Aamsanchar

एक नम्बर स्तरिय ‘एनएमसी भलिवल कप’ हुने

Author Image
शनिवार, मंसिर १, २०७५

दिपेन लावती / शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिकामा एक नम्बर प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । यहि मंसिर ३ गतेदेखि ५ गतेसम्म आयोजना हुने प्रतियोगितामा दुई विभागिय टोली सहित १० टिमको सहभागिता रहने शनिवार बुधवारेमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा आदर्श युवा क्लव र चन्द्र सुर्य युवा क्लव सह–आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक नेपाल बहुद्धेश्यीय सहकारी संस्था रहेको छ । सो प्रतियोगितामा झापा जिल्ला भलिवल संघको प्राविधिक सहयोग रहने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

‘बुद्धशान्तिको चाहाना खेलकुद समृद्धिको कामना’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता बुद्धशान्ति गाउँपालिका–३ बुधबारेमा हुने मुल आयोजक समितिका संयोजक सन्तोष कुमार ढकालले जानकारी दिए । प्रतियोगितामा आयोजक (रा.यु.स.बुद्धशान्ति), झापा, मोरङ्ग, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङ, नेपाल प्रहरी, शसस्त्र प्रहरी र धनकुटाले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, ट्रफि, प्रमाण–पत्र, उप–विजेता टोलीले नगद ५० हजार रुपैयाँ, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् भने तेस्रो हुने टोलीले नगद २५ हजार रुपैयाँ, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १२ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त प्रतियोगिताबाट बचेको रकमबाट कञ्चनजंगा पुस्तकालयको स्तर बृद्धि गरि इ–लाईब्रेरी संचालन गर्ने र दुर्घटना न्युनिकरण गर्न बुधबारे बजार भित्र तीन ठाउँ सि.सि. क्यामरा जडान गर्न सहयोग गर्ने आर्थिक उप–समितिका संंयोजक प्रेम नेम्बाङले जानकारी दिए ।

प्रतियोगिताको सह–प्रायोजक गोकुलम रिसोर्ट इटहरी रहेको छ भने प्रतियोगिता सम्पन्न गर्न ५१ सदस्सिय मुल समिति र विभिन्न ९ उप–समिति गठन गरिएको प्रचारप्रसार संयोजक अनिल वाग्लेले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)