Aamsanchar

अन्तर्राष्ट्रिय व्यापार महोत्सव महोत्सव सफल बनाउने दलका नेताको प्रतिबद्धता

Author Image
शुक्रवार, माघ ४, २०७५

बिर्तामोड।

बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवलाई सफल बनाउन आफूहरु लागिपर्ने झापाका राजनीतिक दलका अगुवाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

महोत्सवका लागि आफूहरु जस्तो पनि सहयोग गर्न तत्पर रहेको उनीहरुको भनाइ थियो । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्ट्रिय स्तरको महोत्सव सञ्चालन हुँदैछ ।

महोत्सव आयोजक समितिले शुक्रबार जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख, वडाध्यक्ष लगायतसँग महोत्सवका बारे छलफल गरेको थियो । छलफलमा बोल्दै बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले महोत्सवलाई झापाकै गौरवका रुपमा आफूले लिएको बताए ।

महोत्सवमा हरेक गतिविधि पारदर्शी बनाउन उनले आयोजक समितिलाई आग्रह गरे । बिर्तामोड नगरपालिकाले महोत्सव सफल बनाउने निर्णय नै गरिसकेको उनले जानकारी गराए ।

प्रदेशसभा सदस्य एकराज कार्कीले मेलामा कुनै पनि स्टल खाली रहन नदिन आयोजक समितिलाई आग्रह गरे । महोत्सवको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्नेमा उनको जोड थियो । नेकपाका नेता चिन्तन पाठकका अनुसार प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्नेछन् ।

एकढिक्का भएर मेला आयोजना गर्न छलफलमा सहभागी नेताहरुले बिर्तामोड उद्योग वाणिज्य संघलाई सुझाव दिएका थिए । उनीहरुले महोत्समा सुरक्षा व्यवस्था, खानेपानी, बिजुली लगायत कुरामा विशेष ध्यान पु¥याउन आग्रह गरे । राष्ट्रिय तथा स्थानीय स्तरका कलाकार ल्याएर महोत्सवलाई आकर्षक बनाउनुपर्ने नेताहरुको सुझाव थियो ।

कार्यक्रममा स्वागत गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले महोत्सव सम्पूर्ण झापाबासीको शान भएकाले राजनीतिक दलको सुझाव र मार्गदर्शन चाहिने बताए । अर्का उपाध्यक्ष नारायण चिमरियाले व्यापार–व्यवसायको प्रबद्र्धनमा महोत्सवले एउटा इँटा थप्ने भन्दै तन, मन र धनले सहयोग गर्न राजनीतिक दलका अगुवालाई आग्रह गरेका थिए ।

महोत्सव अवधिभर हेलिकप्टरमार्फत जिल्लाका विभिन्न स्थल अवलोकन गर्ने व्यवस्था मिलाइने उपाध्यक्ष चिमरियाले जानकारी दिए । ठूला कलकारखानालाई महोत्सवको स्टलसम्म ल्याइदिन र भ्रातृ संगठनका जनशक्तिलाई महोत्सवमा परिचालन गरिदिन उनले दलका नेतालाई आग्रह गरे ।

महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले महोत्सवमा काठमाडौँबाट २५ तथा बंगलादेश, पाकिस्तान र भारतबाट २७ वटा स्टल रहने जानकारी गराए ।

छलफलमा कांग्रेसका सुधीर शिवाकोटी, देउमान थेबे, राम कट्टेल, नेकपाका विजय साम्पाङ, अरुण श्रेष्ठ, सुवास भट्टराई, राप्रपाका राजकुमार पोखरेल, कमल खरेल, शंकर रिजाल, राजपाका सूर्यनारायण गणेश, बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौला, ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, ९ की वडाध्यक्ष पवित्रा पाठक लगायतले सहभागिता जनाएका थिए ।

बिर्तामोडमा महोत्सव किन ?

नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ संघले महोत्सव आयोजना गरेको हो ।

मेलामा ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति देखाउनेछन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन मेलामा पाइने मेला आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए । १ करोड ५ लाख रुपैयाँको लागतमा मेला सम्पन्न हुने उनको भनाइ छ ।

मेला २ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीका अनुसार मेलामा २०० भन्दा बढी स्टल राखिनेछन् । महोत्सवमा मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न व्याण्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ ।

महोत्सव सफल बनाउन मूल समिति तथा विभिन्न १० वटा उपसमिति बनाइएको छ । महोत्सव स्थलमा सीसी टिभीबाट २४ घण्टा सुरक्षाको व्यवस्था मिलाइएको संघले जनाएको छ । मेलाको मुख्य प्रायोजन रमपम चाउचाउले गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)