Aamsanchar

मिडियामा अयोग्य र ज्ञान नभएकाहरु हावी

Author Image
मङ्गलवार, साउन २५, २०७३

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अध्यक्ष – प्रेस काउन्सिल नेपाल

Boran-Bahadur-Karki-shareसङ्ख्यामा वृद्धि, गुणमा ह्रास

नेपालमा मिडियाहाउसको सङ्ख्या अत्यधिक मात्रामा बढिरहेको छ । सङ्ख्यात्मक हिसाबले मिडिया र मिडियाकर्मी बढ्दै जाने तर त्यसबाट उनीहरुको जीविकोपार्जन नहुने समस्या पनि उत्तिकै मात्रामा बढ्दै गइरहेको छ । अर्को कुरा पत्रकारको सङ्ख्यामा धेरै वृद्धि भएको छ तर ज्ञान, सीप र क्षमताको वृद्धि हुन सकेको छैन ।

नेपालको सञ्चार क्षेत्र एउटा अव्यवस्थित सहर जस्तो बन्दै गइरहेको छ । दिगो र टिकाउ सञ्चारमाध्यमका लागि जे–जे कुराको आवश्यकता पर्दछ ती कुरा यहाँका मिडियामा छैनन् । सञ्चारमाध्यम त धेरै खुलेका छन् तर ती व्यवस्थित हुन सकिरहेका छैनन् । मोफसलका सञ्चार माध्यमको स्थिति आर्थिक रुपमा धेरै नै दयनीय छ । ती मोफसलका सञ्चार माध्यमलाई कसरी दिगो र टिकाउ बनाउने भन्ने चुनौती यतिबेला देखिएको छ । त्यसै गरी मोफसलका पत्रकारले उनीहरुको ज्ञानको दायरा फराकिलो बनाउन जरुरी छ । समग्रमा मिडिया क्षेत्रको सङ्ख्यात्मक वृद्धि त भएको छ तर गुणात्मक हिसाबले विकास गर्न बाँकी नै छ ।

अस्वस्थ प्रतिस्पर्धा

जसले जतिबेला पनि कुनै पूर्वाधारविना नै सञ्चारमाध्यम खोल्ने अस्वस्थ प्रतिस्पर्धा नेपाली मिडिया क्षेत्रको प्रमुख समस्या बनिरहेको छ । नेपाल सरकारले यहाँका सञ्चार माध्यमलाई दिगो र टिकाउ बनाउने नीति ल्याउनुपर्छ । त्यसैगरी सञ्चालनमा आउन लागेका नयाँ सञ्चार माध्यमको लागि आवश्यक पूर्वाधार पूरा गरेको छ कि छैन भनेर अनुगमन गर्न आवश्यक छ । पूर्वाधारहरु भन्नाले उसले गर्ने लगानी कति हो ? त्यसको आधार के हो ? र कति वर्षका लागि उसले सञ्चारमाध्यम सञ्चालन गर्न लागेको हो भनेर प्रभावकारी अनुगमन गरेर मात्र अनुमति दिनुपर्दछ । कम्तीमा पनि पाँच वर्षको म्यान्डेट राखेर मात्र सञ्चारगृह सञ्चालनको अनुमति दिनुपर्छ । कति जनशक्तिको आवश्यकता पर्ने हो र त्यति जनशक्तिलाई उसले न्यूनतम पारिश्रमिक दिन सक्छ कि सक्दैन भनेर कडाइपूर्वक खोजीनीति गर्नुपर्दछ । कुन क्षेत्रमा सञ्चारमाध्यम सञ्चालन हुन लागेको हो र त्यो क्षेत्रमा त्यो सञ्चारमाध्यम टिक्न सक्छ कि सक्दैन भनेर पनि खोजीनीति गर्न आवश्यक छ । एउटा सञ्चारमाध्यम सञ्चालनका लागि आवश्यक पर्ने यी यावत पूर्वाधारलाई नजरअन्दाज गरेर मिडिया सञ्चालन गर्न दिनु सरासर गलत हुन आउँछ । पुराना मिडिया हाउसलाई दिगो बनाउनका लागि सोही खालका नीति अवलम्बन गर्ने र नयाँ दर्ता हुन आउनेका लागि पूर्वाधार पूरा गरेकालाई प्राथमिकता दिने, थप सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि दबाबसमेत दिने गरेर मात्र अनुमति हो भने मिडिया सञ्चालकलाई मिडिया सञ्चालनमा जिम्मेवार बनाउन सकिन्छ ।

