको दशैंमा रेडियो तथा टेलिभिजनमा पटक–पटक गुञ्जिँदै आएको छ ।

५. ‘दशैं आयो, खाउँला पिउँला …’

‘दशैं आयो, खाउँला पिउँला’ बोलको दशैंको बालगीत पनि निकै लोकप्रिय छ । बच्चाले गाउने यो गीतमा चोरेर भएपनि दशैं मनाउँछु भन्नेलाई चोर्नु हुँदैन भन्ने सन्देश दिन खोजिएको छ । यो गीतमा शिव थापाको शब्द, संगीत र स्वर रहेको छ ।

६. ‘यसपालि त यस्तै भो आमा …’

जनगायक जीवन शर्माले स्वर भरेको ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा’ बोलको गीत दशैंको अर्काे कालजयी गीत होे । यस गीतमा दशैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको विरह समाविष्ट गरिएको छ ।

७. ‘दाइ त मेरो लाहुर जाने …’

युक्त गुरुङ र सावित्री शाहको स्वरमा दाजु र बहिनीबीचको सम्बन्धलाई दशैंसँग जोडेर तयार पारिएको गीत हो ‘दाइ त मेरो लाहुर जाने …’ ।

दैवज्ञराज न्यौपानेको शब्द रहेको यो गीतमा दिदीभाइको सम्बन्धसँगै परदेशीको कथा समेटिएको छ । वर्ष दिनमा आउने पर्व दशैंमा लाहुरे छोरो आउने आशामा बुवाआमाले घामको झुल्कोसँगै मूलबाटोमा आँखा बिच्छ्याइरहने कथा गीतमा छ । लाहुरमा रहेको छोराले वर्ष दिनमा आउने दशैंमा जसरी पनि बुवाआमाको आशिर्वाद लिन आउने बताउँदै गीत सकिन्छ । यो गीत दशैंसँगै तिहारमा पनि उत्तिकै बज्ने गरेको छ ।

८. ‘वर्षमा दिनैमा लै लै …’

‘वर्षमा दिनैमा लै लै …’ दशैंको अर्को कालजयी गीत हो । रवी श्रेष्ठको शब्द रहेको गीतमा सुगम पोखरेलको संगीत तथा स्वर रहेको छ । दशैं र तिहारमा परदेशीले घरपरिवारलाई सम्झेर पोखेको बेदना गीतमा समाविष्ट छ ।

वर्षमा एक पटक आउने दशैंमा छोराको बाटो कुरेर बस्ने बुवाआमा र तिहारमा दाइको पर्खाइमा बस्ने बहिनीको कथा गीतमा छ । सुगमको यो गीत सबै उमेर समूहका दर्शकको प्रिय गीत बन्न सफल छ । झण्डै ५ वर्ष अगाडि भिडियोसहित यूट्युबमा सार्वजनिक गरिएको गीतले भ्यूअर्स पनि राम्रो पाएको छ । भिडियोमा सुगमकै अभिनय रहेको छ ।

९. ‘यसपालि दशैंमा …’

‘यसपालि दशैंमा …’ बोलको दशैंको अर्को कालजयी गीत हो । यस गीतमा स्वर्गीय कुल पोखरेलको स्वर रहेको छ । २०५० को दशकमा रेकर्ड भएको गीतमा दसैंमा परिवारका सदस्यले गर्ने अपेक्षालाई उतारिएको छ ।

गीतमा उनको आफ्नै शब्द तथा संगीत छ । कालजयी गीतमा दर्ज हुन सफल यो दशैंको अर्को गीत हो । गीतले परदेशिएको दाजुले दशैंमा ल्याइदिने उपहारले घरमा छाउने खुशीलाई समेटेको छ ।

१०. ‘फौजीको दशैं’

‘फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार …’ बोलको गीत फौजीमा रहेका नेपालीको दशैंतिहारको सन्दर्भलाई समेटेर तयार गरिएको हो । यो गीत दशैंतिहारमा निकै बज्ने गर्दछ । दीपक कोइरालाले शब्दमा जगदीश समालले स्वर भरेका छन् । गीतमा गैरे सुरेशको संगीत रहेको छ ।

गीतले दशैं र तिहारमा पनि घर जान नपाउने फौजीको पीडा बोल्छ । यो गीतले ५ वर्षदेखि दशैं तिहारमा रेडियो टेलिभिजनमा स्थान पाउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)