Aamsanchar

श्रीदेवीको आँखामा हराउँथे आमिर खान

Author Image
आइतवार, कार्तिक २५, २०७५

एजेन्सी ।

आमिर खान आजकाल आफ्नो फिल्म ‘ठग्स अफ हिंदोस्तान’ का लागि निकै उत्साहित छन् किनभने उनले पहिलो पटक अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका छन् ।

आमिर खान भन्छन्, ‘मेरो सधैं एउटा इच्छा थियो कि म आफ्ना दुई सबैभन्दा मनपर्ने कलाकारसँग काम गरुँ । म अमिताभ बच्चन र श्रीदेवीलाई देखेर सधैं अक्क न बक्क हुन्छु । मैले कहिले पनि श्रीदेवीसँग काम गर्न सकिनँ, यसको मलाई सधैं अफसोस रहेको छ । श्रीदेवीसँग मैले कहिले पनि फिल्म खेल्ने मौका नै पाइनँ ।’

मिस्टर परफेक्शनिष्टको रुपमा परिचित अभिनेता आमिर खानले बीबीसँगको विशेष कुराकानीमा भन्छन्, ‘श्रीदेवीसँग काम गर्न नपाउनुको अफसोस मलाई जिन्दगी रहेसम्म रहनेछ । सायद तपाईंलाई थाहा छैन होला म श्रीदेवीको निकै ठूलो फ्यान हुँ । मलाई आज पनि याद छ मैले आफ्नो अभिनयको सुरुवाती दिनमा उनीसँग फोटोसुट गर्ने मौका पाएको थिएँ ।’

श्रीदेवीको आँखामा हराउँथेः

‘मेरो उनीमाथि निकै ठूलो क्रश थियो । म जब उनलाई हेर्थे तब उनको आँखामा हराउँथे । त्यसकारण जब हामी फोटोसुट गरिरहेका थियौं तब म जानीजानी उनको आँखा हेरिरहेको थिइनँ किनभने म चाहन्नँ थिएँ कि म उनको निकै ठूलो प्रशंसक भएको उनलाई थाहा होस् ।’

आमिर खान आफ्ना पुराना दिन याद गर्दै भन्छन्, ‘म एकपटक श्रीदेवी जीसँग फिल्म खेल्न चाहन्छु भन्दै निर्देशक र निर्माता महेश भट्टलाई भेट्न गएको थिएँ । अंग्रेजी फिल्म ‘रोमन होलिडे’ सँग प्रेरित भएको कहानी पनि सँगै लगेको थिएँ । यो एक रोमान्टिक फिल्म हो र मेरो इच्छा थियो कि म र श्रीदेवीले यो फिल्ममा अभिनय गर्ने । ’

‘तर जब यो फिल्मको कहानी महेश भट्टले सुने तब उनले उक्त फिल्म ‘इट ह्यापन इन वन नाइट’ बाट प्रेरित भएको बताउँदै त्यसको मूल कहानीबारे जानकारी दिए । त्यसपछि हामीले यो हलिउड फिल्मबाट प्रेरणा लिएर बनायौं ‘दिल हे कि मानता नहीं’ । अफसोस यो रह्यो कि उक्त फिल्ममा पनि मैले श्रीदेवीसँग काम गर्ने मौका पाइनँ ।’

निकै मेहनत गर्छन् बच्चनः

श्रीदेवीसँग त पाइनँ तर अमिताभ बच्चनसँग काम गर्ने आमिरको सपना पूरा भयो । आमिर भन्छन्, ‘अमिताभ बच्चनको जतिसुकै तारिफ गरेपनि त्यो कम छ । यो उमेरमा पनि उनले फिल्ममा खतरा स्टन्ट गरेका छन् । मलाई लाग्थ्यो कि म नै सबैभन्दा धेरै रिहर्सल गर्दथें्र तर उनी त मैले भन्दा धेरै मेहनत गर्छन् । अमिताभ बच्चन साहबसँग मेरो एउटा फिल्मको घोषणा पनि भएको थियो वर्षौं पहिले । उक्त फिल्मको मूहुर्त पनि भएको थियो तर फिल्म कहिले बन्न सकेन । मलाई त्यतिबेला निकै दुःख लागेको थियो तर मेरो यो सपना अब पूरा भएको छ ।’

फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर जबदेखि सार्वजनिक भयो त्यतिबेलादेखि हलिउड फिल्म ‘पाइरेट्स अफ द क्यारेबियन’ सँग यसको तुलना भइरहेको छ । उक्त फिल्म हलिउड फिल्मकै नक्कल भएको बताइन्छ तर आमिर खान भन्छन्, ‘हाम्रो फिल्म पाइरेट्स अफ क्यारेबियनसँग पटक्कै मिल्दैन । फिल्ममा हामी लुटेरा बनेको र पानी जहाज देखाइएको भएर मानिसहरुलाई यस्तो लागेको हुनसक्छ ।’

‘मेरो र ज्याक स्पेरोको भूमिकामा कुनै समानता छैन । हाम्रा निर्देशक विजय कृष्णा आचार्य (विक्टर) ले यो हलिउड फिल्मबाट केही लिएका छैनन् । म यो भन्न चाहन्छु कि यदि तपाईंले मेरो भूमिका देख्नुभयो भने तपाईंले ज्याक स्पेरोलाई पक्कै पनि बिर्सनु हुनेछ । यो फिल्ममा काम गरेकाले मैले यस्तो भनिरहेको होइन । निर्देशक विक्टरले फिल्मका सबै पात्रको भूमिकालाई निकै राम्रोसँग लेखेका छन् ।’

फिल्म राजा हिन्दुस्तानीपछि २२ वर्ष पछि आमिर खानको कुनै फिल्म दिवालीमा रिलिज भइरहेको छ । यो फिल्ममा आमिरसँग अमिताभ बच्चन, कट्रिना कैफ र फातिमा सना शेखको मुख्य भूमिका रहनेछ । फिल्म नोभेम्बर ८ मा रिलिज हुँदैछ ।बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर