Aamsanchar

यस बर्ष कनकाईमा छठ पूजा अझ भव्य र सभ्य रुपमा सम्पन्न हुनेछ

Author Image
आइतवार, कार्तिक २५, २०७५

झापाको कनकाई नगरपालिका सुरुङ्गामा रहेको कनकाई छठ सेवा समाजले छठ पूजा भव्यताका साथ सम्पन्न गर्न कनकाई छठ सेवा समाजका महासचिव खगेन्द्र महतोको संयोजकत्वमा ३१ सदस्यीय पूजा मूल आयोजक समिति गठन गरेको छ । कनकाई नगर क्षेत्रमा सामाजिक छबि बनाएका ३१ वर्षीय युवा पूजा आयोजक समितिका संयोजक महतोसँग गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत छ।

कनकाईमा छठ पूजाको तयारी कस्तो छ ?
हामीले यस पटक अगाडिका वर्षभन्दा बढी व्यवस्थित रुपमा पूजा कार्यक्रम सम्पन्न गर्न योजना बनाएका छौं र सोही अनुरुप कार्यसम्पादन पनि गरिरहेका छौं । व्यवस्थित रुपमा पूजा सुसम्पन्न गर्न मूल समिति र उपसमितिहरु गठन गरी जिम्मेवारी दिइएको छ । मेरो संयोजकत्वमा ३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा वीरेन्द्र शाह, राजकुमार शाह (राजु), विनोद चौधरी, रोशन शाह, शम्भु सहनी, पवन ठाकुर, लक्ष्मण मण्डल, राजकुमार मण्डल, गणेश मण्डल, शिवनारायण चौधरी, मालतीदेवी शाह रहेका छन् । त्यसै गरी सदस्यहरुमा प्रमिला शाह, अम्बिका कामत, शम्भु बर्मन, लक्ष्मी शाह, दीपक शिवाकोटी, नन्दकिशोर कारक, मन्नु कारक, रामप्रसाद शाह, सरोज चौधरी, पप्पु चौधरी, उमेश ठाकुर, प्रमोद पञ्जियार, ओमप्रकाश पञ्जियार, विशाल पञ्जियार, सुरज रजक, राहुल सोनी, गौरीशंकर शाह, निरज शाह र अशोक शाह रहेका छन् । त्यसै गरी, जिम्मेवारी निर्धारण गरी मूल आयोजक समितिसँगै कार्यविभाजन सहितको विभिन्न १८ वटा उपसमिति पनि गठन गरिएका छन् । पूजा मूल आयोजक समिति, उपसमिति र युवा समिति सबैलाई कनकाई छठ सेवा समाजका अध्यक्ष पवन शाहको मार्गनिर्देशन रहेको छ ।

छठ पूजाका लागि कार्यक्रम कसरी तय गरिएको छ ?
पूजा व्यवस्थित रुपमा सम्पन्न गर्न समितिले विभिन्न कार्यक्रम समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रममा कार्तिक २४ गतेसम्म प्रचारप्रसार, २५ गते सरसफाई, २६ गते खर्ना पुजा, २७ गते झाँकी सहितको शान्ति ¥यालीले सुरुङ्गा नगरी परिक्रमा गरी कनकाई नदीसम्म पुग्ने, सोही दिन २ बजे कनकाई माईको पूर्वी तटमा औपचारिक पुजा उद्घाटन गर्ने साथै त्यही दिन रात्री जागरण लगायतका कार्यक्रमहरु राखिएका छन् । २७ गते औपचारिक कार्यक्रमपछि अस्ताउँदो सूर्यलाई अर्घ दिने (संस्कारक) र २८ गते बिहान उदाउँदो सूर्यलाई अर्घ दिने (पारण) गरिनेछ । समुद्घाटन कार्यक्रम प्रदेश नं. १ का प्रमुख डा. गोविन्द सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ । यस पटकको छठ पूजामा ५ हजार बढी मानिसको सहभागिता रहने अनुमान गरिएको छ । छठ पूजाको लागि ६ दर्जन बढी घाटहरु निर्माण गरिएको छ । कार्यक्रम स्थलमा छठ पुजा उत्सवलाई भव्य बनाउन विभिन्न विद्युतीय उपकरण जडान गरिएको छ ।

जागरण समयमा अन्य विशेष कार्यक्रमहरु पनि राखिएका छन् ?
जागरण समयमा देशका विभिन्न चर्चित कलाकारको प्रस्तुतिहरु रहने तय गरेका छौं । कार्यक्रममा हाँस्य कलाकारहरु शिवशंकर रिजाल (जोगेन्द्र पानवाला), सुरेन्द्र केसी (मुलाको साग), श्रीकृष्ण लुइँटेल (बोकेदा¥ही), गायक प्रेम आङदेम्बे, चर्चित कार्यक्रम प्रस्तोता एवं गायक राजेश घतानी, स्थानीय लोकप्रिय गायिका प्रज्ञा प्रधानसहितको स्थानीय कला केन्द्रहरुको प्रस्तुति रहने छ । कार्यक्रमलाई थप आकर्षण दिन आर.के. स्टार झुम्का सुनसरीको टोलीको प्रस्तुतिमा भजन सन्ध्या र माधव भेटवाल नेतृत्वको टोलीले झाँकी कला र विभिन्न भगवानसँग सम्बन्धित शास्त्रीय नृत्य देखाउने छ । केही वर्ष यतादेखि छठ पूजामा तराईवासी बाहेक पहाडवासी, हिमालवासी तथा अन्य धर्मसम्प्रदायका मानिस पनि सामेल हुँदै आएका छन् ।

यो वर्ष त्यसलाई कसरी व्यवस्थित गरिँदैछ ?
हामीले छठ पूजालाई फराकिलो दायरामा लैजान चाहिरहेका छौं । दशैं, तिहार, होली जस्तै छठ पूजा पनि साझा पर्व हो । हामीले विगतका वर्षहरुमा पनि जिल्लामै उत्कृष्ट पूजा व्यवस्थापन गरेका हौं । कनकाई नदी झापाकै सबैभन्दा ठूलो र नेपालको पूर्व क्षेत्रकै सबैभन्दा बढी धार्मिक महत्व बोकेको नदी हो । भक्तजनको हृदयमा यति ठूलो र गहिरो प्रभाव रहेको उक्त नदीको किनारमा हाम्रो पूजा सम्पन्न हुन गइरहेको छ । कनकाई नगरपालिका आफैंमा बन्दमुक्त शान्तिक्षेत्रको रुपमा चिरपरिचित छ । यस वर्ष अझ शान्तिपूर्ण, भव्य, सभ्य र मर्यादित रुपमा उच्च व्यवस्थापनमा पुजाको आयोजना गर्न स्थानीय सरकार कनकाई नगरपालिकालाई संरक्षक र नगरभित्रका सबै संघसंस्थालाई सहयोगी संस्थाका रुपमा चयन गरेका छौं । सबै संघसंस्थाहरुले हामीलाई हृदयदेखि नै सहयोग गरिरहेका छन् ।

यति ठूलो पूजा सम्पन्न गर्ने कार्ययोजना बनाउनुभएको छ । खर्चको प्रबन्ध कसरी गर्नुहुन्छ ?
पूजा सम्पन्न गर्न १२ लाख ५० हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । खर्चका लागि कनकाई नगरपालिका, स्थानीय संघसंस्था, जागरण समयमा हुने सांस्कृतिक कार्यक्रमका लागि टिकट बिक्री र कनकाई छठ सेवा समाजका सदस्यहरु सबैबाट सहयोग लिइरहेका छौं । यसै वीच कनकाई सामुदायिक वन उपभोक्ता समितिले छठपूजा सबैको साझा पर्व भएकाले कार्यक्रमस्थल नजिक रहेका झाडीहरु फँडानी गर्ने कार्य सम्पन्न गरेको छ भने शान्तिसुरक्षाको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, सशस्त्र बेसक्याम्प टाघनडुब्बा तथा स्थानीय सुरक्षा निकायलाई अनुरोध गरिएको छ । यसका साथै शान्तिसुरक्षालाई थप व्यवस्थित गर्न बिनोद चौधरीको संयोजकत्वमा ३१ सदस्यीय युवा समिति गठन गरिएको छ भने स्थानीय युवा क्लबहरुलाई सहयोगका लागि अनुरोधसहित पत्राचार गरिएको छ । हामीलाई आशा छ–यस पटकको पूजा शान्तिपूर्ण तथा मर्यादित रुपमा सम्पन्न हुनेछ । कनकाई–३ सुधीरमार्गस्थित सेल्फीडाँडा झर्नाबस्तीमा कनकाई छठ सेवा समाजको नाममा रहेको ४ कठ्ठा ४ धुर जग्गामा नेपालमै पहिलो सूर्य भगवानको मन्दिर बनाउने र त्यसका साथमा व्यवस्थित सामुदायिक भवन बनाउने लक्ष्यसहित हामी अघि बढेका छौं । सूर्य भगवानको आशीर्वाद, कनकाई नगरवासीको माया र हाम्रो इच्छाशक्तिले हामी पूजा सम्पन्न गर्नेछौं र केही वर्षभित्रमा सूर्य भगवानको मन्दिर पनि निर्माण गर्नेछौं ।

प्रस्तुति : तीर्थराज खरेल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)