Aamsanchar

एनएमसी बुद्धशान्ति कप शुरु / आयोजक, संखुवासभा र भोजपुरको विजयी सुरुवात

Author Image
सोमवार, मंसिर ३, २०७५

बुधबारे।

झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारेमा सोमबारबाट एनएमसी बुद्धशान्ति कप प्रदेश १ स्तरीय नकआउट भलिवल प्रतियोगिता शुरु भएको छ । ३ दिन सम्म चल्ने प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति, संखुवासभा र भोजपुरले विजयी सुरुवात गरेका छन् ।

राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा धनकुटालाई २५–१८, २५–२२, ९–२५ र २५–१६ ले हराउँदै संखुवासभा विजयी भएको छ । जसमा धनकुटाका रोसन विक म्यान अफ दि म्याच घोषित भए । संखुवासभाले मंगलबार क्वाटर फाइनलमा ताप्लेजुङसँग खेल्नेछ ।

त्यस्तै मोरङलाई २५–१२, २२–२५,२५–९ र २५–२२ ले हराउँदै आयोजक विजयी भएको छ । प्रतियोगितामा मोरङका विवेक चौधरी म्यान अफ दि म्याच भए । सेमी फाइनल यात्रा तय गरेको आयोजकले फाइनल प्रवेशका लागि संखुवासभा र ताप्लेजुङ विचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

त्यस्तै प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा शसस्त्र प्रहरी बल पकलीलाई हराउँदै भोजपुर विजयी भएको छ । प्रतियोगितामा भोजपुरका दिनेश तामाङ म्यान अफ दि म्याच घोषित भएको आयोजकका अनिल वाग्लेले जनाएका छन् । भोजपुरले शसस्त्रलाई २५–१५, २५–२१, २२–२५, २२–२५ र १५–१२ को सेटले हराएको थियो ।

राष्ट्रिय युवा समाजका अध्यक्ष सन्तोष ढकालको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेल र नेपाल बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको विशिष्ठ आतिथ्यता रहेको थियो ।

अनिल वाग्लेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका संस्थापक अध्यक्ष मनोरथ तिवारीले राखेका थिए भने । प्रमुख अतिथि भुजेल, विशिष्ट अतिथि उप्रेती, विशेष अतिथि नेपाल पेट्रोलियम डिलर्स एसोशियसनका केन्द्रीय सचिव लयप्रसाद भण्डारी, अतिथि बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष शम्भु पौड्याल, पूर्वेली साप्ताहिकका अध्यक्ष चन्द्र कोइराला लगायतले प्रतियोगिताको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

चन्द्रसूर्य युवा क्लब तथा आदर्श युवा क्लब बुद्धशान्ति सहआयोजक रहेको प्रतियोगितामा मुख्य प्रायोजक नेपाल बहुउदेश्यीय सहकारी संस्था र सहप्रायोजक गोकुलम रिसोर्ट इटहरी रहेको बताइएको छ । उद्घाटन कार्यक्रममा एराएभर ग्रिन अंग्रेजी विद्यालय, कर्णाली एजुकेशन फाउन्डेसन तथा चन्द्रसूर्य क्लबले सांगितिक प्रस्तुति राखेका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि, उपविजेताले नगद ५० हजार र ट्रफि पाउने छन् भने तेस्रो हुने टिमले नगद २५ हजार पाउने आर्थिक समिति संयोजक प्रेम नेम्बाङले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)