Aamsanchar

सर्वोच्चको आदेश सरकारी अस्पतालबाटै अवज्ञा / मेची अञ्चल अस्पताल परिसरमा दर्जनै क्लिनिक

Author Image
शनिवार, माघ ५, २०७५

झापा ।

सर्वाेच्च अदालतको आदेशलाई अबज्ञा गर्दै मेची अञ्चल अस्पताल भद्रपुर परिसरमा दर्जन बढी क्लिनिक सञ्चालनमा रहेको पाइएको छ ।

२०७२ साल असार १४ गते अन्तरिम आदेश जारी गर्दै साउन १ देखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन नगर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको थियो । तर, सर्वाेच्चको आदेशलाई नै अवज्ञा गर्दै मेची अञ्चल अस्पताल परिसरमा दर्जनौं क्लिनिक सञ्चालनमा रहेका छन् । सरकारले उपलब्ध गराउने निःशुल्क औषधि वितरण सेवा अस्पताल आफैंले शुरु गर्नुपर्ने भन्दै निजी औषधि पसल सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार २०७२ साउन १ देखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न पाइँदैन । तर, हाल सम्मपनि सर्वोच्चको आदेशको अवज्ञा गर्दै अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालनमा रहँदासम्म नियमनकारी निकाय मौन रहेको छ ।

सर्वोच्चको आदेश सरकारी अस्पतालबाटै अवज्ञा भएपछि अदालतले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका नाममा आदेश दिएको थियो ।

अदालतले निजी व्यक्तिलाई भाडा वा ठेक्कामा आफ्नो हाताभित्र फार्मेसी खोल्न दिने काम नगर्नू र नगराउनू भनि दिएको आदेशको मेची अञ्चल अस्पताल भद्रपुरले अवज्ञा गरेको छ । अहिले अस्पताल हाता भित्र शुष्मा, कविता, दुर्गा, तिम्सिना, कन्काई मेडिकल हल लगायत दर्जन बढी निजी फार्मेसी सञ्चालनमा छन् ।

सरकारले ७० प्रकारका औषधि निःशुल्क बाँड्ने नीति अख्तियार गरेसंगै मेची अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । तर, सो फार्मेसीमा अस्पतालमा सेवा लिन आएका विरामीले सरकारले उपलब्ध गराएका ७० प्रकारका निःशुल्क औषधि नपाइने गरेको गुनासो गरेका छन् ।

सरकारले सबै सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने भन्दै ‘अस्पताल फार्मेसी सेवा निर्देसिका २०७२’ ल्याएको थियो । सरकारले नीति ल्याए पनि त्यसको कार्यान्वयनमा चासो नदिँदा मेची अञ्चलवासी समस्या पर्ने गरेको बताइएको छ । सरकारी अस्पतालमा भने अनुसारको सेवा र नपाउँदा सर्वसाधारण निजी अस्पताल धाउन वाध्य छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउदै आएको छ । नेपालमा २५ शैया सम्मका ६६, पचास शैयाका १५, एक सय शैया सम्मका ११ र एक सय शैया भन्दा माथिका १२ गरी जम्मा १०४ सरकारी अस्पताल संचालनमा रहेका छन् ।

उनीहरु सबैले आफ्नै फार्मेसी संचालन गर्नुपर्ने निती सरकारले लिएको छ । तर, मेची अञ्चलकै पुरानो अस्पताल भद्रपुरले सरकारको नीतिको अवज्ञा गरेको पाइएको छ । यता यस विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्वर ठाकुरसंग यस विषयमा वुझ्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर