Aamsanchar

भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

Author Image
शनिवार, मंसिर १, २०७५

बिर्तामोड।

बाह्रदशी गाउँपालिका–३मा राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आयोगको क्षेत्रीय कार्यालय इटहरीमा गत असोज २१ गते विद्यालयमा भएको आर्थिक अनियमितताको अविलम्ब छानविन गरी कार्वाही गरी पाउँ भन्दै उजुरी परेको बताइएको छ । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले ६ महिनाको अवधिमा विद्यालय खातामा रहेको लगभग २६ लाख रुपैयाँ पूर्ण रुपले फर्जी बिल भर्पाई पेश गरी आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख भएको स्रोतको दावी छ ।

गाउँपालिकाबाट निकासा भएको १५ लाख रुपैयाँको पनि अपचलन गरी न्यून बजेटमा निर्माण गरेर बढीभन्दा बढी रकमको बिल भर्पाई पेश गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारमा उजुरी गरेको बिद्यालयका एक शिक्षकले बताए ।

अख्तियारमा परेको उजुरीमा आर्थिक बर्ष ०७४।०७५मा वितरण गर्नुपर्ने रामनारायण मिश्र छात्रबृत्तिको दुई लाख १० हजार रुपैयाँ वितरण नगरी आर्थिक चलखेल गरेको, एकै बर्षमा दुईपटक बार्षिकोत्सव मनाउँदा तीन लाखभन्दा बढी खर्च गरेको, आर्थिक बर्ष ०७३।०७४मा जिविस झापाबाट निकासा भएको पुस्तकालय निर्माण शीर्षकको रकम छ लाख ५० हजार आर्थिक बर्ष ०७४।०७५मा खर्च गरिएको देखाए पनि मनोमानी ढंगबाट बिल पेश गरिएको, सम्पूर्ण रकमको बिल भर्पाई नभएको, पेश गरिएको बिल तथा भर्पाई बमोजिमका पुस्तकहरु पुस्तकालयमा नभएको, उपलब्ध पुस्तक अत्यन्त पुराना प्रकाशन तथा संस्करणका भएकाले उपयोगी नरहेको उल्लेख छ ।

त्यस्तै विद्यालयको दक्षिणतर्फको भवनको बरन्डा निर्माणमा अपत्यारिलो बिल भर्पाई पेश गरी ५ लाख ५० हजार रुपैयाँ खर्च गरेको, अफिस कोठामा एउटा राउण्ड टेवल र ३० वटा कुर्सी खरिद खर्च तीन लाख ५१ हजार रुपैयाँको बिल पेश गरिएको, तत्कालीन जिल्ला शिक्षा कार्यालय झापाले सीआईटी कार्यक्रम अन्तर्गत ब्राण्डेड कम्प्युटर खरिद गर्न दिएको रकमले अति कमसल र एसेम्बल गरिएको कम्प्युटर खरिद गरी चरम आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ । विद्यालयमा जडान गरिएको इन्टरनेटको एक बर्षको महशुलसहितको वास्तविक लागत २७ हजार भए पनि ५५ हजारको बिल प्रअ र सहायक प्रअले मिलेमतोमा पेश गरेको उजुरीमा उल्लेख छ ।
त्यस्तै विद्यालयको दक्षिणतर्फको बरन्डा, मञ्च, साइकल स्टेण्ड, खानेपानी तथा स्रोतकेन्द्र भवन निर्माणमा कमसल सामग्रीको प्रयोग गरी अपत्यारिलो बिल पेश गरिएको उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ– एउटा ट्युबवेल जडान गरिएको खर्च तीन हजार पाँच सय भनिए पनि वास्तविक खर्च दुई हजार मात्र रहेको, प्रति ट्याक्टर बालुवा खर्च दुई हजार पाँच सय भनिए पनि वास्तविक खर्च एक हजार मात्र रहेको, प्रतिबोरा सिमेन्ट खर्च सात सय भनिएकोमा वास्तविक खर्च ६ सय २० मात्र रहेको उजुरीमा उल्लेख छ ।
त्यस्तै स्मारिका प्रकाशनमा पनि फर्जी बिल बनाई मोटो रकम हिनामिना गरेको उल्लेख छ । स्मारिका प्रकाशनको नाममा एक लाख ५३ हजार रुपैयाँभन्दा बढी खर्च गरेको फर्जी बिल पेश गरिएको उल्लेख छ । विद्यालयमा प्रयोग नहुने साउण्ड मिक्चर लगायतका सामग्री खरिदमा दुई लाख १४ हजार खर्च गरी आर्थिक चलखेल गरेको उजुरीमा भनिएको छ ।

त्यस्तै हाउस ड्रेस विक्री गर्ने वहानामा कमिशनको खेती गरेको, प्रअबाट २०७३को एसईई रजिष्ट्रेशन फारमबाट प्रतिविद्यार्थी तीन सय २० रुपैयाँ दस्तुर लिनुपर्नेमा प्रतिविद्यार्थी ५ सय ५० रुपैयाँका दरले उठाइ नगदी रसिद समेत नदिई भ्रष्टाचार गरेको उजुरी परेको छ ।  विद्यालयको नाममा रहेको बाह्रदशी–१को २२ विगाह जग्गा कथित सम्झौता गरी गैरकानूनी रुपमा पशुपति कृषि फर्मलाई २२ बर्षका  लागि एक करोड ३०लाखमा लिजमा दिएको साथै सो जग्गा २०७५ बैशाख १६ गते सो फर्मलाई हस्तान्तरण गर्ने भनी विद्यालय व्यवस्थापन समितिले निर्णय गरे पनि हालसम्म ठेक्का वापतको रकम विद्यालयको खातामा दाखिला नगरेको उजुरीमा उल्लेख छ ।

विद्यालयको कोषबाट एक लाख १५ हजारभन्दा बढी रकम स्रोत केन्द्रको विभिन्न कार्यमा खर्च गर्न दिइ अनियमितता गरेको र विद्यालयका प्रधानाध्यापक विद्यासागर चौधरी र सहायक प्रधानाध्यापक गुणनिधि लुइँटेल विद्यालयमा पूरा समय उपस्थित नभई समयको भ्रष्टाचार गरेको, पठनपाठनमा पूरा समय नदिई शैक्षिक भ्रष्टाचार गरेको, एसईई रिजल्ट सुधारमा कुनै चासो नदिएको तथा शैक्षिक गुणस्तर सुधारका लागि नीतिगत प्रयास नगरेको भन्दै अख्तियारमा उजुरी परेको एक अभिभावकले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)