Aamsanchar

परम्परा र संस्कृति संरक्षणमा यथार्थको अपरिहार्यता

Author Image
आइतवार, कार्तिक २५, २०७५

पूर्णबहादुर कटुवाल

सांस्कृतिक विविधता नेपालीका पहिचान हुन् । बहु सांस्कृतिक मुलुकमा रहेका हाम्रा परम्परा र संस्कृतिले विश्वमै नेपालीलाई गौरवान्वित बनाएको छ र यसैमा हाम्रो गौरव र अस्तित्व पनि कायम रहेको छ । नेपालको लोकतान्त्रिक संविधानले सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्दै मुलुकलाई धर्मनिरपेक्ष भनेर स्वीकारेको अवस्थामा सांस्कृतिक स्वतन्त्रता हाम्रो गौरव पनि हो ।

यसैबीच परम्परादेखि हिन्दू र हिन्दुत्वले विश्वमै चिनाएको मुलुकलाई यसैले सबै धर्म र संस्कृतिलाई समेत संरक्षण गर्दै समय सापेक्षअघि बढिरहेको यथार्थलाई पनि नकार्न सकिँदैन । लिखित र कानूनीरुपमा जुनसुकै अलंकार र पदावली थपिए पनि सबै किसिमका संस्कृतिको महत्व केवल नेपालीले नै बुझेका छन् । त्यही बुझाइबाट नै अहिलेसम्म सबै जात, धर्म र संस्कृतिबीच तादात्म्य रहँदै नेपाली भूखण्ड अखण्डरुपमा ठडिएकै छ ।

परिवर्तन र आधुनिकताका नाममा, अनि शैली बदलिएको नाममा हाम्रा परम्परा र संस्कृति बदल्न खोज्यौँ भने नेपाल र नेपालीको परापूर्वकालदेखिको इतिहास खण्डित हुनसक्छ । आम नेपालीको नागरिक चाहे ती हिमाली हुन्, चाहे पहाडी वा मधेसी, जो भए पनि नेपाली भएको नाताले परम्पराको संरक्षण गर्दै त्यसैमा रमाउनु उनीहरुको विशेषता नै हो । तर, अहिले आम नेपालीका परम्परा र संस्कृतिलाई स्वार्थको रुपमा प्रयोग गर्न थालिएको आभाष पनि नभएको होइन । यसले मुलुकको विगतको इतिहासलाई बङ्ग्याउन सक्छ र भावी पिढँीलाई प्राचिन र पुरातन यथार्थबाट आडम्बरी आधुनिकताको अन्धकारमा धकेल्न सक्छ । तसर्थ यसप्रति कुनै एकल संस्कृति र परम्पराको नामले होइन मात्र नेपालीपनको हैसियतले, साझा विचारले, संरक्षणमा ध्यान दिइयो भने संस्कृति र परम्पराको संरक्षण पनि हुन्छ र विकास र परिवर्तनको मुलधारामा समेत अघि बढ्न सकिन्छ ।

धार्मिक र सांस्कृतिक सहिष्णुता आम नेपालीका मुख्य विशेषता हुन् । एकअर्काको धर्म र संस्कृतिमा रमाउनु परम्परादेखिका आदत हुन् । यिनै प्राचीनकालदेखिका सहिष्णुभावले नेपालीलाई एकताको सूूत्रमा बाँधेको छ । भातृत्व र देशप्रेमको ऊर्जा थपिएको छ । यसलाई अक्षुण्ण राख्नु र भावी पुस्तालाई समेत त्यही गोरेटोमा मार्ग निर्देश गराउनु हाम्रो महानता हो । परिवर्तन होइन । पुरानोको जगेर्ना गर्दै त्यसैमा समयसापेक्ष नयाँपन थप्नु महानता हो । संरक्षणसहितको परिवर्तन पनि हो ।

तर, पछिल्लो समयमा हाम्रा धर्म, संस्कृति र परम्परा संरक्षणका तरिकाहरु विकृत बन्दै गएका छन् । संरक्षण गर्ने भनिए पनि ती अभियान औपचारिकता मात्र बन्दै भएका छन् । वास्तविक संरक्षणकर्ताका अभियन्ता र विकृतितर्फ परम्परालाई धकेल्न खोज्ने र धर्म संस्कृतिलाई साध्य पूरा गर्ने स्वार्थी साधनका रुपमा प्रयोग गर्न खोज्ने समूहबीचको ध्रुवीकरणलाई एकाकार गर्न सकिएन भने इतिहास निमिट्यान्न हुन बेर लाग्दैन । यसतर्फ पनि चासो राखिनु अपरिहार्य भएको छ । परिवर्तनलाई साङ्लोले बाँधेर बन्धक बनाउन सकिँदैन । तर, नियमसम्मत ढंगले यसलाई मुलधारमा भने हिँडाउन अझै सकिन्छ । यसतर्फ २१आँेै शताब्दीको सचेत नागरिकले सोच्नु जरुरी छ । इतिहासका मोड बदलिन सक्छन् तर सिङ्गो इतिहास बद्लिँदैन ।

अहिले समाजमा देखिएका अनियन्त्रित उछृङ्लताले हाम्रा परम्परालाई बङ्ग्याउन खोजेको देखिएको छ । एकातिर सांस्कृतिक अपचलन र उछृङ्खलताको बढ्दै गएको छ भने अर्कोतिर धनसम्पतिको प्रदर्शन र पश्चिमीकरणको प्रभाव समेत बढ्दै गएको छ । नेपालीहरुका महान चाड दशै र तिहार भर्खरै सकिएका हुन् । यी पर्व मनाउने क्रममा देखिएका तडक–भडक र नयाँपनका गतिविधिबारे चर्चा परिचर्चा विभिन्न माध्यम, तह र तप्कामा हुने गरेका छन् । चासो सर्वत्र गरिएको छ । तर, यसलाई नियन्त्रण गर्ने तर्फ खासै चासो देखाइएको पाइँदैन ।

पुस्तैपुस्तादेखि हिन्दुले मान्दै आएको दशैपर्व हिन्दू भएर पनि मनाउँदिन भन्नु वा त्यसलाई बंग्याउनु संस्कृति विकृत हुँदै जानु हो, अझै दशैँ तिहार जस्ता पर्व मनाउनक्रममा खानपान र मनोरञ्जनका कुरामा समेत विकृत व्यवहार देखिएका छन् । चाडपर्व मनाउने शैलीदेखि पूजापाठ र काजकिरियामा समेत नयाँपन र आधुतिकताका नाममा बेथिति भित्रिएका छन् । यसले पछिल्लो पिँढीलाई समेत सकारात्मक सन्देश दिँदैन । समयको बचत, खर्चको बचत र स्वाथ्य र सभ्यताको संरक्षण र बचतका नाममा गरिएको परिवर्तनले आफ्नोपनलाई संरक्षण गर्न सकिँदैन । हो, मानिसको दैनिकी र व्यवहार बद्लिएको छ । प्रविधि र कार्य प्रणाली मानिसलाई साँगुरो घेरामा पारेको छ, त्यो बुझ्नपर्ने सवाल हो, तर यसका बाबजुद नैतिकता र सामाजिकीकरणका बन्धन र नियमका रुपमा समेत रहँदै आएका परम्परालाई बिर्सनु चाहिँ सभ्य समाजको निर्माणको मन्त्र होइन ।

समाज आर्थिक आधारले समेत वर्गिकृत छ । यो समाज संरचनाको आधार पनि हो । सामाजिक वर्गीयता समाजको विशेषता पनि हो । जुनसुकै समाजका वर्ग हुन्छ । त्यो वर्गलाई तादात्म्य गर्ने प्रमुख आधार संस्कृति हो । संस्कृतिले आर्थिक आधारमा बनेको वर्गीय विभेदलाई केही हदसम्म सामन्जस्य गर्ने काम गर्छ । यही वर्गीय विभेद, आर्थिक आधारमा हुने उच्च र नीचलाई जोड्ने सेतु भएन भने समाजमा विखण्डन हुन्छ । यही सामाजिक विखण्डनलाई समेत हाम्रा सांस्कृतिक परम्पराले जोडेर समानता कायम गर्न सक्छ ।

