Aamsanchar

गाउँमै नागरिकता र चिकित्सा सेवा

Author Image
शुक्रवार, पौष २७, २०७५

बाजुरा, 

खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन् ।

शिविरबाट ५५९ जनाले नागरिकता बनाएका छन् । जसमा महिला ३२५ र पुरुष २२४ रहेका छन् । आर्थिक अभावले सदरमुकाम मार्तडी आउन नसकेका, उमेरले नेटो काटिसकेका तथा १६ वर्ष उमेर पूरा गरेका युवायुवतीले गाउँमा शिविर सञ्चालनपछि उत्साहपूर्वक सेवा लिएका हुन् ।

शिविरबाट ७० वर्षकी खिरीदेवी बुढा, ६९ वर्षकी किर्मुली बुढासहित वृद्धवृद्धाले पनि सेवा लिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो । नागरिकता बनाउनेमध्ये गाउँपालिकाको ५ नं वडाका स्थानीयवासी बढी छन् ।
नागरिकता बनाउन सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल नेतृत्वको टोली खटिएको थियो ।

यस्तै शिविरबाट ५८१ जनाले फोटोसहितको मतदाता नामावली बनाएका छन् । जसमा ३४८ महिला र २३३ पुरुष छन् । यसैगरी शिविरमा ६९२ जनाले चिकित्सा सेवा पनि लिएका छन् ।

तीमध्ये महिला ४६६, पुरुष २२६ रहेका छन् । शिविरमा ३२६ जनाले भिडियो एक्सरे गराएका छन् । भिडियो एक्सरे गराउनेमध्ये २८९ महिला र ४७ पुरुष छन् ।

सेवाका लागि डा रुपचन्द्र विश्वकर्मा, डा टीका राई, हेल्थ असिस्टेन्ट रमेशबहादुर ओलीसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो । गाउँमै चिकित्सक सेवा सञ्चालन गरिएपछि स्थानीयवासीको शिविरमा उत्साहजनक सहभागिता रहेको थियो । पुस २३ र २४ गते दुईदिने शिविरमा उल्लेख्य सहभागिता भएपछि २५ गते थप एक दिन शिविर लम्ब्याइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर