Aamsanchar

साँघुरो सडकले यातायात व्यवस्थापनमा चुनौती

Author Image
सोमवार, मंसिर ३, २०७५

तुलसीपुर, 

तुलसीपुर उपमहानगरपालिका अहिले यातायात व्यवस्थापनमा लागेको छ । पर्याप्त पार्किङको व्यवस्था नहुँदा र साँघुरो सडकका कारण यातायात व्यवस्थापन चुनौती बन्दै गएकाले प्रदेश सरकारले शुरु गरेको हर्न निषेध अभियानमा समेत चुनौती थपिएको छ ।

पाँच मिटरको बाटोमा ठूला सवारी साधन, अटो रिक्सा, साइकल, ्भुस्याहा कुकुर, छाडा चौपाया र यात्रुका साथै बजारका मुख्य सडक वरपर सवारी सधान पार्किङले गर्दा भरिभराउ हुने गरेको छ ।

व्यस्त सडकका कारण व्यवसायी पनि आजित भएका छन् । मुख्य चोकको सडक किनारामा ट्राफिक प्रहरी र उपमहानगरपालिका–५ ले साना सवारी साधन पार्किङका लागि स्थान छुट्टयाए पनि बाटो नै छेक्ने गरी पार्किङ गर्दा अन्य ठूला सवारीका सधान र यात्रुलाई समस्या हुँदै आएको छ । सडकपेटी पनि व्यवसायीले आफूखुशी प्रयोग गर्दा पैदल यात्रु कहाँबाट हिँड्ने भन्ने समस्या भएको छ ।

“बीच सडकमा ठूला गाडी गुडेका हुन्छन्, छेउमा साना सवारी साधन पार्किङ हुँदा हामी पैदल यात्रु कसरी हिँड्ने”, स्थानीयवासी चन्द्रबहादुर केसीको गुनासो थियो । त्यस्तै गाडी चालक र स्वयं ट्राफिक प्रहरीलाई पनि यो विषय टाउको दुखाइ भएको छ ।

“सडक छेक्ने गरी मोटरसाइकल पार्किङ हुन्छ, त्यसमा पनि छाडा चौपाया र पैदलयात्रुका कारण कसरी गाडी चलाउने भन्ने समस्या पर्दै आएको छ”, चालक पूर्ण वलीले भन्नुभयो । अभियान राम्रो भए पनि विकल्प नहुँदा निकै समस्या भएको उहाँको भनाइ थियो । पार्किङ निषेध क्षेत्र भनी होर्डिङ बोर्ड राखे पनि त्यसैको तल सवारी साधन पार्किङ गर्दा आफूहरुलाई सम्झाउनै समस्या भएको ट्राफिक प्रहरीहरू बताउँछन् ।

पछिल्लो समय भने वडा नं ५ र ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन सुधार गर्दै लगेको छ । तुलसीपुर बजारमा हर्न बजाउनेलाई कारवाही गरिने भएको छ । एक वर्षअघि नै हर्न निषेध गरिए पनि त्यसको कार्यान्वयन नभएकामा अहिले कारवाही गर्ने नीति नै अघि सारिएको हो । उक्त वडाका जनप्रतिनिधि, प्रहरी तथा सरोकारभएकाहरू भएको बैठकले बजार क्षेत्रमा अटेरी गरी हर्न बजाउने चालकलाई यही मङ्सिर १६ गतेदेखि कारवाही गर्ने निर्णय गरेको हो ।

त्यसअघि वडा कार्यालयले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्ने वडाध्यक्ष वीरेन्द्रकुमार शाहले जानकारी दिनुभयो । बैठकले आइतबारदेखि १५ गतेसम्म विभिन्न स्थानमा चेतनामूलक होर्डिङ बोर्ड राख्ने, सूचना, पम्पलेट र प्रचारप्रसारको माध्यमबाट जानकारी गराउने निर्णय गरेको छ । उक्त निर्णयलाई अटेर गरी जथाभावी हर्न बजाउनेलाई कानूनअनुसार कारवाही गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)