संस्कृतिले दुई वर्गलाई कसरी जोड्छ भन्ने आधार खुट्याउने हो भने उदाहरणका रुपमा भाइटिकालाई नै लिन सकिन्छ । भाइटिकाको दिन दिदीबहिनीले दाजु भाइलाई लगाइदिने सप्तरंगी टिका र मखमली वा सयपत्री फूलको मालाले धन र निर्धनलाई, उच्च वर्ग र निम्न वर्गलाई सिमाङ्कन गर्दैन । यसले सबै वर्ग तह र सामाजिक वर्गलाई जोडेको हुन्छ । मात्र मानवीय आडम्वरले खण्डित बनाएको छ । आर्थिक वर्गीय विभेद र सम्पन्नता र विपन्नताको रेखा कोरेको छ । यसलाई बुझ्न जरुरी छ कि केहो हाम्रो संस्कृति भनेर । आखिर संस्कृतिले हामीलाई विभेद गरेको छ कि हामीलाई संस्कृतिको मर्म बुझेका छैनौं ?

अर्कोतिर मानिसको व्यस्तताले समेत चाडपर्व, परम्परा संस्कार र संस्कृति प्रभावित भएका छन् । आधुनिकताकै कारण मानिस चौबिसै घण्टा मेसिन सरह हुन थालेको छ । व्यस्त जीवनशैली रहर नभएर बाध्यता पनि हुन् । यद्यपि जीवन रहेसम्म व्यवहार अघि बढ्छ । यतातर्फको चिन्तन समेत लोप हँुदै गएको छ । आराम, विराम, रसराग, मानसिक आराम जस्ता कुरा पनि मानिसका लागि अपरिहार्य तत्व हुन् ।

यी तत्वको अभावमा मानसिक थकान, अशान्ति, र शारीरिक कमजोरी बढ्ने निश्चित छ । यसको व्यवस्थापनको लागी समेत वर्षमा निश्चित समय फुर्सदको खाँचो पर्छ । जीवनलाई स्वस्थ्य राख्नको लागि समेत हाम्रा रीतिरिवाज चाडपर्व, परम्परा र संस्कारमा समयलाई उचित व्यवस्थापन गर्न सकिन्छ । यही समयलाई चाडपर्व, संस्कार र संस्कृतिमा खर्चन सकियो भने हाम्रो संस्कृतिको संरक्षण हुन सक्छ । यसतर्फ सोचिनु जरुरी छ ।

तसर्थ संस्कृति संरक्षण गर्दै उन्नतीको बाटोमा स्वस्थ्य जीवनशैली साथ अघि बढ्न र नैनिकतालाई उजागर गर्न समेत संस्कार संरक्षणमा लाग्न जरुरी छ । केवल देखावटी र बनावटी संस्कारले हाम्रो मूल्य र मान्यतालाई संरक्षण गर्न सक्दैन । औपचारिकतामा मात्र सिमित नाराले समाजमा देखिएका विकृति र विसंगती हटाउन सक्दैन ।

यसका लागी र पुर्खाको भावी विरासतलाई संरक्षण गर्न समेत वर्तमान पुस्ताले अघि बढ्नुपर्छ । इतिहासलाई भविष्यमा किताबमा पढिने विकास होइन, व्यवहारमा गर्न, देख्न र देखाउन सकिने व्यवहारिक इतिहासको खाका कोर्न लागी पर्नु पर्छ । यसले मात्र वास्तविक संस्कृति संरक्षण हुन्छ । औपचारिकतामा मात्र होइन सच्चा व्यवहारिकताका साथ अघि बढौँ अनि मात्र हुन्छ यथार्थ संस्कृतिको संरक्षण ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0
Views: 836

प्रतिक्रिया (०)

सम्बन्धित खबर