हचुवाको भरमा लगानी

सञ्चार क्षेत्रका मूल्य, मान्यता र सिद्धान्त नबुझिकन हचुवाको भरमा लगानी गर्ने प्रवृत्ति पछिल्ला दिनमा सबैतिर बढ्दै गएको छ । सञ्चार माध्यम लाभमुखी व्यावसाय होइन, सेवामुखी व्यावसाय हो भनेर यसका लगानीकर्ताले बुझ्नु जरुरी छ । सेवामुखी व्यावसाय भएको हुनाले यसलाई सोही तरिकाले बुझेर मात्र लगानी गर्नुपर्ने हो तर यहाँ त्यसो भइरहेको छैन । लगानीकर्ताले सनकको भरमा सञ्चारमाध्यम सञ्चालन गर्ने र यसलाई अनुचित रुपमा प्रयोग गर्ने र गलत तरिकाले आर्थिक लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्दछ ।

borna bahadur karkiआचारसंहिताको उल्लङ्घन

पत्रकारितामा आचारसंहिता उल्लङ्घनको प्रवृत्ति पनि दिनहुँ बढिरहेको छ । व्यक्तिको इज्जत, मान, प्रतिष्ठामा आघात पुर्याएको र गलत समाचार सम्प्रेषण गरेर चरित्र हत्या गरेका उजुरीहरु पछिल्लो समय प्रशस्त मात्रामा प्रेस काउन्सिलमा आउने गरेका छन् । सञ्चारमाध्यम र स्वयं पत्रकारहरुले नै आचारसंहिताको पालना नगर्दा यस्तो समस्या आएको हो । मैले समाज, राष्ट्र र जनताका लागि पत्रकारिता गर्दैछु भनेर आत्मसाथ नगरेर नै यस्ता घटनाहरु दोहोरिने गर्दछन् । पत्रकारिताको आधारभूत ज्ञान नभएकाले समेत अहिले पत्रकारिता गरिरहेका छन् । न्यूनतम ज्ञान नभएकाहरुले पत्रकारिता गर्दा आचारसंहिता उल्लङ्घन हुने कुरा त सामान्य नै भइहाल्यो । त्यसैले सबै सञ्चारमाध्यममा सम्बन्धित पत्रकारले पत्रकारिताको सामान्य कखरा जानेको छ कि छैन भनेर केही समय परीक्षण गरिनुपर्दछ । पत्रकारिता गरिरहेको कुनै पनि व्यक्तिमा पत्रकार बन्ने गुण छन् कि छैनन र उसले पत्रकारिताको आधारभूत ज्ञान राख्छ कि राख्दैन भनेर परीक्षण गर्नको लागि प्रेस काउन्सिलले पत्रकार परीक्षण गर्ने कार्यक्रम अगाडि सारेको छ । हामी चाँडै नै पत्रकारको पेसागत सीप र ज्ञान परीक्षण गर्ने गरी कार्यक्रम ल्याउँदैछौँ ।

पत्रकारिता पेसा निकै नै संवेदनशील पेसा हो । एउटा अयोग्य डाक्टरले कुनै बिरामीको मुटुको अप्रेसन गर्यो भने एकजनाको ज्यान जान्छ तर संवेदनशील नभएर एउटा अयोग्य पत्रकारले गलत समाचार लेख्यो भने त्यसको प्रभाव निकै लामो समयसम्म रहन्छ । धेरै जीवनहरु त्यसमा प्रभावित बन्न पुग्छन् र त्यसको मूल्य चुकाउन लामो समय लाग्छ । त्यसकारण यो पेसा धेरै जिम्मेवार, उत्तरदायीपूर्ण र गहन पेसा हो । आफूले लेखेको समाचारले समाजमा कस्तो प्रभाव पर्छ भन्ने कुराको हेक्का नराखिकन समाचार बनाउने र प्रकाशन प्रसारण गर्ने प्रवृत्ति घातक छ ।

पत्रकारिता व्यावसायबाट धेरै कम पत्रकारले मात्र आफ्नो जीविका चलाएका छन् । अधिकांश पत्रकारले पत्रकारिताबाट आफ्नो जीविका चलाउन नसक्ने भएपछि अन्य पेसा अँगालेको देखिन्छ । पत्रकारहरुको लागि यही पेसामा रहेर मेरो जीवन चल्छ र यहाँ मेरो भविष्य पनि सुरक्षित छ भन्ने बनाउन जरुरी छ । तर विडम्बना अहिलेसम्म त्यस्तो हुन सकेको छैन । सञ्चारगृहले नै यो बारेमा राम्रोसँग छलफल गर्नुपर्ने देखिन्छ ।

सञ्चारगृहले आफ्नो सञ्चार माध्यमको सञ्चालनमा निरन्तरता दिन नसकेपछि गलत कामहरु गरेको पनि देखिन आएको छ । आचारसंहिता उल्लङ्घन भए पनि अनुचित तरिकाले आर्थिक लाभ लिएको पनि देखिन्छ ।

अयोग्यको प्रयोगशाला

लामो समयसम्म आफ्नो जीवनको ऊर्जावान समय पत्रकारितामा लगाएकाहरुका लागि सरकारले अवकाश जीवनको प्रत्याभूति गर्नुपर्छ । एउटा कर्मचारीले राज्यको सेवा गरेबापत अवकाश जीवनमा पेन्सन पाउँछ भने एउटा पत्रकारले पनि समाजका लागि पत्रकारिता गरिरहेको छ भने उसलाई पनि अवकाश जीवनमा पेन्सनको व्यवस्था हुनुपर्छ भनेर हामीले नेपाल सरकारसँग कुरा उठाइरहेका छौं । आम पत्रकारहरुको अवकाश जीवन सुरक्षित होस् भन्ने हाम्रो धारणा हो । ढिलोचाँडो यो विषयमा पनि निर्णय हुनेछ भन्नेमा हामी आशावादी छौं । हामीले यसबारेमा सम्बन्धित ठाउँमा बारम्बार ध्यानाकर्षण गराएका छौं ।

आफ्नो मिडिया हाउसमा कार्यरत पत्रकारका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्ने कुरा सम्बन्धित सञ्चारमाध्यमले नै सोच्नुपर्दछ । यो पेसाबाट जीविकोपार्जन नभएपछि १०/१५ वर्षको लामो समय यहाँ लगानी गरेकाहरु पनि यो पेसाबाट पलायन हुनुपर्ने विडम्बना यहाँका पत्रकारले भोगिरहेका छन् । गणतन्त्र आएको एक दशक हुँदासमेत नेपाली पत्रकारको यस्तो अवस्थाकोे अन्त्य हुन नसक्नु सारै नै लाजमर्दो कुरा हो ।

यसको असर सीधै पत्रकारिताको गुणस्तरमा परिरहेको छ । एकातिर पाका, पुराना र अनुभवी पत्रकार विविध मूलतः आर्थिक कारणले यो पेसा छाडेर पलायन हुँदै गइरहेका छन् भने अर्कोतिर आलाकाँचा, कुनै सीप र ज्ञान नभएकाहरु यो पेसामा प्रवेश गरिरहेका छन् । यसले गर्दा नेपालको आमसञ्चार क्षेत्र सधैं नै एउटा अयोग्यहरुको प्रयोगशाला बनिरहेको छ । योग्य र सक्षमहरुले मात्र स्थान पाउनुपर्ने ठाँउमा अयोग्य र कुनै ज्ञान नभएकाहरु हावी हुँदा हाम्रो आमसञ्चार क्षेत्रले अनेकथरी समस्या झेल्नुपरेको छ । योग्य, सक्षम र अनुभवीलाई यहाँ टिकाइरहनका लागि हामीले पनि छलफल गरिरहेका छौं ।

 

पत्रकार र लगानीकर्ताबीचको सीमा

नेपाली पत्रकारिताको विकास आफै लगानीकर्ता र आफै कामदारका रुपमा भएको हो । मूलतः मिडियामा आफै लगानीकर्ता र आफै पत्रकार भएर काम गर्दै आएको देखिन्छ । पत्रकार स्वयंले नै लगानी गर्नु हुँदैन भन्नु त भएन तर पनि लगानीको भूमिका र पत्रकारको भूमिकामा सीमारेखा हुनु जरुरी छ । लगानीकर्ताले जसरी भए पनि आफ्नो लगानीमा फाइदा उठाउन खोज्ने हुन सक्छ । त्यसो गर्दा व्यवस्थित र मर्यादित पत्रकारिता नहुन पनि सक्छ र यसले सिङ्गो मिडिया क्षेत्रमा नै नकारात्मक असर पार्ने देखिन्छ । त्यसैले लगानीकर्ता र पत्रकारको भूमिका अलग हुन हुनुपर्छ ।

दयनीय छन् मोफसलका मिडिया 

देशको राजनीतिक परिवर्तनलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न गराउनका लागि मोफसलका मिडिया प्रभावकारी हुनुपर्छ तर मोफसलका मिडिया दयनीय अवस्थाबाट गुज्रिरहेका छन् । स्थानीय मिडियाहरु बलिया भएर मात्र उनीहरुले सही समाचार सम्प्रेषण गर्न सक्नेछन् । त्यसैगरी मोफसलमा कार्यरत पत्रकारहरुले पनि आफ्नो सीप र ज्ञानको दायरा फराकिलो बनाउनुपर्छ । आफूलाई सक्षम बनाउनुपर्छ । कुनै कुनै जिल्लामा राम्रोसँग चलेका दैनिक, साप्ताहिक पत्रिका सञ्चालन हुन सकिरहेका हुँदैनन् तर एफएम रेडियोहरु भने आवश्यकताभन्दा बढी नै सञ्चालन भएको देखिन्छ । स्थानीय रेडियो, पत्रपत्रिका र टेलिभिजनमा समेत केन्द्र र इन्टरनेटमा आएका समाचारहरु कपिपेस्ट गर्ने प्रचलन बढेको देखिन्छ । स्थानीय खोजमूलक समाचारहरु जति आउनुपर्ने हो त्यति आउन सकिरहेका छैनन् । राम्रो र गुणस्तरीय समाचार सामग्री दिन नसकेका कारण पनि स्थानीय सञ्चारमाध्यमले चाहेजति पाठक पाउन नसकेका हुन् कि भन्ने पनि लाग्छ । सरकारले पनि यो विषयमा गम्भीर नीति बनाउनु आवश्यक छ ।

मोफसलका पत्रकारले राजधानीका पत्रकारले जति अवसरहरु पाउन सकेका छैनन् । त्यसैले पनि उनीहरुले आफ्नो क्षमता अभिवृद्धि गर्नमा थप मिहिनेत गर्न आवश्यक छ ।

अहिले देश राजनीतिक तरलताबाट गुज्रिरहेको छ । राज्यका निकायहरु पनि व्यवस्थित हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रको भूमिका अझै महत्वपूर्ण हुन आउँछ । राज्य, जनता र आफ्नो पेसाप्रति इमानदार भएर मात्र मिडिया क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्न सक्नेछ । आफू मर्यादित र व्यवस्थित भएर मात्र हामीले गलत प्रवृत्तिलाई खबरदारी र आम जनतालाई सुसुचित गर्न सक्नेछौं ।

प्रस्तुति : आस्था केसी(रातोपाटी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर